www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको म्याग्देमा प्राकृतिक स्रोतको उत्खनन

 

दमौली ।

तनहुँको म्याग्दे गाउँपालिका–५ ले कच्ची बाटो खन्ने नाममा प्राकृतिक स्रोतको अवैध उत्खनन गरेको छ । सोही वडाको धुरपुरेटार भन्ने स्थानमा कच्ची सडक खन्ने भन्दै वडा कार्यालयले अवैधरूपमा प्राकृतिक स्रोतको उत्खनन गरी सङ्कलन गरेको हो ।

पहिल्यै बाटो खनिसकेको उक्त स्थानमा फेरि १२ मिटरको बाटो खन्ने भन्दै वडा कार्यालयले शुक्लागण्डकी नगरपालिका–९ दोभानको शिवशक्ति क्रसर उद्योगमार्फत सयौँ टिप गिट्टी, बालुवा उत्खनन गरी सङ्कलन गरेको भेटिएको छ ।

स्थानीय बासिन्दाको चर्को विरोध भए पनि वडाध्यक्ष शिवबहादुर आलेले एकलौटी निर्णय गरी अवैधरूपमा गिट्टी, बालुवा सङ्कलन गरेको स्थानीयवासी बसन थापाले बताए । डाँडामा रहेको तीन घरधुरीका लागि १२ मिटर चौडाइको बाटो खन्ने भन्दै वडा कार्यालयले बजेट विनियोजन गरी उक्त क्रसर उद्योगलाई जिम्मा दिई अवैधरूपमा प्राकृतिक स्रोतको उत्खनन गरेको थापाको भनाइ छ ।

उनले भने, “उक्त डाँडामा पहिल्यै बाटो पुगिसकेको छ । कारण जे बताइए पनि उद्देश्य भनेको प्राकृतिक स्रोतको उत्खनन गरी ओसारपोसार गर्नु नै रहेको छ ।” वडाध्यक्ष आलेले नयाँ बाटोको ट्र्याक खन्ने क्रममा प्राकृतिक स्रोतको कच्चा पदार्थ निस्किएको बताए । उनले यसबारेमा गाउँपालिकामा उजुरी परेपछि हालै प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वको समूहले अनुगमन गरी उत्खननमा रोक लगाइसकेको जानकारी दिए ।

सयौँ टिप सङ्कलन गरिएको उक्त कच्चा पदार्थ गाउँपालिकाको आगामी माघ १६ गते बस्ने गाउँसभाको निर्णयमार्फत बोलपत्र आह्वान गरी बिक्री गर्ने थापाले बताए । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आफूहरूले प्राकृतिक स्रोतको उत्खनन गर्ने कुनै निर्णय नगरेको बताए । उनले वडाले बाटो खन्ने क्रममा केही कच्चा पदार्थ सङ्कलन भएको हुनसक्ने भन्दै यसबारेमा गाउँसभाले निर्णय गर्ने बताए ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले यसबारेमा आफूलाई कुनै जानकारी नभए पनि कसैले पनि अनुमति नलिइकन प्राकृतिक स्रोतको उत्खनन गर्न नपाउने बताए । उनले भने, “के रहेछ, म बुझ्छु, तर कसैले पनि अनुमति नलिइकन यसरी कच्चा पदार्थको उत्खनन र सङ्कलन गर्न पाउँदैन ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.