www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

लामो समयपछि परेको बर्षाका कारण पर्वतका बिभिन्न उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको छ । पर्वतका केही ठाउँहरुमा मात्र कुनै कुनै बर्षमा हिमपात हुने गरेको भएपनि शुक्रबार साँझदेखि लगातार बर्षा भैरहँदा चिसो बढेसंगै उच्च पहाडी भेगमा हिमपात भएको हो ।

स्थानीयबासीका अनुसार कुश्मा नगरपालिका ३ दुर्लुङको माथिल्ला भागहरु हलहले र हलजुरेमा हिउँ परेको छ । फलेवास नगरपालिकाको डहरेको लेक, कार्कीनेटा, भंगरा र थापाठानाको माथिल्लो भागमा पनि हिमपात भएको छ ।

यस्तै, जलजला गाउँपालिकाको हम्पालको लेक, लेकफाँट, शालिजा, धाईरिङ, नाङलीवाङ, बनौँ लगायतका ठाउँमा हिउँ परेको छ । यसैगरी, मोदी गाउँपालिकाको क्याङ, लेस्पार, सहस्रधारा, देउपुरको उपल्लो भाग लगायतका ठाउँमा पनि हिमपात भएको छ ।

जिल्लाका अन्य ठाउँहरु बाँसखर्क, भुकताङले, पञ्चासे, चिसापानीको लेकहरुमा पनि ३ फिट भन्दा बाक्लो हिउँ जमेको छ ।हिमपात भएको क्षेत्रमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ।

बाहिर हिउँ परेको र कतिपय ठाउँमा शीत जमेका कारण दैनिकी संचालनमा नै कठिनाई भएको छ । मोदी गाउँपालिका ४ क्याङको बाजुङ आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम पोखरेलका अनुसार चिसोका कारण घर बाहिर निस्कन पनि कठिन भैरहेको छ भने चौपायालाई पनि समस्या भएको छ ।

हिमपातका कारण दैनिकी असहज बनेको भएपनि बर्षाका कारण कृषकहरु भने खुसी भएका छन् । लामो समयदेखि बर्षा नहुँदा हिउँदे बालीमा सिचाईँको समस्या भएको थियो । बर्षाले गहुँ, आलु, तोरी लगायत विभिन्न हिउँदे बालीलाई फाईदा पुर्याएको भएपनि हिउँ जमेका ठाउँमा लगाईएका खाद्यबाली तथा फलफुलमा भने क्षती पुगेको छ ।

गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मंगलबार पनि वर्षा भएको थियो । शुक्रवार साँझदेखि फेरि बर्ष भैरहेका कारण हिमपात समेत भैरहेको छ ।

यता पोखरा आसपासका क्षेत्रमा पनि हिजो साँझदेखि वर्षा भइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.