www.tandavnews.com
Fact ~ In search of truth

‘मास्टरले टुप्पी समातेर एक झाप्पड हान्नुभयो’

मेरो जन्मभुमि नदीपुर वडा नं ३, जुन पहिला नगर पञ्चायत थियो । २०१९ साल असोज २३ गते मेरो जन्म भएको थियो ।

बाल्यअवस्थाका मैले थाहा पाएका केहि सम्झनाहरु छन् । नदीपुरको कन्या स्कुलमा बुबाले पढाउनु हुन्थ्यो । बुबाले मलाई त्यो स्कुलमा लिएर जानु हुँदो रैछ ।

टेबुलमा राख्नु भएको थियो रे मलाई, मैले त्यो टेबुलमा पिसाब फेरिदिएछु । त्यो कुरापछि सम्म मलाई बुबाले देखाउनु हुन्थ्यो । (एकछिन पुराना कुरा सम्झेर हाँसे)

Batas

भुमि प्रशासनको नायब सुब्बाको नोकरी गर्नेलाई २०२२ सालमापछि बुबासँगै सबै परिवार लमजुङ पुगियो । त्यहाँ गएपछि मेरो बुबाले मलाई क, ख, ग हिसाब, जोड घटाउ घरमा आफै सिकाउनु हुन्थ्यो । खासै मलाई त्यहाँ स्कुल भर्ना गरेको याद छैन् । जब सम्म मलाई साढे २ बर्षमा यो सबै पढ्न राम्रै आउँथ्यो ।

बुवाको घोडा थियो । मलाई घोडा पनि चढेको याद छ, लमजुङको गाउँशहर दरबारमा मेरो बुबाको अफिस थियो । त्यो अहिले फराकिलो छ, अगाडि पट्टि त्यो वन, मेरो मानसपट्टिमा अझै आइरहन्छ । त्यसपछि बुबाको सरुवा भएपछि हामी धनगढी नजिकै गयौ । त्यहाँ मलाई बुवाले स्कुल भर्ना गर्ने भनेर लिएर जानु भयो । त्यो बेला म ४, ५ बर्षको थिएँ ।

भर्ना गर्दा त्यहाँका शिक्षकले मलाई केहि प्रश्न सोध्नु भएको थियो मैेले पनि राम्रो सँग उत्तर दिन सफल भए । त्यसै भएर पनि होला त्यहाँका मास्टरले मलाई कहाँ १ मा हुनी उसलाई त २ मा भर्ना गर्नुपर्छ भनेपछि म २ कक्षामा भर्ना भएँ ।

२ कक्षाहरुमा त ठूला–ठूला बच्चाहरु हुने, अहिले त सानो मान्छे म त्यो बेला के होला ? सानो मान्छे त्यसमा पनि बाहुनको छोरो म, मेरो टुप्पी थियो । कक्षामा बस्दा पछाडि बस्ने साथीहरुले मेरो टुप्पी एता उता तान्ने गर्ने थाले । म त खरो मान्छे, जिस्काउनेलाई गएर हानेछु । त्यसपछि स्कुलमा एक जना मास्टरले टुप्पी समातेर एक झाप्पड हान्नु भयो । मास्टरले हान्नु भएपछि म घर फर्किएर आए ।

घर आएर पहिला ऐना हेरेर त्यो टुप्पी काँटे । त्यसको भोलिपल्ट बिहानै बाटोको मोड जस्तो ठाउँमा एउटा इट्टा समातेर बसे । र त्यो मास्टर आएपछि त्यो इट्टाले हाने । मरे नि बा भनेको याद छ, त्यसपछि म घर पुगे भोलिपल्टबाट स्कुल नै गइन् । बुबाले किन स्कुल किन नगएको भनेर सोधेपछि मैले सबै भने । सानो छ भनेर बा ले केहि गर्नु भएन् ।

घर तिर साथिहरु थुप्पै हुनी थिए । बुबाको पकेटबाट पैसा निकाल्ने, उनीहरुलाई खरबुजा, बरफ, आइसक्रिम किनेर खुलाउने गर्थे । पैसा सकिएपछि सबै आ–आफ्नो घरतिर जान्थ्यौ । बुबाले थाहा पाउनुहुन्छ भनेर चुप लागेर बस्थे तर बुबा थाहा पाए पनि थाहा नभएको जसरी बस्नु हुन्थ्यो । पछि आफै थाहा भएको कुरा भन्नुहुन्थ्यो ।

बाहिर धेरै हल्लिने भयो भनेर बुबाले मलाई दिनभरिको काम गर्ने हिसाब दिनु हुन्थ्यो । त्यसमा पनि हिसाब मिलाएको १० पैसा, हिसाब बिग्रियो भने १० पैसा कट हुने थियो । दिनभरि हिसाब गर्दा ५ वटा मिल्ने ५ वटा बिग्रियो म त जिरो भए, पैसा नपाउने भएपछि मैले यस्तो मिहेनत गरे मैले गल्ती नै गरिन् ।

गणितका जोड, घटाउ गुणन हरेक हिसाब सबै मिलाए । १० वटा मिलाउँदै गएपछि २० वटा दिन थाल्नु भयो । त्यसपछि हरेक हिसाब मिल्दै गएपछि बुबाले मलाई दिनको १ रुपैयाँ दिनु हुन्थ्यो । त्यो बेलामा त्यो भन्दा धेरै दिने चलन थिएन् ।

यसपछि बुबासँगै हामी गलेश्वर पुगियो । त्यहाँ पनि स्कुल भर्ना गर्न जादाँ हेड मास्टरले त्यो बाबुलाई कहाँ २ कक्षामा भर्ना गर्ने उसलाई त ५ मा भर्ना गर्न पर्छ भनेपछि म ५ मा नै भर्ना भएँ । त्यसबेला म ८ बर्षको थिएँ ।

६/६ महिनामा जाँच त्यो स्कुलमा म फष्ट भए । म फष्ट भएपछि पहिला फष्ट हुने एक जना केटा बेस्सरी रोयो । उसको रुवाइले गर्दा म स्कुल नै गइन् ।

त्यसरी भौतारिँदै गर्दा म १२ बर्षको मान्छे कक्षा ८ मा भर्ना भए । १६ बर्षको नभइ एसएलसी दिन मिल्दैनथ्यो । उमेर पुग्दैन भनेपछि मैले स्कुल छोड्न प¥यो । एक साल बिरामी भएर स्कुल छुट्यो र एक साल उमेर नपुगेको हुनाले गर्दा मेरो २ बर्ष यसै गयो ।

त्यसपछि मेरो ८,९,१० कक्षा पौढ माध्यमिक विद्यालयमा निरन्तर अध्ययन गरे ।

प्रस्तुति : विनिता सुनार

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.