www.tandavnews.com
Fact ~ In search of truth

नाच्न जान्नुपर्छ

– रामकृष्ण ज्ञवाली

ताण्डव न्यूज साप्ताहिक प्रकाशनको एक बर्ष पूरा भएछ । यो समय छिटो हिँडेको हो वा मैले समय हिँडेको पत्तो नपाएको हो ।

अस्ति भर्खर जस्तो लाग्छ, मेरो प्रिय भाइ अर्जुनले समाधान मिडिया प्रालि स्थित मेरो कार्यकक्षमा आएर घोसे मुन्टो लगाउदै राजिनामा पेस गरेको । अर्जुनको राजिनामा मेरा लागि अकस्मात घटेको घटना थियो । न उसले मेरो आँखामा हेर्न सकेको थियो, न मैले उसको ।

Batas

मुश्किलले एक दुई वाक्य बोलेर सम्झाउने प्रयत्न पनि गरे । लामो समय देखिको अन्तरंग भाइलाई म भित्रै देखि चिन्दथे । उ आफ्नो निर्णयबाट नफर्कने कुरामा दृढ भएको अनुभुति गरिहाले । र पनि भने– ‘तिम्रो राजिनामा स्विकृत हुँदैन ।’ आँखाभरी आँशु बनाउदै उ निस्केर गयो । म चुपचाप कुर्सीमा बसिरहें ।

अर्जुन र उसको टिम समाधानमा रहेको भए ताण्डव जन्मने थिएन । ताण्डव नजन्मेको भए एउटा फरक खालको जिम्मेबार पत्रकारिताको अनुभुति पोखरेलीले गर्न पाउने थिएनन् ।

एक बर्षपछि यो लेख लेख्न बस्दै गर्दा मलाई भैरहेको अनुभुती हो यो । कतिपय पत्रिकाहरु बार्गेनिङ गर्ने अस्त्रका रुपमा प्रयोग भैरहेको सन्दर्भमा ताण्डले रवाफिलो इतिहास बनायो । पत्रकारका बिचमा ‘ठोक्ने’ शब्द अलि चल्छ । ताण्डवले ठोक्ने कार्यलाई निरन्तर चलायो तर त्यो ठोकाइको नतिजालाई समाजले सहज ढंगले स्वीकार ग¥यो ।

उसको ठोकाइ स्वार्थ प्रेरित थिएन । समाज सुधारका लागि, समाजमा देखिएका गलत प्रवृतिका विरुद्धमा निस्वार्थ चलाएको कदम भएका कारण आलोचना सुन्नु परेन । यो मेरा लागि निकै सुखद इतिहास हो ।

पत्रकारितामा वामे सर्दै गरेको अवस्थामा समाधानसँग जोडिएको एउटा केटोको सम्पादकत्वमा यति जिम्मेवार साप्ताहिक पत्रिका निस्केला भन्ने मैले सोँचेको थिइन । तर अर्जुन उसको टिमले जुन खालको पत्रकारिता गरेको छ, यसले ताण्डव न्यूज साप्ताहिकको मात्र होइन, समाधान दैनिकको इज्जत बढाएको छ ।

अर्जुन सहितका भाइहरु समाधान मिडिया प्रालिबाट बाहिरिदा उसको र मेरो सम्बन्धका बारेमा पनि बजारमा हल्ला चले । कतिपयले अर्जुनसँग कुनै समारोहमा भेट भएर बोल्दा समेत अचम्म मान्ने गर्थे ।

तर जब उसले पत्रिका प्रकाशन गर्ने निधो गरेपछि पत्रिका छापिदिन मलाई नै आग्रह ग¥यो तब थाहा पाउने कतिपय जिल्ल परे । उसको मन भित्रको हुटहुटीलाई साथ दिनु मेरो दायित्व थियो, कर्तव्य थियो, त्यो मैले पूरा गरेको उहसास भैरहेको छ ।

यद्यपी पत्रिका प्रकाशनको यात्रा कठिन छ । रंगिन कलेबरमा नियमित पत्रिका प्रकाशन गरिरहनु चाने चुने कुरा होइन । पोखरालाई मात्र अध्ययन गर्ने हो भने पनि ठूला–ठूला गुड्डी हाँक्दै निस्किएका कतिपय प्रकाशनको नामो निशाना छैन । ती पत्रिका प्रकाशक वा सम्पादकको चाहनाले बन्द भएका होइनन, आर्थिक कठिनाइका कारण प्रकाशित नभएका हुन ।

बजार सानो छ । विज्ञापनदाताको साँधुरो घेरा छ । पत्रिका किनेर पढ्नु पर्छ भन्ने मानसिकता ज्यादै थोरैमा छ । एक खिल्ली चुरोटलाई २० रुपैयाँ सहजै तिर्न तयार मानिसले हरेक दिन एकजना मान्छे लगाएर उसको घरैमा पत्रिका पु¥याई दिँदा पनि दिनको पाँच रुपैयाँ तिर्न आनाकानी गर्छ । कागजको मूल्य आकाशिदो छ । खर्च बढेको बढ्यै हुन्छ । यस्तो अवस्थामा पत्रिका प्रकाशन निकै चुनौतीपूर्ण कार्य हो । र पनि ताण्डव समूहले जुन आँट उत्साहका साथ कार्य गरिरहेकोछ, यसको कदर गर्नै पर्छ ।

ताण्डव भोलेबाबा शिवजीको बहुचर्चित नृत्य हो । भनिन्छ–शिवले ताण्डव नृत्य गर्न थालेपछि धर्ती काप्थ्यो । त्यही नृत्यबाट प्रभावित टिमले प्रकाशन गरेको ताण्डवले एक बर्ष पूरा गरेको छ ।

ताण्डवको एक बर्षे यात्राले कतिपय समकालिन र कतिपय पुराना पत्रिकाका प्रकाशक सम्पादकहरुलाई गजबको सन्देश दिएको छ – ‘काँडाघारीबीच किन नहोस, नाच्न जान्नु पर्छ, नाच्न सकिन्छ ।’

यो पहिलो बर्ष सुखद रुपमा गर्विलो इतिहास बनाउदै पूरा गरेकोमा ताण्डव न्यूज परिवारलाई हार्दिक बधाई । हजारौं माइलको यात्रको शुभारम्भ पनि पहिलो पाइलाबाटै हुन्छ । पहिलो पाइलो सही ठाउँमा छ । अब सयौं पाइला चाल्नुछ । प्रत्येक पाइलाले आफ्नो पदछाप छोड्न सकुन् ।

शुभकामना ।।

(ज्ञवाली नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हुन् ।)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.