www.tandavnews.com
Fact ~ In search of truth

नयाँ कानुन बनाउँदै पोखरा महानगरपालिका

पोखरा, 
पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठवटा कानूनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा शुक्रबारदेखि शुरु नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती विधेयकहरुलाई सभामा प्रस्तुत गरेकाे थिए ।

सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदालाई प्रस्तुत गरिएको थियो ।

विधेयकका मस्यौदामाथि विस्तृत छलफल गरी यसै सभाबाट पारित गरिने कार्यक्रम रहेको उनले जानकारी दिए । महानगरपालिकाले यसअघि ४३ वटा विभिन्न ऐन, कार्यविधि, निर्देशिका र नियमावली बनाइसकेको छ ।

नगरसभामा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कानुनको अभावमा महानगर अल्झनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै सङ्घ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताए ।

जनताको चाहनाअनुरुप महानगरलाई समृद्ध बनाउन आफूहरु क्रियाशील रहेको बताउँदै उनले समृद्धि र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेकामा जोड दिए ।

नगर सभासद्लाई अध्ययनका लागि प्रदान गरिएको प्रस्तुत मस्यौदामाथि आगामी आइतबार छलफल गरी पारित गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । -रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.