www.tandavnews.com
Fact ~ In search of truth

मकै खाने बानी बसाल्न मकैको सातु बजारमा

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।
नेपालको प्रमुख खाद्यबालीमध्येको एक मकै पनि हो । मकै संसारको तेस्रो खाद्यबाली पनि हो। नेपाल गाउँहरुमा दशकौँ पहिलेसम्म चामल भन्दा मकै र कोदो बढी खाने प्रचलन थियो । तर आजभोली भने चामल सहज रुपमा पाउन थालेपछि चामल नै बढी खाइन्छ भने मकै खाने चलन हराउँदै जान थालेको छ ।

कृषकहरुले उत्पादन गर्ने पकै पशुपंक्षीको आहारको लागि मात्र प्रयोग हुने गरेको छ । क्यालोरी, सुगर, फाईवर, ओमेगा लगायतका तत्व पाउन सकिने मकैको खाने चलन हराउँदै गएको बेलामा पर्वतमा भने खानको लागि सजिलो र स्वादिलो बनाएर मकैको सातुको उत्पादन थालिएको छ ।

फलेवास नगरपालिका ४ मुडिकुवामा रहेको सामुदायिक खाद्य प्रसोधन उद्योगले मकै खाने प्रवृत्ति बृद्धि गर्न र यसले स्वास्थ्यमा पनि फाइदा पुर्याउने भएकोले मकैको सातु उत्पादन गरेर बजारमा पठाउन थालेको छ । यसअगाडि लप्सी, अमला, सुन्तला, खुर्पानी, अदुवा लगायतका खाद्य बस्तु प्रशोधन गरी क्याण्डी, माडा, तितौरा, अचार, जुस जस्तै अन्य सामग्री उत्पादन गरेर विदेशमा समेत निर्यात गर्दै आएकोमा यस बर्षबाट भने मकैको सातु पनि उत्पादन गर्न थालिएको उद्योगका सञ्चालक थानेश्वर भुषालले जानकारी दिए ।

‘मकै खानु स्वास्थ्यको लागि राम्रो हो । अहिले भात खाने प्रवृत्तिले मकैको महत्व घटेको छ ।’ भुषालले भने, ‘अरु खाद्यान्न पनि मिसाएर प्रशोधन गरिएको सातु स्वादीलो छ, यसले चामलको सट्टामा मकै खाने बानीको विकास गर्न सक्छ भन्ने पनि लागेको छ ।’

पौष्टीक आहारको रुपमा रहेको सातुमा ७० प्रतिशत मकै, १० प्रतिशत चना, १० प्रतिशत भट्ट, ५ प्रतिशत बदाम, ३ प्रतिशत चिनी, १ प्रतिशत नुन, १ प्रतिशत अदुवा, मरिच र अलैचीँके समिश्रण राखिएको र मकैको सातु पूर्ण रुपमा अर्गानिक रहेको भुषालको भनाई छ । उद्योगले फलफुलको अलावा कोदो र गहुँको पनि परिकार पनि बजारमा ल्याएको छ। स्थानिय उत्पादनलाई उच्चतम प्रविधिबाट प्रशोधन गरिएको छ भने र सातुलाई उत्पादनको ६ महिनाभित्र प्रयोग गर्न सकिनेछ ।

विश्वमा मकै उत्पादन गर्ने र खाने प्रचलन मध्य अमेरिकाबाट शुरु भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.