www.tandavnews.com
Fact ~ In search of truth

झापाका निर्मलले बनाए फ्याँकिएका कागजबाट कलम

 

 

दमक ।

झापा, दमक नगरपालिका–४ का निर्मल दाहालले कागजबाट कलम उत्पादन गर्न थालेका छन । उनले घरमै सगरमाथा कलम उद्योग खोलेर विगत छ महीनादेखि व्यावसायिक उत्पादन शुरु गरेका हुन् । पुराना पत्रपत्रिका सङ्कलन गरी त्यसबाट उत्पादित सो कलम उद्योगले विस्तारै बजार ओगट्न थालेको छ ।

Batas

तीन वर्षसम्म खाडीमुलुकमा काम गरेर फर्केपछि दाहालले विदेशको अनुभवलाई स्वदेशमा नै आयआर्जनका रुपमा सो उद्योग सञ्चालनमा ल्याएका हुन् । कुवेतको एउटा बैंकको स्टेश्नरी विगभामा काम गर्ने क्रममा त्यहाँ प्रयोग हुने अधिकांश कलम कागजबाट बनेको देखेपछि आफ्नै ठाउँमा पनि उनले त्यस्तो प्रविधि भित्र्याएका हुन् ।

“यो प्रविधिबाट उत्पादित कलम वातावरणमैत्री पनि छ” ३४ वर्षीय दाहालले भने, “ यसरी कलम उत्पादन हुँदै आएको सम्भवतः यो देशकै पहिलो उद्योग हो ।” कागजबाट कलम बन्ने तरिका इन्टरनेटमार्फत सिकेको र प्रविधिको खोजी इन्टरनेटमार्फत नै गरेको दाहाल बताउछन् ।

अहिले प्रयोगमा आइरहेको काठको कलमले वातावरणमा असर गरिरहेको थाहा पाएपछि आफूमा कागजको कलम बनाउने इच्छा बढेको उनले बताए । मेशिन खरीद गरेर यस्तो प्रविधिको उद्योग स्थापना गरिएको हो ।अहिले नेपालमा वार्षिक करोडौँ रुपैयाँको कलम भारत तथा अन्य मुलुकबाट आयात हुन्छ । विदेशबाट ठूलो परिमाणमा आयात हुने कलमलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेर यस्तो उद्योग स्थापना गरिएको उद्योग सञ्चालक दाहालको दाबी छ ।

शुरुआती क्रममा उद्योगमा रु ३५ लाखको निजी लगानी गर्नुभएका उनले दैनिक एक लाख ५० हजार कलम उत्पादन गर्न सक्ने क्षमता भए पनि हाल दैनिक तीन हजार कलम उत्पादन गरेका छन । मागबमोजिम मात्र कलम उत्पादन भइरहेको छ । उपभोक्ताले नेपाली उत्पादनको महत्व नबुझी दिँदा बजार पाउन समस्या आएको उनको गुनासो छ ।

भन्छन्, “उपभोक्ताले स्थानीय उत्पादनलाई बजारीकरणमा सघाउ गर्न खाँचो छ ।” उद्योगमा चार जनाले रोजगारी पाएका छन् । उनले भने, “उत्पादन क्षमताअनुसार बजारमा कलमको मागको अभाव छ ।”

युवा व्यवसायी दाहालको यो वातावरणमैत्री कलम उत्पादनलाई टेवा दिनुपर्ने खाँचो रहेको दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीको भनाइ छ । उपप्रमुख अधिकारीले भने, “आफ्नै ठाउँमा युवालाई स्वरोजगार बनाउन विभिन्न योजना बनाइरहेको छौँ, यस्तो स्वरोजगार नीतिमा नगरपालिका गम्भीर छ ।”  रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.