www.tandavnews.com
Fact ~ In search of truth

निर्मला हत्याको प्रमाण नष्ट गर्ने आठविरुद्ध मुद्दा

कञ्चनपुर ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ ।

गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

सरकारी वकिल कार्यालयले निर्मलाकी आमा दुर्गादेवी र खडकाको जाहेरीका आधारमा अदालतमा गत बुधबार छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी र प्रहरी निरीक्षक एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रमाण नष्ट गरेको अभियोगमा प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायब निरीक्षक रामसिंह धाँमी, हरिसिंह धाँमी र प्रहरी जवान चाँदनी साउदविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्ट र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीबाहेक अन्य छ जनालाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । “छ जना हिरासतमा रहेका छन्”, उनले भने।

‘‘अदालतमा उपस्थित गराइएकासँग बयान लिनेक्रम शुरु भएको छ’’ उनले भने, “बयान लिनेक्रम दुई÷तीन दिनसम्म चल्ने देखिन्छ ।” पन्तको साउन ११ गते घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.