www.tandavnews.com
Fact ~ In search of truth

असिनापानीले १० लाख बढीको तरकारी नष्ट

गलेश्वर ।

बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पुर्याएको हो ।

असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, मुलालगायतका बेमौसमी तरकारी खेतीमा क्षति पुर्याएको कृषकले गुनासो गरेका छन् । नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, राक्से, सिङ्गा, तातोपानीलगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिनापानीले नष्ट गरिदिएको हो ।

असिनापानीका कारण खबरामा मात्रै १० लाख रुपैयाँ मूल्य बराबरको तरकारीमा क्षति पुगेको विगत ४० वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्दै आउनुभएका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । कार्कीको मात्रै  चार लाख बराबरको तरकारीमा क्षति पुगेको छ ।

असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पुर्याएको छ । मध्यरातमा परेको असिनापानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिनापानीले नष्ट गरेपछि किसान चिन्तित बनेका छन् ।

नगरपालिकाको खबरालगायत क्षेत्रबाट बेनीबजारमा दैनिक रूपमा तरकारी आयात हुने गर्दछ । जिल्लाको उच्च हिमाली र पहाडी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै तल्लो क्षेत्रमा असिनापानी परेको हो । असिनाले वनजङ्गलमा रुखका हाँगा तथा पातपतिङ्गरसमेत झारेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.