www.tandavnews.com
Fact ~ In search of truth

बूढीगण्डकी आयोजनाले गर्यो १९ अर्ब मुअब्जा वितरण

गोरखा ।

बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ ।

आयोजनाले मुआब्जा वितरण शुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनस्थापना एकाईका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । चालु आर्थिक वर्षमा मात्रै चार अर्बभन्दा बढी रकम मुअब्जा वितरण गरिसकिएको उनले बताए । आयोजना प्रमुख कार्कीले मुआब्जा वितरण गर्न बाँकी रहेका डुबान प्रभावितलाई पनि चालु आर्थिक वर्षमै मुआब्जा बितरण गरिसकिने जानकारी दिए ।

उनले चालु आर्थिक वर्ष २०७५÷७६ मा प्राप्त १८ अर्ब रुपैयाँले गोरखा र धादिङका सबै प्रभावितलाई रकम वितरण गरिसकिने जानकारी दिए । “मुअब्जा वितरणका लागि रकमको अभाव छैन,” आयोजना प्रमुख कार्कीले भने, “आरुघाट र खहरे क्षेत्रबाहेक मुअब्जा निर्धारण भएका सबै ठाउँका प्रभावितलाई मुआब्जा वितरणको काम सम्पन्न हुन्छ ।” अहिले प्राप्त रकमले डुबान प्रभावित क्षेत्रका बासिन्दाको घरगोठ र बोटबिरुवाको समेत मुआब्जा वितरण गर्न रकम अभाव नहुने आयोजना प्रमुख कार्कीको भनाइ छ ।

“जमीनको मुआब्जा वितरण गरिसकिएका डुबान क्षेत्रका बासिन्दाका घरगोठ र बोटबिरुवाको मुआब्जा बाँड्ने तयारी पनि गरिरहेका छौँ”, उनले भने, “त्यसका लागि प्राप्त रकमले पुग्छ भन्ने हाम्रो अनुमान छ ।”

आयोजनाले मुआब्जा वितरणको काम तीव्र गतिमा अगाडि बढाएको भए पनि प्राविधिक समस्याका कारण केही ढिलाइ भएको उनले बताए । “मालपोत र नापी कार्यालयमा पर्याप्त कर्मचारी छैनन्, यहाँबाट फाइल छिटो अघि बढाए पनि त्यहाँ कामको चापका कारण सोचेजस्तो गतिमा काम अघि बढ्न सकेको छैन,” प्रमुख कार्कीले भने ।

अहिले आयोजनाले गोरखातर्फ साबिकको अश्राङ, बोर्लाङ र धावातर्फका डुबान प्रभावितलाई मुआब्जा वितरण गरिरहेको पनि उनले बताए । आयोजनाले डुबान पर्ने आरुघाट, आर्खेत, खहरे क्षेत्रको मुआब्जा निर्धारण गर्न भने अझै सकेको छैन । “यो वर्षभित्र मुआब्जा निर्धारण गर्न बाँकी रहेका सबै ठाउँको मुआब्जा निर्धारण गर्ने तयारी पनि भइरहेको छ,” अयोजना प्रमुख कार्कीले भने ।

प्रभावितसँग छलफल गरी मुआब्जा निर्धारणका लागि लगभग सहमति भइसकेको उनको भनाइ छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेकाले आयोजनाले अब तत्कालै पुनर्वास र पुनस्थापनाको कामलाई अगाडि बढाउने प्रमुख कार्कीले जानकारी दिए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery