www.tandavnews.com
Fact ~ In search of truth

राहुघाटमा मोटर चल्ने पुल

म्याग्दी ।

रघुगङ्गा गाउँपालिका वडा नं ४ र ५ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण शुरु गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले सो पुल निर्माण शुरु गरेको हो । कम्पनीद्वारा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने सडकमा बनाउन लागिएको उक्त पुलबाट झिँ, पाखापानी, ठाडाखानी र कुइनेखानीका बासिन्दालाई पनि सुविधा पुग्ने जनाइएको छ । यसै वर्षभित्र ४० मिटर लामो ट्रस प्रविधिको पुल बनाउने लक्ष्यसहित काम शुरु गरिएको कम्पनीले जनाएको छ ।

पुल बनेपछि उक्त गाउँका बासिन्दाले घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता हट्ने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । गाउँपालिकाले बाँध निर्माणस्थलदेखि पाखापानीको औल जोड्ने सडक बनाउने तयारी गरिरहेको उहाँले जानकारी दिए ।

रघुगङ्गा–३ घुमाउने तालदेखि वडा नं. ४ को बुक्ल हँुदै दग्नाम र झिँको सिमानामा निर्माण हुन लागेको बाँधसम्म ११ किमी सडकको मार्ग निर्माण गरिएको छ । गत असारमा मौवाफाँटदेखि नयाँ मार्ग खन्न शुरु गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्सले बाँधस्थलसम्म सडक पुर्याएको हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।

सडक बनेपछि आयोजनाको निर्माण सामग्री ढुवानी, मजदूर, कर्मचारी र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । पहुँचमार्ग, आवास व्यवस्थापन, निर्माण सामग्री र उपकरण जुटाइसकेको ठेकेदार कम्पनीले आगामी माघको तेस्रो सातादेखि सुरुङ निर्माण शुरु गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानी रहेको सो जलविद्युत् आयोजनाको सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युतको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । एक्जिम बैंकको चार करोड ४० लाख डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणानुसार निर्माण हुन लागेको हो । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.