www.tandavnews.com
Fact ~ In search of truth

जग्गा भाडामा लिएर फोहोर व्यवस्थापन गर्दै कुश्मा नगरपालिका

संजय रेग्मी
पर्वत / ताण्डव न्यूज ।

बजारको फोहोर फाल्नको लागि ठाउँ नपाएको कुश्मा नगरपालिकाले आउँदो फागुनबाट भने जग्गा भाडामा लिएर फोहोर व्यवस्थापन गर्ने भएको छ । नगरपालिका भित्रको फोहोर संकलनका लागि केही महिना देखिको अबरोध हटेपछि नयाँ ब्यबस्थापन सहित फागुन देखि फोहोर संकलन गर्ने तयारी गरिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

कुस्मा नगरपालिका र लक्ष्मीनारायण निजी गुठीबीच फोहोर ब्यबस्थापनका लागि जग्गा उपलब्ध गराउने सहमति भएको छ । गुठीका नाममा कुश्मा नगरपालिका ४ घुम्ती नजिक रहेको १८ रोपनी जग्गा भाडामा लिने सहमति भएको हो । कुश्मा बजारको फोहोरलाई डम्पिङ्ग साइड नचाहिने गरि फोहोर ब्यबस्थापन गर्नका लागि जग्गा सम्झौता भएका कारण फागुन देखि नयाँ ढंगले फोहोर ब्यबस्थापन गर्न लागिएको हो । गएको भदौ देखि नै शुरु गर्ने सम्झौता भएपनि जग्गाको बिषयमा बिबाद कायम रहँदा समस्या भएको थियो भने महिना दिन सम्म कुस्माबजारको फोहोर उठ्न सकेको थिएन् ।

फोहोर ब्यबापनका लागि सामुदायिक स्रोत तथा वातावरणीय बिकास केन्द्र (सेक्रेड नेपाल) लाई पाँच बर्ष सम्मको लागि जिम्मा दिइएको छ । कुश्मा बजारको फोहोर अहिले सम्म जंगल र नदी किनारमा फाल्ने गरिएको थियो भने कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाएर संकलन हुँदै आएको थियो । फागुनबाट भने घरमै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने ब्यबस्था गर्न लागिएको छ । घरघरमै छुट्टाछुट्टै संकलन गरिएको कुहिने र नकुहिने फोहोर ब्यबस्थापन गर्न लागिएको सिक्रेड नेपालका कार्यक्रम संयोजक टिकाराम भुसालले बताए।

घरघरबाट उठाएर ल्याएको फोहोर मध्ये कुहिनेबाट कम्पोष्ट मल उत्पादन गरिनेछ। यसरी उत्पादित मल फोहोर उत्पादक निशुल्क मल दिने योजना रहेको कार्यक्रम संयोजक भुसालले जानकारी दिए । यस्तो मल घरमै खान तरकारी उत्पादन गर्ने करेसाबारी र गमलमा प्रयोग गर्ने फोहोर उत्पादक उपभोक्तालाई निशुल्क दिने ब्यबस्था गरिने भएको छ ।

सफा कुश्माका लागि सामुहिक अभियानले बिगत १५ बर्ष देखि फोहोर संकलनको काम गरिरहेको छ । २०६० असोज देखि संकलनको काम गरेको अभियानले गत बर्ष नै ब्यबस्थापन गर्न नसकेर नगरपालिकालाई जिम्मा लगाउने निर्णय समेत गरेको थियो ।

अहिले तत्काल कुश्माका वडा नं ४, ५, ६, ७, ८ र ९ सम्मको फोहोर संकलन गरिने र बिस्तारै सबै वडामा कुहिने फोहोर वडा वडाबाट पनि संकलन गर्ने लक्ष्य राखिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.