www.tandavnews.com
Fact ~ In search of truth

बेनी–मालढुङ्गा सडक दैनिक सात घण्टा बन्द

म्याग्दी ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ ।

जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले बुधबारदेखि लागू हुने गरी समयतालीका बनाएको हो ।जसअन्तर्गत बिहान ६ देखि ८, दिउँसो १० देखि १ र २ देखि ४ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तार गर्ने मालढुङ्गा–बेनी सडक आयोजना निर्माण कम्पनीका प्रतिनिधि अमृतकुमार श्रेष्ठले जानकारी दिए ।

म्याग्दी र मुस्ताङबाट पर्वत, बागलुङ, पोखरा, काठमाण्डौँ लगायत देशका विभिन्न स्थानका लागि छुट्ने र भित्रिने सवारीसाधन प्रभावित भएका छन् । बेनी–मालढुङ्गा सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ ।

सडक डिभिजन कार्यालय बागलुङले लामाखेतदेखि वारिबेनीसम्मको एक किलोमिटर १०० मिटर दूरीको सडक स्तरोन्नति र कालोपत्र गर्न आयोजना सञ्चालन गरेको छ । सडक विस्तार, नाली निर्माण र कालोपत्रका लागि डिभिजनले गत पुस १७ गते एक करोड १५ लाख रुपैयाँमा अजय–त्रिशक्ति जेभीसँग आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने सम्झौता गरेको छ ।

निर्धारित समयभित्रै योजना निर्माण सम्पन्न गर्न सडक निर्माण र सवारी सञ्चालनको समयतालीका बनाइएको हो । ११ मिटर फराकिलो हुने सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र र एक मिटर चौडाइको नाली हुनेछ ।यो सडक हाल सात मिटरको हाराहारीमा फराकिलो छ । मालढुङ्गा–बेनी म्याग्दी र मुस्ताङ प्रवेशद्वारको रुपमा पनि यो सडकलाई लिइने गरिन्छ । रासस

तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.