www.tandavnews.com
Fact ~ In search of truth

अनसनरत डा.केसीलाई काठमाडौँ लगियो

भद्रपुर ।

प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गरेका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आज बिहान काठमाडौँ लगिएको छ ।

प्रा .डा केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

यसैगरी सोही चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्नेलगायत मागसहित इलाममै विगत आठ दिनअघि आमरण अनशन बस्न शुरु गरेका विद्यार्थी विजय थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएकाले आजै लैजाने तयारी भइरहेको बताइएको छ ।

गए राति प्रा .डा केसीेसँगै अर्को एम्बुलेन्समा राखेर थापालाई पनि काठमाडौँ लैजान झापा ल्याइएकामा चन्द्रगढी विमानस्थल ल्याइपुर्याएपछि प्रा .डा केसीको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएकाले तत्कालै उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।

प्रा .डा केसीको स्वास्थ्य अवस्थाका कारण थापालाई पनि एउटै हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी सम्भव हुन सकेन । आज बिहान ३ बजेतिर झापा ल्याइएको अनशनरत थापालाई भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको छ ।

उनलाई पनि काठमाडौँ लैजानका लागि हेलिकोप्टर बिहान १० बजेतिर आउने झापाका प्रमुख जिल्ला अधिकारी दाहालले बताए । अनशनरत थापालाई हाल प्रा .डा केसीको उपचार भइरहेको काठमाडौँस्थित शिक्षण अस्पताल नै लगिने थापाका निकट सहयोगी पुष्प भण्डारीले जानकारी दिए ।  रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.