www.tandavnews.com
Fact ~ In search of truth

टोड्के जोड्ने सडक स्तरोन्नति शुरु

म्याग्दी ।

म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति शुरु भएको छ ।

मङ्गला गाउँपालिकाले सिमदेखि कोत्रवाङ, खुम्ल्याह, पैयुँपाटा, कुहूँ, पूर्णगाउँ हुँदै समुन्द्रि सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित टोड्के जोड्ने सडक स्तरोन्नतिको काम शुरु गरेको हो ।

सिमदेखि अधेरीखोला र अधेरीखोलादेखि टोड्के दुई खण्डमा सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, घुम्ती तथा मोड सुधार गर्न लागिएको सिम कोत्रवाङ खुम्ल्याह पैयुपाटा कुहूँ पूर्ण टोड्के सडक उपभोक्ता समितिका अध्यक्ष एकजित रोकाले जानकारी दिए ।

स्थानीयवासी, तत्कालीन गाविस र जिविसले २०६७ सालमा सिमदेखि टोड्के जोड्ने सडकको ट्रयाक खोलेका थिए । हाल तीनदेखि साढे तीन मिटर चौडाइ रहेको सडक विस्तार गरेर कम्तीमा सात मिटर फराकिलो बनाउन लागिएको अध्यक्ष रोकाले बताए ।

पहिलो चरणमा एक्साभेटर परिचालन गरेर फराकिलो बनाउने काम भइरहेको छ । सडक फराकिलो बनाएपछि उपभोक्ता र मजदुर परिचालन गरेर ग्याबियन, सुख्खा र मेसिनरी पर्खाल निर्माण गरिने उपभोक्ता समितिका सचिव देबबहादुर क्षेत्रीले बताए।

मङ्गला गाउँपालिकाले सिमदेखि अधेरीखोलासम्मका लागि ३५ लाख रुपैयाँ र अधेरीखोलादेखि टोड्केसम्मका लागि १५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । उपभोक्ताको १५ प्रतिशत जनसहभागितामा सडक स्तरोन्नति गर्न लागिएको हो ।

यो सडक स्तरोन्नति भएमा स्थानीयवासीलाई सुविधाका साथै टोड्केको पर्यटन विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । सडक स्तरोन्नति गरेर बाह्रै महिना सहज रुपमा सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन लागिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

तोराखोत भरजुला हिदी, पखेर बरंजा, सातबिरे बरंजा, पुलचोक अर्मनलगायत गाउँपालिकाका अन्य सडकलाई पनि स्तरोन्नति गर्न लागिएको अध्यक्ष रोकाले बताए । रासस

तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.