पोखरा
ताण्डव न्यूज ।
फेवातालको संरक्षण गर्नको लागि पोखरा महानगरपालिकाले अभियान सुरु गरेको छ । सोमबार विहान लेकलाइडमा ताल पुरिएर रहेको चाररोपनी क्षेत्रफलको माटो हटाउन डोजर लगाउँदै महानगरले ताल संरक्षणको अभियान सुरु गरेकोे महानगरका मेयर मानबहादुर जिसीले बताए ।
‘पोखरा र फेवातालको सौन्दर्यता कायम राख्न महानगरले अभियान सुुरु गरेको हो,’ मेयर जिसीले भने, ‘यसका लागि स्थानियसँगै प्रदेश र संघिय सरकारको समेत सहयोग हामीलाई चाहिन्छ । हामी ताल पुरिएका सबै ठाउँमा र ताल अतिक्रमण गरेर बनाएका ठाउँमा डोजर लगाएर ताललाई पुरानै अबस्थामा फर्काउने अभियानमा छौँ ।’

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको बिशेष उपस्थितीमा तालबाट माटो निकाल्ने अभियानको सुरुवात गरिएको हो । तालको माटो निकाल्ने अभियानमा पुगेका मुख्यमन्त्री गुरुङले यसले समग्र प्रदेशमा राम्रो सन्देश प्रवाह गरेको बताए ।
‘यस अभियानले सबै तिर राम्रो सन्देश प्रवाह गरेको छ,’ उनले भने, ‘अब फेवाताल अतिक्रमणको विषयमा सर्वाेच्चको फैसला कार्यान्वयन गर्न केन्द्र, प्रदेश र स्थानीय तहको एकता चाहिएको छ । यसमा सबै लाग्नुपर्छ ।’
करिब चार रोपनी क्षेत्रफलमा रहेको २० हजार घनमिटर माटोे निकाल्ने काम महानगरकै श्रोत तथा साधनबाट गर्न लागिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेलले बताए ।
फेवातालको अन्य क्षेत्रमा पनि तत्कालै यस्ता अभियान सुरु गर्नुपर्ने प्रदेश सभा सदस्य राजीब पहारी बताउँछन् । फेवाताललाई आफ्नै क्षेत्रफलमा फर्काउन सबै क्षेत्रको सहयोग चाहिने प्रदेश सभाका अर्का सदस्य विन्दुकुमार थापा बताउँछन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.