www.tandavnews.com
Fact ~ In search of truth

बाँझो जमिनको उपयोग,‘एक वडा : तीन उत्पादन’

 

 

बाग्लुङ।

बाँझो र कम खेतीयोग्य जमीनको उपयोग गर्दै स्थानीय कृषकलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्न बाग्लुङ नगरपालिका कस्सिएको छ ।

नगरपालिकाले ‘एक वडा : तीन उत्पादन’ को लक्ष्यसहित व्यावसायिक चिया, सुन्तला र कागती खेतीको थालनी गराएको हो । बाँझो र कम खोतीयोग्य जमीनमा चियाखेती शुरु भएको छ भने खेतीयोग्य जमीनमा नियमित उत्पादन हुने अन्न बराबर दुई वर्षसम्म अनुदान दिएर सुन्तला लगाउन थालिएको छ ।

तेस्रो वर्षमा व्यावसायिक उत्पादनले आम्दानी नहुञ्जेलसम्म अनुदान दिइनेछ । ‘मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर ः सुन्दर, समृद्ध र सांस्कृतिक बाग्लुङ नगर’ को नारा बोकेको सो नगरपालिकाले बजार क्षेत्रमा घर, बगैँचा र कौशी तरकारी कार्यक्रम पनि अघि बढाएको छ ।

कृषि तथा पशु उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने नगरपालिकाको नीतिअनुसार व्यावसायिक बहुवर्षे फलफूल खेतीलाई प्रोत्साहन स्वरुप मुख्य बालीमा दुई वर्षसम्म अनुदान दिन थालिएको हो । कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्न भूमिको उत्पादकत्व वृद्धि र जमीन चक्लाबन्दीलाई प्रोत्साहन गरिने नगरपालिकाको वार्षिक योजनामा उल्लेख छ ।

“जमीन बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिनेछ, ‘एक सहकारी, एक उत्पादन’ क्रियाकलाप गर्न प्रोत्साहन गरी अगाडि बढाइने छ,” वार्षिक कार्यक्रममा भनिएको छ – “कृषि उत्पादनलाई बजारको सहज पहुँचका लागि हाटबजार, तरकारी तथा फलफूल बजारको स्थापना गर्न पहल गरिने छ । माछापालन व्यवसायलाई पोखरीको क्षेत्रफलको आधारमा अनुदान दिइनेछ ।” नगरप्रमुख जनकराज पौडेलले उत्पादन हुने फलफूल र चियाको बजारका लागि कुनै समस्या नरहेको बताए ।

एक रोपनी जग्गामा चार मुरी धान हुने अनुमानका आधारमा कृषकलाई सुन्तला लगाउन रु पाँच लाख अनुदान रकम बाँड्ने नीति नगरपालिकाले अख्तियार गरेको छ । गत आर्थिक वर्ष सुन्तला खेतीमा अनुदान पाउन कृषकले दिएको आवेदनका आधारमा ३० हजार सुन्तलाका बिरुवा वितरण गरिएको थियो ।

कम्तीमा दुई रोपनी जमीनमा सुन्तला लगाउनेलाई मात्र अनुदान दिइनेछ । वानपा–८ सिगानाका अनन्त खड्काले गणेश व्यावसायिक कृषि सहकारी संस्थामार्फत व्यावसायिक खेतीका लागि अनुदान लिएर काम थाल्ने तयारी गरेको जानकारी दिए ।कागती र मेवा खेतीका लागि अध्ययन भइसकेको छ भने केही वडामा चिया उत्पादनका लागि उपयुक्त ठाउँ छनोट गरी परीक्षण उत्पादन थालिएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चिया उत्पादनलाई प्राथमिकतामा राखिए अनुरुप परीक्षणका लागि नौ हजार बिरुवा लगाइएको छ । नगरको वडा नं ८ को सिगाना र ९ को उपल्लो पहाडी भू–भागमा चिया खेती गर्न लागिएको हो । वडा नं १० को भकुण्डे, वडा नं ५ को मालिकालगायत क्षेत्रमा समेत चिया खेती गर्ने योजना नगरपालिकाले बनाएको छ ।

नेपालमा चिया तथा कफीको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सल्लाहमा चिया खेतीको परीक्षण गरिएको हो । “विज्ञहरुले हाम्रो जमीन, हावापानी र माटोको प्रकृति हेरेर चिया खेती गर्न सुझाएका छन्,” नगरप्रमुख पौडेलले भने – “यो वर्ष १० लाख रुपैयाँ बजेट व्यवस्था गरेर थप खेती विस्तारको तयारीमा लागेका छौं ।”

गोल्डेन टि स्टेटका सञ्चालक चिया विज्ञ निर्मल घिमिरेले सो नगरका उच्च पहाडी क्षेत्रमा चियाको खेती हुनसक्ने सल्लाह दिएपछि नगरपालिकाले पहिलो पटक परीक्षण उत्पादन थालेको हो । “अहिले पाँच रोपनी जमीनमा बिरुवा लगाएका छौं,” बानपा–८ सिगानाका वडाध्यक्ष राजन जिसीले भने– “यो वर्ष एक लाख बिरुवा रोप्ने योजना नगरपालिकाले बनाएको छ ।” पाँच वर्षभित्र व्यावसायिक उत्पादन थाल्ने गरी तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।

चालीस हजार बिरुवाले उत्पादन दिन थालेपछि प्रशोधन केन्द्र स्थापना गर्ने योजना नगरपालिकाको छ । अहिले लगाइएका बिरुवाले तीन वर्षमा उत्पादन दिन थाल्ने र आगामी पाँच वर्षभित्र व्यावसायिक उत्पादन थालिने वडाध्यक्ष जिसीले बताए ।

चियाखेतीको लागि छनोट भएको भू–भागका किसानका लागि अभिमुखीकरण तालीम सञ्चालन गरेर खेतीप्रति उत्साह जगााउन नगरपालिका लागिपरेको छ । नगरपालिकाले चिया खेतीका लागि छनोट गरेको जमीन समुद्र सतहबाट १ हजार ७ सयदेखि दुई हजार मिटरसम्मको उचाइमा पर्छ ।

परीक्षण उत्पादन थालेर व्यावसायिक उत्पादनको तयारी गरिरहेको नगरपालिकाले नेपाल चिया तथा कफी विकास बोर्डसँग सहकार्यका लागि प्रक्रिया अघि बढाएको छ । किसानलाई तालीम, चियाका बिरुवा र सरकारी सहायता लगायतका विषयमा बोर्डसँग सहकार्य गरेर अघि बढ्ने नगरप्रमुख पौडेलले बताए ।

माटो र हावापानीका हिसाबले यहाँ चियाको उत्पादन राम्रो हुने स्थानीय किसानहरुले आशा राखेका छन् । “किसानलाई व्यावसायिक उत्पादनसँग जोडर आत्मनिर्भर बनाउने प्रयासमा छौं,” बानपा–९ तित्याङका वडाध्यक्ष गणेश थापाले भने – “भू–उपयोग नीतिका लागि पनि हामीले लगाउन थालेको चियाले सहयोग पुर्याउने छ ।” उत्पादनको लाभ लिन केही समय पर्खिनु परे पनि उत्पादन शुरु भएपछि किसान खुशी हुने उनको भनाइ छ ।

नेपालका इलाम, पाँचथर, झापा, धनकुटा, तेह्रथुम जस्ता जिल्लामा धेरै चियाखेती हुन्छ । धेरै पानी पर्ने तर, पानी नजम्ने ठाउँ चियाखेतीका लागि उत्तम मानिन्छ । नेपालको अर्थोडक्स चिया युरोपेली र अमेरिकी मुलुकहरुका साथै अस्ट्रेलियामा लोकप्रिय छ । सन् १८६२ मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरूप पाएको चियाको बिरूवा इलामको इलाम चिया बगानमा रोपेपछि नेपालमा चिया खेती प्रारम्भ भएको मानिन्छ ।

कुल २९ हजार ३६० जनसङ्ख्या रहेको सो नगरपालिकामा ७ हजार ४८ घरधुरी रहेका छन् । नगरपालिका १९ दशमलव २३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । नगरपालिका क्षेत्र समुद्री सतहबाट ८०५ देखि दुई हजार ५० मिटरसम्मको उचाइमा अवस्थित छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery