www.tandavnews.com
Fact ~ In search of truth

टी –२० का लागी नेपाली क्रिकेट टोली युएई जाँदै

काठमाडौँ ।

संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए ।

नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने यस पटक टोलीमा छैनन् । महत्पूर्ण सदस्य टोलीमा नहुँदा प्रतियोगितामा दबाब भने रहने कप्तान खड्काको भनाइ छ । बिरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठीक हुन तीन÷चार हप्ता लाग्ने बताइएको छ । “मुख्यगरी हामीले ब्याटिङमा विशेष सुधार गर्नुपर्ने छ”, कप्तान खड्को भनाइ छ ।

युएईसँगको खेलका लागि चार युवा खेलाडीले ‘सिनियर’ टोलीमा स्थान बनाएका छन् । अविनाश बोहरा, भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् । नेपालले यही माघ ११, १२ र १४ गते एकदिवसीय शृङ्खला र माघ १७, १८ र २० मा टी–२० शृङ्खला खेल्नेछ ।

एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृङ्खला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुनेछ । विश्व क्रिकेट परिषद् ९आइसिसी० बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृङ्खला खेलेको थियो । दुई खेलको शृङ्खला एक÷एक जीतको बराबरीमा सकिएको थियो ।

नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । आइसिसीबाट एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टोली हो ।

युएई भ्रमणका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ । उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् । त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् ।

वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.