गोरखा ।
शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सन्तानेश्वर महादेव मन्दिर चन्दा सङ्कलन गरी निर्माण गरिएको छ ।
भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको उक्त मन्दिर त्यहाँका युवाले २९ लाख चन्दा सङ्कलन गरी निर्माण गरेको स्थानीयवासी उत्तमकुमार श्रेष्ठले जानकारी दिए। उक्त मन्दिर निर्माणका लागि कसैले पनि चासो नदिएकाले स्थानीय युवाले एक समिति गठन गरी रकम सङ्कलन अभियान सञ्चालन गरेका थिए । “सो अभियानमा स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट २९ लाख सङ्कलन भयो” उनले भने, “गाउँपालिकाले पनि पुनःनिर्माणका लागि १० लाख प्रदान गरेकाले मन्दिर निर्माण गर्न सजिलो भयो ।”

विसं २०७४ कात्तिकदेखि सामाजिक सञ्जाल (फेसबुक)देखि सो अभियान सञ्चालन शुरु गरिएको र मन्दिर १७ महीनामा निर्माण गरिएको वडाध्यक्ष काशीनाथ अम्गाईंले जानकारी दिए । पुनःनिर्माण पछि पूजाआजा पनि शुरु गरिएको उनको भनाइ थियो ।
मन्दिर पुनःनिर्माणका लागि कूल ४५ लाख खर्च भएकाले अझै थप छ लाख अपुग भएको जानकारी दिँदै उनले भने, “करीब छ लाख जति अपुग रकम मन्दिरमा आउने श्रद्धालु भक्तजनले चढाउने भेटी सङ्कलन गर्ने तयारी गरेका छौँ ।”
निर्मित मन्दिरको चारैतिर ढोका हालेर राखिएको छ भने मन्दिरको छानामा तामाको जलप लगाई भकिझकाउ पारिएको छ । मन्दिर पुनःनिर्माणसँगै प्रचार–प्रसार पनि गरेर त्यहाँ धार्मिक पर्यटक भित्र्याउने लक्ष्य आफूहरुको रहेको मन्दिर निर्माण समितिका संयोजक राजनबाबु श्रेष्ठले जानकारी दिए। रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.