www.tandavnews.com
Fact ~ In search of truth

क्षतिपूर्तिको आशमा पीडित परिवार

 

 

बागलुङ ।

दुर्घटनाका कारण भारतको नयाँ दिल्लीमा मृत्युवरण गर्नुभएका गलकोट नगरपालिका–७ मल्मका जीतबहादुर बस्नेतको परिवारले क्षतिपूर्तिको याचना गरेका छन् । रोजगारीका लागि दिल्ली पुग्नुभएका ५० वर्षीय बस्नेतको गत कात्तिक १६ गते दिल्लीको एक पुनःस्थापना गृहमा निधन भएको थियो ।

Batas

विसं २०६६ असारमा दिल्लीको सफदरजङ्ग विमानस्थल नजिक सरकारी गाडीले ठक्कर दिँदा बस्नेत गम्भीर घाइते भएका थिए । दिल्ली प्रहरीले घाइते बस्नेतलाई बेवारिसे अवस्थामा उद्धार गरी उपचार र हेरचाहका लागि ‘शान्ति निकेतन’ नामक पुनःस्थापना गृहको जिम्मा लगाएको थियो ।

स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि पुनःस्थापना गृहमै बस्नेतको निधन भएको उनका भाइ अमरले बताए। गाडीको ठक्करबाट बस्नेतको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर असर पुगेको थियो । घरबाट गएको दश वर्षसम्म बेखबर बनेका बस्नेतको एक्कासि मृत्युको खबर आउँदा परिवारजनमा परेको चोट अझै मत्थर भइसकेको छैन ।

गत मङ्सिर १४ गते बस्नेतको शवलाई घरमै ल्याई अन्तिम दाहसंस्कार गरिएको थियो । विसं २०६६ असार २२ गते घरदेखि दिल्ली जानुभएका बस्नेत उतै हराएपछि परिवारले खोजतलास शुरु गरेका थिए । “वर्षौंसम्म खोज्यौँ, कतै फर्केर आउनु हुन्छ कि भन्ने आश पनि थियो”, बस्नेतका भाइ अमरले भने, “तर सोच्दै नसोचेको घटना भयो ।”

बस्नेतका भाइ अमर, श्रीमती रत्ना र छोरा राम अहिले क्षतिपूर्तिको माग गर्दै दिल्ली पुगेका छन् । विशिष्ट व्यक्तिको सवारीमा हिँडेको गाडीले ठक्कर दिँदा बस्नेत घाइते हुनुभएको बुझिएको छ । घटनामा सरकारी गाडी संलग्न भएको हुँदा क्षतिपूर्ति पाउने आश परिवारजनलाई छ ।

यसअघि शव बुझ्न जाँदा दिल्ली प्रहरी (पुलिस स्टेशन लोधी क्लोनी)ले पनि क्षतिपूर्ति दिलाउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । बस्नेतको मृत्यु नहुँदै पुनःस्थापना गृहका सञ्चालकले पनि ठक्कर दिने गाडीका चालकविरुद्ध अदालतमा मुद्दा दायर गरेको जनाइएको छ ।

अहिले पुनः मृतक बस्नेतकी श्रीमती रत्नाले क्षतिपूर्तिको मागसहित दिल्लीको अदालतमा मुद्दा दर्ता गरेका छन् । “अदालतले गाडीको चालक र बीमा कम्पनीलाई सुनुवाइमा बोलाएको छ”, अमरले भने, “क्षतिपूर्ति पाउनेमा हामी विश्वस्त छौँ ।”

अदालती प्रक्रियाका लागि बस्नेत परिवारले दिल्लीकै एक कानून व्यवसायीको सहयोग लिएका छन् । अदालतको फैसला आएपछि क्षतिपूर्ति पाउन छ÷सात महीना लाग्ने जनाइएको छ ।

गत मङ्सिर पहिलो साता दिल्लीस्थित नेपाली दूतावासले बस्नेतको मृत्यु भएको जानकारीसहित शव बुझ्नको लागि परिवारलाई खबर गरिदिन जिल्ला प्रशासन कार्यालय बागलुङलाई पत्र पठाएपछि घटना सार्वजनिक भएको थियो ।

परिवार र आफन्तजनले मृत्युको घटनाप्रति आशङ्का व्यक्त गर्दै आएका थिए । मृत्युको खबर आउने तर दुर्घटना हुँदा, दश वर्षसम्म पुनःस्थापना केन्द्रमा रहँदा कुनै खबर नआउनुलाई शङ्काको दृष्टिले हेरिएको थियो । प्रहरी र पुनःस्थापना गृहका सञ्चालकले गम्भीर घाइते बस्नेतलाई सडकबाट बेवारिसे अवस्थामा उद्धार गरिएको जनाएका थिए ।

बस्नेत दुर्घटनामा पर्नुअघि १५ वर्षसम्म दिल्लीमै बसेर काम गरेका थिए । पैसा कमाउन विदेशिएका श्रीमानको उतै निधन भएपछि श्रीमती रत्नाको जीवनमा ठूलो विपद् आइलागेको छ । बस्नेतकी छोरी चिनाको बिहे भइसकेको छ भने छोरा राम पोखरामा पढ्दै छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.