www.tandavnews.com
Fact ~ In search of truth

हिउँमा कठ्याङ्ग्रिएर भाइको मृत्यु,दाई अचेत

जुम्ला ।

सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ भने उनका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ ।

डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि भाइ शिवचन्द्रको बाटोमै मृत्यु भएको थियो । मङ्गलबार साँझ बेपत्ता दाजुको उद्धार गरिए पनि मृतक भाइको लास बुधबार मध्याह्न १२ बजे मात्रै भेटिएको थियो ।

स्थानीयवासी नरबहादुर बुढाका अनुसार दुवै दाजुभाइ जुम्लाको पातारासी गाउँपालिकाको पट्माराबाट राडिपाखी खरीद गरेर डाँफे लेक हुँदै सिञ्जाको जोडु गाउँतर्फ जाँदै थिए । घर जान बाटो लागेका उनीहरु नाकुल्ली भन्ने स्थानमा चलेको तीव्र हुरीबतास र हिमपातका कारण चिसोले कठ्याङ्ग्र्रिएर अचेत अवस्थामा पुगेका हुन् । लास भेटिएको स्थानमा करीब दुई फिट बढी हिउँ परेकाले शव घर लैजान अप्ठ्यारो भएको भन्दै घटनास्थलमा नै मृतकको दाहसंस्कार गरिएको आफन्तले बताएका छन् ।

प्रहरी निरीक्षक प्रकाश केसीले घटना वास्तविक भए पनि प्रहरीलाई समयमै जानकारी नहुनु र घटनास्थलमा नै मृतकको दाहसंस्कार गरिनाका कारणबारे अनुसन्धान भइरहेको बताए । भारी हिमपातसँगै चिसोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । हिँउले स्थानीयवासीलाई ठूलो कामका लागि गाउँबाहिर जान मुस्किल परेको छ ।

चिसोले बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिला बढी प्रभावित भएका छन् भने बिरामीको सङ्ख्या पनि बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.