www.tandavnews.com
Fact ~ In search of truth

स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता

 

 

ललितपुर ।

परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उनी अनुमतिपत्र नलिई फर्के । दुई पटकसम्म चालक अनुमतिपत्र लिन एकान्तकुना पुग्दा उनलाई चालक अनुमतिपत्र छापिन नै बाँकी रहेको त्यहाँ कार्यरत कर्मचारीले बताएका थिए । तेस्रो पटकमा पाएको चालक अनुमपितपत्र पनि अस्पष्ट भएपछि उनी निराश बनेका छन् ।

Batas

समीर जस्तै धेरै सेवाग्राहीको फोटो धमिलो वा नबुझ्ने भएकाले उनीहरु रित्तै हात फर्किरहेका छन् । कतिपय सेवाग्राहीको नाम केरिएर प्रष्ट बुझिने छैन । यातायात व्यवस्था कार्यालय, प्रदेश नं ३ कार्यालयमा आएका धेरै अनुमतिपत्रमा यस्ता समस्या देखिरहेको हो ।

पछिल्लो एक महीनामा फोटो हेरेर व्यक्ति चिन्न नसकिने खालको चालक अनुमतिपत्र आइरहेको कार्यालयमा प्रमुख चेतप्रसाद उप्रेतीले बताए ।फोटो प्रष्ट नबुझिने खालको अनुमतिपत्र सेवाग्राहीलाई दिँदा पनि त्यसले थप समस्या निम्ताउने भन्दै कार्यालयले अनुमतिपत्र नै नदिएको हो । उनले भने, “अनुमतिपत्रमा भएका विवरण र फोटो नै बुुझिने नभएपछि त्यसलाई दिनुको कुनै अर्थ हुँदैन ।”

कार्यालयबाट परीक्षा पास गरेका झण्डै तीन लाख सेवाग्राहीले स्मार्ट चालक अनुमतिपत्र पाइसकेका छैनन् । परीक्षा पास गरेर राजश्व तिरेको १३÷१४ महीना बित्दासमेत यातायात व्यवस्था विभागबाट छापिएर नआउँदा सेवाग्राहीले अनुमतिपत्र नपाएका हुन् ।

एकातिर छापिन नै एक वर्ष बढी लाग्ने र ढिलो आउँदा पनि विभिन्न समस्या देखिँदा सेवाग्राही कार्यालयमा आएर कार्यरत कर्मचारीसँग रिसाउँछन् । उनले भने,“दैनिक अरु कामसँगै यहाँ आएका सेवाग्राहीलाई सम्झाएर पठाउनु पनि हाम्रो काम भएको छ ।”

कार्यालयबाट सेवा शुरु भएदेखि अहिलेसम्म झण्डै सात लाखले ‘स्मार्ट अनुमतिपत्र’ का लागि राजश्व तिरिसकेका छन् । तीमध्ये चार लाख १० हजारसम्मको वितरण भइसकेको छ । क्रम सङ्ख्या तीन लाख ९०÷९१ हजारमा पर्ने कतिपय सेवाग्राहीले समेत पाएका छैनन् ।

यातायात व्यवस्था कार्यालय सेवाग्राहीको भीड हुने कार्यालयमा पर्छ । त्यसमा पनि समयमा सेवा दिन नसकेपछि सेवाग्राहीको भीडभाड सधैँ कार्यालयमा हुने गरेको छ । एकातिर परीक्षाका लागि आउने सेवाग्राही, राजश्व तिर्न वा नवीकरणका लागि आउने सेवाग्राही र अर्कातिर राजश्व तिरेको लामो समयसम्म पनि अनुमतिपत्र नपाउँदा सेवाग्राही पटक÷पटक आउनेका कारण कार्यालय सधैँ खचाखच हुने गरेको छ ।

राजश्व तिरेको एकवर्ष नाघ्दासमेत चालक अनुमतिपत्र नआएपछि सेवाग्राहीले राजश्व तिरेको कागजकै भरमा सवारी चलाइरहेका छन् ।राजश्व तिरेको पातलो कागजमा लेखिएका कुरा मेटिँदा कतिपय सेवाग्राही दुई÷तीन पटकसम्म त्यसको प्रतिलिपी लिएका छन् । कतिपयले भने राजश्व तिरेको कागजको ‘लेमिनेशन’ गरेरै बोक्न थालेका छन् ।

पहिले एकान्तकुनास्थित कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र बनाउन शुरु भएको थियो । दुईवर्ष पहिलेदेखि भने सबै अञ्चल कार्यालयले यो सेवा शुरु गरेका थिए । अहिले अञ्चल कार्यालय प्रदेश मातहतमा गइसकेका छन् ।

कागजमा प्रदेशमा गए पनि काममा सङ्घअन्तर्गतको विभागले नै अनुमतिपत्रको छपाइ गरिरहेको छ । देशभरका सबै कार्यालयबाट परीक्षा उत्तीर्ण सेवाग्राहीको अनुमतिपत्र एकै ठाउँबाट छपाइ हुँदा ढिलाइ भइरहेको हो । विभागले पत्र पठाएर चालक अनुमतिपत्रको जिम्मेवार लिन प्रदेश कार्यालयलाई भन्न थालेको छ ।

यातायात व्यवस्था विभागले भने छिटफुट रुपमा मात्रै समस्या देखिएको बताएको छ । विभागका प्रवक्ता गोकर्णप्रासद उपाध्यायले प्रणालीमा अवरोध आएका कारण ‘स्मार्ट’ चालक अनुमतिपत्रमा केही असपस्ट भएको तर अस्प्रस्ट हुँदाहुदैँ सेवाग्राहीलाई वितरण नगरिएको उनले जानकारी िदए  । प्रणालीमा जुन समस्या देखिएको छ त्यो छिट्टै सुधार हुने उनको भनाइ छ ।

प्रवक्ता उपाध्यायले दर्ता भएको तर प्रमाण वा तथ्याङ्क नपुगेको कारणले अनुमतिपत्र क्रमबद्ध रुपमा नआएको पनि बताए । उनका अुनसार अहिलेसम्म प्रदेश कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण प्रक्रिया शुरु नभए पनि अब छिट्टै शुरु गर्ने तयारी भइरहेको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.