www.tandavnews.com
Fact ~ In search of truth

बेसुर हुँदाको कसुर

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

लेट नाइट, आउटिङ, गेट टुगेदर, अकेज्नल सेलेब्रेसन पछिल्ला पुस्ताका लागि ‘इजी एक्टीभिटिज’ अर्थात् सहज गतिविधि भएका छन् । घरपरिवारबाटै अनुमति लिएर, अनुमति नलिएर, झुट बोलेर उल्लिखित गतिविधिमा सहभागी हुने प्रचलन अहिलेको जेनेरेसनलाई नौलो कुरा होइन । त्यसरी इजी एक्टीभिटिजमा रमाउन मदिरा कारक बन्ने गरेको छ । तर, कहिलेकाही त्यही मदिराको प्रयोगले दुर्घटना निम्त्याउने गरेको पाइन्छ । यसरी नै मदिराको नशामा घटेका दुई घटना ।

एक महिना अघि एउटा घटना बाहिर आयो । पोखराबाट गएका एक जना युवा विरुद्ध बलात्कारको आरोप लाग्यो । उनलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गर्नु स्वभाविकै हो । तर, घटना फरक रहेको भन्दै धेरैले आलोचना समेत गरे । घटनाको ‘कज अफ इन्सिडेन्ट’ मदिरा भन्ने आयो । ‘युवा दोषी देखिए पनि यस्तो घटनामा युवती पनि उत्तिकै जिम्मेवार हुनुपर्छ’ भन्ने तर्क उठ्न थालेका छन् ।

Batas

घटना क्रम

गत महिना पोखराबाट एउटा टोली घुम्न बुटवल पुग्छ । रविन, जुली र महेश । महेश अमेरिकाबाट आएका थिए । रविन र उनकी गर्लफ्रेन्ड जुलीसँग महेश पनि घुम्ने शिलशिलामा बुटवल पुगे ।

बुटवल पुगेपछि उनीहरुले प्रमिलालाई भेटे । प्रमिला रविनको साथीकी भान्जी हुन् । बुटवल जाँदा प्रमिलाको घर परिवारसँग पनि रविनको चिनजान थियो ।

यसपटक रविनले प्रमिलालाई महेशसँग चिनाए । प्रमिला इन्जिनियरिङ सकेर बसेकी थिइन् । मामाको साथी भएको हुनाले प्रमिलाले मामा नै भन्ने गर्थिन् रविनलाई ।

त्यसदिन उनीहरुले एउटा रेस्टुरेन्टमा बसेर मज्जाले मदिरा पिए । प्रमिला मदिराको नशामा मस्त थिइन् । त्यस रात रविन र उनकी गर्लफ्रेन्ड जुली एउटा कोठामा बसे । महेश र प्रमिला एउटा कोठामा ।

रक्सीले मातिएर सुतेकी प्रमिला बिहान ३ बजे एक्कासी बिउझिँदा छाँगाबाट खसे जस्तै भइन् । कारण, उनी नग्न थिइन् । प्रमिला रुन थालिन् । मामा भनेर आएको रविन र सँगै सुतेका महेशलाई गाली गरिन् । प्रमिला होटलबाट निस्किएर घर पुगिन् । प्रमिलाले आफ्नो परिवारसँग घटनाबारे बताइन् ।

त्यसपछि प्रमिलाले आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा मामा रविन र महेश विरुद्ध उजुरी दिइन् । पूर्व घुम्न निस्केका उनीहरुलाई प्रहरीले बुटवलबाटै पक्राउ ग¥यो, मुद्दा चलायो । पक्राउ परेका दुवै जना अहिले पूर्पक्षमा जेल चलान भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

प्रमिलाले मामाको विश्वास गर्दा घटना भएको प्रहरी समक्ष बताएकी थिइन् ।

‘मैले रविन मामालाई राम्रोसँग चिन्छु र मेरो परिवारले पनि राम्रोसँग चिन्नु हुन्छ,’ उनले भनेकी थिइन्, ‘म रक्सीको नशामा होस गुमाएपछि मामाले मेरो घर पु¥याइ दिएको भएपनि हुन्थ्यो या घरमा खबर गर्दिएको भएपनि लिन आउनु हुन्थ्यो । यसरी नचिनेको मान्छेको कोठामा राख्नु उहाँको पनि गल्ती छ ।’

घटना घट्नुमा रविन र महेशको मात्र दोष नरहेको उनीहरुलाई नजिकबाट चिन्ने रोशन घिमिरेले बताए । ‘सबै रक्सीले मातेका थिए, सँगै बसे घटना घट्यो,’ उनले भने, ‘प्रमिला पनि पढेलेखेकी युवती हुन् । उनलाई त्यसरी मात्ने गरि खाने अनिसँगै बसेपछि यस्तो हुन्छ भन्ने चेत हुनु पर्ने होइन ? केटा पनि त रक्सीले मातिएकी थिइन् नि । कानुन पनि एक पक्षीय छ हाम्रो देशमा ।’

प्रमिलाले पनि ध्यान दिएको भए घटनाले अर्कै मोड लिने घिमिरेको तर्फ थियो । ‘अहिले समाजमा आफ्नै बुवाबाट छोरी बलात्कार भएको धेरै घटना सार्वजनिक भएको छ,’ उनले भने, ‘प्रमिला जस्तो सचेत युवतीले नातामा मामा पर्ने र नचिनेको मान्छेलाई विश्वास गरेर बेहोस हुने गरी रक्सी खाने हो त ?’

गत भदौ २२ गते मालेपाटनबाट ८ जना किशोरीकिशोरी लेकसाइड पुग्छन् । रमेशको बर्थ डे पार्टी सेलेब्रेसन गर्न उनीहरु त्यहाँ एक होटल बुक गर्छन् । रमेशसँग आएका सबै जसो साथीहरुले घरमै बर्थ डे पार्टी सेलेब्रेसन गर्ने हो भनेर ढाँटेर आएका थिए । १९ वर्षीय रमेशको १८ वर्षीया गर्ल फ्रेन्ड रोजिना थिइन् ।

रमेशको वर्थ डे पार्टीमा रोजिना नआउने कुरै भएन । उनीहरु होटलमा केक काटेपछि रक्सी पिउन थाले । सबै १८ वर्षभन्दा मुनिका कलिला किशोर किशोरीको हर्कत देख्दा होटल साहू छक्क थिए । त्यसरात उनीहरुले रक्सीको नशामा हल्ला गरेर अन्य ग्राहकलाई पनि सुत्न दिएनन् । भोलि बिहान ४ बजेमात्र पार्टी सकियो । होटलका साहुले रोजिनाका सानो बुवालाई चिनेका रहेछन् ।

उनले रोजिना आफ्नो होलटमा रहेको सुनाए । त्यतिमात्र होइन रोजिना रमेशसँग एउटै कोठामा बसेको सुनेपछि सानो बुबा र रोजिनाकी आमा होटल पुगे ।

छोरी बसेको कोठामा उनीहरु पुगे । ढोका खोल्दा उनीहरु आपत्तिजनक अवस्थामा भेटिए । रोजिना आमालाई देखेपछि रुन थालिन् । आमाले दुवै जनालाई गाली गरिन् । रमेशको घरमा फोन हानेर बुवालाई बोलाए । रोजिनाले आफू रक्सीको नशामा यस्तो भएको भन्दै रुँदै थिइन् ।

रोजिनाकी मामा चन्द्र पनि त्यहाँ पुगेका थिए । चन्द्रले रमेश विरुद्ध बलात्कारको उजुरी हाल्नुपर्छ भन्दै थिए । भान्जीलाई रक्सी खुवाएर बलात्कार गरेको भन्दै मामा चन्द्रले एक प्रहरी साथीलाई पनि फोन हान्न भ्याए । प्रहरीले मुद्दा चलाउन सल्लाह दिए । पछि दुवै पक्षको परिवारवबीच छलफल भयो । अन्त्यमा दुवै जना सानै उमेरको भएको हुनाले रोजिनाको परिवारले व्यवहारिक पक्ष हेरे । दुवै जनालाई आगमी दिनमा नभेट्ने सर्तमा परिवारले लिएर गए ।

(नाम परिवर्तन)

निष्पक्ष अनुसन्धान र फैसला कुर्नुको विकल्प छैन

सुमित्रा भट्टराई
प्रलेख अधिकृत इन्सेक
गण्डकी प्रदेश कार्यालय पोखरा

यस प्रकारका घटनामा प्रहरीको निष्पक्ष अनुसन्धान र अदालतको फैसलालाई भरोसा गर्नुबाहेक अरु विकल्प रहँदैन । दोष लाउने भन्दा पनि दुवै पक्षले संयमता अपनाएमा यी घटना घट्दैनन् ।

केही समय अघि मात्रै जिल्ला अदालत बागलुङले झुटो अथवा व्यक्तिगत रिसइवीको कारण मुद्धा दर्ता गरेको भन्दै उजुरी कर्तालाई नै एक महिना कैद सजाएको फैसला गरेको थियो यसर्थ गर्छ भन्नेमा पनि ढुक्क बन्नुपर्छ । प्रायका मुखबाट अचेल सुनिन्छ ‘सहमतिमा सम्बन्ध, सहमतिमा सम्बन्धमा उतारचढाव भए बलात्कार’ भनेर ।

यसमा मलाई केही भन्नु छैन तर अन्तिम समयमा मुद्दा फिर्ता लिने ,पीडितले अदालतमा बयान फेर्ने कारणले गर्दा प्रहरी ,अधिकारकर्मी र अधिवक्ता सबैलाई नै चनौति दिन्छ । सबैले आफ्नो भूमिका राम्ररी निभाएमा जुनसुकै प्रकारका घटनामा दोषी फस्दैनन् र निर्दोष उम्किदैनन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.