www.tandavnews.com
Fact ~ In search of truth

मेरुदण्ड दुख्ने रोगको प्राकृतिक उपचारबारे डा. संजोग कुमार क्षेत्रीको ५ टिप्स

मेरुदण्ड (गर्दन, ढाड, कम्मर) दुख्ने समस्या आम नेपालीको साझा समस्या हो । यसबाट विद्यार्थी, गृहिणी तथा कर्मचारी बढी पीडित भएको पाइन्छ । यसको उपचार तथा हेरचाह कसरी गर्ने ? प्राकृतिक रुपमै यसको उपचार गर्न सम्भव छ त ? चित्रवन नेचर क्योर हस्पीटल चितवनका डा. संजोग कुमार क्षेत्रीका अनुसार यसको प्राकृतिक उपचार सम्भव छ । यसबारे उनले ५ टिप्स सुझाएका छन् ।

टिप्स १

हाम्रो समाजमा रोग लाग्नेबित्तिकै उपचार गराउने प्रवृत्ति छैन । सामान्य त हो, दुई–चार दिनमा ठिक भइहाल्ला नि भन्ने आम मानसिकता छ । मेरुदण्ड दुख्ने बिरामीको हकमा पनि यस्तै हो ।

Batas

सामान्य ढाड दुख्यो भने सुरुमा बिरामी डाक्टर कहाँ जान मान्दैनन् । अलिकति ढाड दुखेको त हो । दुई–चार दिनपछि आफै ठीक भइहाल्ला नि भन्ने बिरामीको मानसिकता हुन्छ । ठूलो समस्या न निम्तिएसम्म ऊ उपचार गर्न जाँदैन । उपचारमा गरिने हेलचेक्र्याइले नसा च्यापिने समस्या देखिन सक्छ ।

समस्या जति सानो भयो त्यति त्यसलाई बुझ्न र समाधान गर्न सजिलो हुन्छ । त्यसैले यदि ढाड दुख्न सुरु हुनेबित्तिकै सम्बन्धित विशेषज्ञकहाँ गएर चेकजाँच गराउनु उपयुक्त हुन्छ ।

टिप्स २

पोस्चरको ख्याल राखे मेरुदण्डको समस्या नै हुँदैन । तर, पोस्चरको ख्याल नराखे अप्रेसन गरे पनि रोग निको हुँदैन । मेरुदण्डको उपचारमा यो भन्दा महत्वपूर्ण केही पनि छैन । शरीरको पोजिसन अथवा शारीरिक अवस्थाको ख्याल राख्नुलाई पोस्चुरल केयर भनिन्छ ।

पोस्चुरल केयर गर्दा ५ कुरा सधैं याद राख्नुपर्छ

– बस्दा चित्रमा जस्तै एकदमै सही पोजिसनमा नै बसौं
– एक पटकमा १५ मिनेटभन्दा बढी नबसौं
– निहुरिएर वा भुँइमा बसेर काम नगरौं
– निहुरिएर कहिलै सामान नउठाऔं
– उठिरहेर काम गर्नुभन्दा यताउती हिँडेर काम गर्ने गरौं

टेबुल वर्कमा वा कम्प्युटरमा बस्दा कुन पोजिसनमा बस्ने ? कम्प्युटरको मनिटर कति टाढा राख्ने ? कि बोर्ड कहाँनेर राख्ने ? यी सबै चिजमा हामीले ख्याल राख्नुपर्छ । टेबुल वर्कमा आफू बसेको कुर्सीलाई टेबुलभित्र घुसाइ दिनुपर्छ ताकि हामी निहुरिन नपरोस् । टेबुल जति टाढा भयो त्यति निहुरिनपर्ने हुन्छ । काम गर्दा कुर्सीभित्र घुस्यो भने ढाड सिधा राखेरै काम गर्न सकिन्छ । स–साना जस्तै लागे पनि यी महत्वपूर्ण कुरालाई ध्यान दिनुपर्छ ।

यदि कुर्सीमा बसिराख्नुभएको छ भने हाम्रो हिप अर्थात् पुट्ठाले कुर्सीको पछाडिको भाग छोएकै हुनुपर्छ अर्थात् ढाडलाई राम्ररी पछाडि सपोर्ट दिएकै हुनुपर्छ ।

कुर्सीमा अगाडि झुक्नुको साटो सिधा बस्नुपर्छ । कुर्सीमा सिधा ९० डिग्रीमा नबसेर हल्का पछाडि सपोर्ट लिएर बस्दा मेरुदण्डमा चाप कम हुन्छ । तर त्यसरी बस्दा हिपले कुर्सीको पछाडि धकेलेकै हुनुपर्छ ।

उठिरहनु पर्नेले बरु यताउता हिँडडुल गर्ने थोरै बेर बस्ने वा सम्भव छ भने उठिरहँदाखेरि एउटा खुट्टा स्टुलमा राख्ने गर्नुपर्छ । लामो समय बसिरहने वा उठिरहने गर्नुहुँदैन । कामको बीचबीचमा हरेक घण्टामा ब्रेक लिएर ५ वा १० पटक हल्का पछाडि उल्टो झुक्ने वा केही तन्काउने खाले व्यायाम गर्नु एकदमै राम्रो हुन्छ ।

सामान उठाउँदा कहिल्यै पनि निहुरिएर नउठाउने तथा यसको साटो चित्रमा जस्तै पहिला बस्ने अनि बसेर ढाडलाई सिधा राखेर मात्र सामान समाई उठाउने गर्नुपर्छ । माथिका यी बानीले हाम्रा ७० प्रतिशत ढाडका समस्या हटाउन सकिन्छ ।

रोग अनुसारको पोस्चुरल केयर हुन्छन्, जुन विशेषज्ञले मात्र सिकाउन सक्छन् ।

टिप्स ३

मेरुदण्ड दुख्ने रोगका बिरामी उपचार गराउँदा गराउँदै हैरान भएका हुन्छन् । डाक्टरले प्रेस्क्रिपसन गरेको औषधी खाँदा र थेरापी गराउँदा पनि रोग सन्चो हुँदैन ।

जसरी खाना खाँदा भात, दाल, तरकारी, सलाद, दहीको जरुरत पर्छ, त्यसरी नै थेरापीहरूमा पनि एउटा राम्रो सामन्जस्य रूपमा काम गर्ने खालको कम्बाइन्ड औषधोपचारको जरुरत पर्छ । यो संयोजन राम्रो भएन भनेजस्तै रोग पनि ठिक नहुने हुन सक्छ । औषधोपचारसँग उपयुक्त खानपिन, व्यायाम तथा केयर अनि घरमै गर्न सकिने उपचारहरू पनि सिक्नु जरुरी हुन्छ ।

सर्वप्रथम विशेषज्ञ कहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ अनि मात्र सुहाउँदो तथा फाइदा दिने खालका उपचारहरूको एकीकृत उपचार लिनुपर्छ ।

टिप्स ४

यदि गर्दन, ढाड, कम्मरसम्बन्धि कुनै समस्या छ भने पहिला विशेषज्ञकहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ अनि मात्र सुहाउँदो तथा फाइदा दिने ढाडका व्यायाम मात्र गर्ने गर्नुपर्छ । दुखेको बेलामा व्यायाम नगर्नुस् ।

मेरुदण्ड विशेषज्ञले सिकाएका व्यायाम मात्र गर्नुस् । कुन खाले व्यायाम, कति गर्ने, स्पष्ट सिकेर मात्र गर्नुस् । ढाडलाई स्वस्थ राख्न व्यायामको अर्को विकल्प छैन । तीन किसिमका व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।

१. पसिना निकाल्ने जस्तै हिँड्ने तथा दौडने खालेतन्काउने खाले योग वा स्ट्रेचिङखाले व्यायाम ।

२.शरीर तथा ढाड बलियो बनाउनेखाले व्यायाम ।

३‍. व्यायाम विशेषज्ञले भने बमोजिम मात्र गर्नुपर्छ

टिप्स ५

ढाडलाई स्वस्थ राख्न खानपानमा ध्यान दिनु एकदमै जरुरी छ । जसरी सम्पूर्ण शरीरका लागि खानपान महत्वपूर्ण हुन्छ, त्यसरी ढाडका लागि पनि प्रशस्त पानी तथा क्याल्सियम भएका शाकाहारी खाना महत्वपूर्ण हुन्छ । यस्का साथै कुलत, चिनी, प्याकेटका जंक वा फास्ट फुडबाट टाढै रहनुपर्छ ।

भिटामिन डी कम हुने, पानी कम पिउनेमा झस्का पस्ने समस्या आइरहने तथा क्याल्सियमको कमीले हड्डी खिइने हुनसक्छ ।

आजभोलिका धेरै मानिसहरूमा भिटामिन डीको कमी छ । जसले गर्दा शरीरमा क्याल्सियम जम्मा हुन सकिरहेको छैन तथा हड्डी कमजोर हुँदै जान्छ वा दुखाई ठिक हुँदैन ।

भिटामिन डीको लागि सबैभन्दा राम्रो घाम ताप्न सकिन्छ । दिन को १५ मिनट बिहान कपडा खोलेर नांगो छालामा घाम ताप्नु एकदमै राम्रो हुन्छ । भिटामिन डीका औषधिहरू पनि पाइन्छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.