पोखरा
ताण्डव न्यूज ।
नेपाली समाजमा चर्चित एउटा उखान छ, ‘विग्रेको मान्छेको भत्केको घर, जे–जे मन लाग्छ त्यै–त्यै गर’ । यो उखान अन्त कहिँ नभएर नेपालकै प्रमुख पर्यटकिय गन्तब्य पोखरासँग मेल खाइरहेको छ । पोखरा महानगरले भवन बनाउनको लागि मापदण्ड पनि तोकेको छ । केहि वर्षयता पोखरा महानगरमा बढिमा तीन तला भन्दा अग्लो घरको नक्सापास पनि हुँदैन । तर, त्यै तिन तलाको अनुमति लिएर यहाँ ११, १२ तलाको गगनचुम्बी भवन ठड्याएको र पोखराको सौन्दर्य धरापमा परेको देखेपनि जनप्रतिनिधी लगायत पोखराले सुनेको नसुन्यै गरिरहेको छ ।
केहि दिन अघि पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुबेदीले आफ्नो फेसबुकमा ड्यामसाइड क्षेत्रको एउटा गगनचुम्बी घरको फोटो राखेर लेखे, ‘के पोखरालाई यस्तो घरको खाँचो होर ?’ यो प्रश्न उनले कस्लाई गरे थाहा छैन । तर, उनी सूचना रहेको पोखरा महानगरपालिकाबाट उक्त भवन बनाउन तीन तला भन्दा बढिको अनुमति दिइएको छैन ।

पोखरामा अहिले गगनचुम्बी भवन ठड्याउन प्रतिस्पर्धा भएजस्तै एक पछि अर्काे भवनहरु बनिरहेका छन् । पोखराको लेकसाइड क्षेत्रमा विशेष गरी मापदण्ड मिचेर भवनहरु बनिरहेका छन् । महानगरपालिकाले विज्ञ समुह गठन गरेर पनि पोखरामा घर बनाउन मापदण्ड तोक्ने र कार्यान्वयन गर्ने निर्णय ग¥यो । विज्ञ समुहले उल्टै पोखरामा ४० तलेसम्म अग्ला घर बनाउन सकिने प्रतिबेदन बुझायो ।
त्यस्तै पोखरालाई स्मार्ट सिटी बनाउने भनेर दैनिक विभिन्न कार्यक्रममा भाषण गर्दै हिँड्ने मेयरसापलाई पनि त्यस्ता भवनहरुले गिज्याइरहेका छन् । ड्याम साइड क्षेत्रमा बनिरहेका अग्ला घर नियन्त्रण गर्न आफुले नसकेको वडा अध्यक्ष तिर्थराज अधिकारीले यस अघि नै बताइसकेका छन् ।
यता पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपाली भने अब यस्ता घरहरु बन्न रोक्ने प्रतिक्रिया दिन्छन् । ‘यस्ता घरहरुले सौन्दर्यता त विगारेको छ,’ उनले भने, ‘अब हामी रोक्छौँ । नीति राजपत्रमा आएअनुसार कार्यान्वयनमा लैजान्छौँ ।’ यस अघि पनि पोखरा महानगरका प्रमुख तथा सबै जनप्रतिनिधीहरुले बोलेकै भाषा बोलेका नेपालीले अहिले मापदड मिचेर बनेका घरहरुको निर्माण रोक्न कुनै धारणा राखेनन् । मापदण्डको विषयमा वडा अध्यक्ष लाचार र महानगर निरिह देखिएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.