www.tandavnews.com
Fact ~ In search of truth

धमाधम रुख काट्दै स्थानिय तह, ओसारपोसारको उजुरी परे कारबाही हुने

संजय रेग्मी,
पर्वत / ताण्डव न्यूज ।

आवादी वरपरको क्षेत्रमा रुखहरु धेरै हुँदा बन्यजन्तुहरु बस्तीमा प्रवेश गरेको र उत्पादनयोग्य जमिनमा रुखहरु हुँदा उत्पादनमा ह्रास आएको भन्दै स्थानीय तहहरुले लोकप्रिय कार्यक्रमको रुपमा रुख काट्ने अभियान चलाएका छन् । खेतीयोग्य जमिनमा रुखहरु राख्दा उत्पादन राम्रो नभएको तथा बाँदर, चितुवा लगायतका बन्यजन्तुले बस्तीमा प्रवेश गरेर सताएको भन्दै रुख कटान गरिरहेका स्थानीय तहहरुले यही अभिायनलाई नागरिकका लागि गरिएको लोकप्रिय कार्यक्रम भएको बताउँछन् ।

स्थानिय तहले राम्रो काम गरिरहेको बताएपनि जंगल र रुख फडानी गर्दा वातावरणमा पर्ने नकरात्मक प्रभावको बारेमा विचार नगरिएको सरोकारवालाहरु बताउँछन् । स्थानीय तहले काम गरेको देखाउन वन्यजन्तु र उत्पादनको बहानामा वातावरणका लागि आवश्यक रुखहरु नै काट्ने अभियान चलाउन नहुने स्थानीय नागरिक पनि बताउँछन् ।

जिल्लाको कुश्मा नगरपालिका, फलेबास नगरपालिका र मोदी गाउँपालिकाले आवादी क्षेत्र आसपासका रुख अभियान नै चलाएर फडानी गरिरहेका छन् । कुस्मा नगरपालिकाले कार्यपालिकाको बैठकबाटै निर्णय गरेर तीन महिनादेखि निजी आवादीका रुख काटीरहेको छ । बस्तीबाट २० मिटर वरपरका रुख कटान गर्नेगरी चलिरहेको यो अभियान वडा नं. ९ कटुवाचौपारीमा पूरा भएर अहिले वडा नं. ११, १२, १३ र १४ मा चलिरहेको छ ।

‘वन्यजन्तुहरुले कृषकलाई हैरान पारेका छन्। खेतबारी र घर वरीपरी नै रुखहरु पाल्दा उत्पादन पनि कम हुँदै गएको छ । यही कारण बस्ती वरपरका रुखहरु काट्न परेको हो ।’ वडा नं १३ का अध्यक्ष जंगबहादुर क्षेत्रीले भने । रुख काट्ने निर्णयबाट कृषकहरुमा खुसीयाली आएको उनको दावी छ । बाँदर नआउने, चितुवा लगायतका जंगली जनावारको आक्रमणको डर समेत कम हुने बिश्वास कृषकमा पनि छ ।

यस्तै, फलेवास नगरपालिकाका विभिन्न वडाका बस्ती र खेतीयोग्य जमिनका झाडी र अनावश्यक रुख फँडानी सुरु गरिएको छ । यो अभियान मोदी गाउँपालिकामा पनि चलिरहेको छ ।

बस्ती नजिकका रुख काट्ने क्रममा वन कार्यालय संग भने सरोकार नै राखिएको छैन् । स्थानिय तहले निर्णय गरेर रुख काटेपनि सार्वजनिक स्थानमा रहेका रुखहरु काटेको पाईमा तुरुन्त कारबाही गर्ने वन डिभिजन कार्यालयले जनाएको छ । नीजि क्षेत्रमा काटीएका रुखहरु ओसारपोसार गरेको वा फर्निचरमा लगेको पाईएमा नियम अनुसार कारबाही गर्ने डिभीजन वन कार्यालयका प्रमुख दधिलाल कँडेलले बताए ।

‘नीजि जग्गामा रहेका रुखहरु बिना अनुमति काट्न पाईन्छ, त्यो नीजि मामला हो । तर ओसार पोसार गरेको वा फर्निचरमा लगेको पाईमा हामीले तुरुन्तै कारबाही गर्ने छौँ ।’ उनले भने। स्थानीय तहले चलाईरहेका अभियानका क्रममा सार्वजनिक स्थलमा काट्नै पर्ने अवस्थाका रुखहरु भएमा रुख कटान अनुमति दिनका लागि निर्माण गरिएको समितिबाट सहमति लिनुपर्ने कंडेलको भनाई छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.