www.tandavnews.com
Fact ~ In search of truth

थर्कटिमा बसेर पढिन्थ्यो

पाेखरा
ताण्डव न्यूज ।

– हरिदेवि कोइराला ( प्राज्ञ/गायिका )

मेरो जन्म पोखरा बैदाममा भयो । रमाइलो ठाउँ बैदाम अहिले लेकसाइको नामले परिचित छ । यस्तो रमाइलो ठाउँमा जन्म लिन पाएकोमा आफूलाई साह्रौ भाग्यमानि सम्झन्छु । ठूलो परिवार भएकाले पनि मेरो बाल्यकाल रमाइलो सँग बित्यो । आज पनि सम्झिदा हाँसो लाग्छ मलाई, आमाको साडीको कपडालाई च्यातेर गुडिया, पुतली बनाई खेलेको । (लामो हाँसो )

Batas

धेरै जसो त्यो समयमा सबैको घरमा फेवातालको पानी खाने चलन थियो । आमाले भने अनुसार ४,५ बर्षको उमेरबाटै म पानी लिन जाने भनेर आमाको पछि लाग्थे रे । मैले देखेको फेवाताल धेरै ठुलो थियो । त्यो समयमा धेरै घरहरु पनि थिएनन् । अहिले त धेरै घर, होटलहरु बने त्यो समयमा धेरै जग्गाहरु बाझा थिए ।

गर्मी समयमा साथिहरु मिलेर फेवातालमा पौडी खेलेको पनि धेरै यादहरु छन् । मंसिरमा साथी–साथी मिलेर कराई खाथ्यौ । कोदो काटेर छोडेको बारीमा बसेर चुल्हो लगाएर कराई पनि थुप्रै खाइयो, सबैको घरबाट थोरै– थोरै चामल,आलु, पीडालु, मसौरा लगेर ५, ६ जना साथी मिलेर रमाइलो गरिन्थ्यो । तर आजभोलि कराईलाई पिकनिङ भनिन्छ, हामीहरुको पालामा त त्यसलाई कराई भनिन्थो ।

मैले सम्झिए अनुसार त्यो बेला हामीले खेल्ने भनेको गोट्टा, एक खुट्टे नै हो । त्यतिखेर अहिलेको जस्तो बाहिर जाने साधन–स्रोत केहि थिएन । गन्र्धव दाईहरु दिनहुँ आउथे, तिनिहरुको सारङ्गी सुन्यो गीत सुनेर नै दिन जान्थ्यो । घरमा ठुलो रेडियो थियो यसमा बजेको गीत सुन्ने गरिन्थ्यो । हाम्रो घरमा एउटा ग्रामो फोन पनि थियो, त्यसमा पनि गीत लगाएर सुन्थ्यौ । यो समयमा बेलुका सबै मिलेर अगेना (चुल्हो) मा आँगो ताप्थ्यौ ।

हजुरबुबा प्रायः सिकार खेल्न जानु हुन्थ्यो । बाघ, भालु, ढुकुर, दुम्सी सिकार गरेर ल्याउनु हुन्थ्यो । हामी बालबच्चा मिलेर ढुकुरको भुत्ला फाल्ने गथ्यौ । घरमा एउटा सुँगा थियो, योसँग पनि मेरो छुट्टै नाता थियो । म कतै गएको बेला त्यस सुँगाले ‘हरि परि कता मरी’ भन्थ्यो । साथीहरु पनि मलाई हरिदेवी नाम भएकाले हरि भनी जिस्काउँथे । यस्तै रमाइलो सम्झनामा मेरो बाल्यअवस्था बित्यो ।

सानोमा म अन्तरमुखी स्वभावको थियो । आफ्नो कुराहरु भरसक कसैलाई पनि भन्न रुचाउँदिन थिएँ । तर आफ्ना साथीहरुसँग खुबै मस्ती गर्नुपर्ने, अरुलाई दुःख दिन खोज्ने मेरो बानी थियो । साथीसँग मिलेर तर्साएको पनि बाल्यकालको सम्झना छ । सेतो सिरकमा सबै साथीहरु बेरिएर बाहिर बसेर हजुरआमाले तर्साएको सम्झँदा आजै होकि जस्तो हुन्छ ।

सानोको बिर्सन नसकिने अर्काे एउटा घटना, फुपुहरुसँग ढुङ्गेसाउको मेला हेर्ने गएको थियो । जाँदा फुपुको हात समातेकै थिए, मान्छेको भीडमा कुन बेला छोडिएछ थाहा भएन, म त छुटेछु । पछि एउटा मान्छेले काधमा राखेर यो कस्को बच्चा हो भन्दै हिडेको मलाई एकदम याद छ । त्यसपछि म ढुङ्गेसाउको मेलामा गइन् ।

स्कुले जीवन

त्यो समयमा ४, ५ बर्षको हुँदा मात्र स्कुल पठाउने गरिन्थ्यो । मेरो घर नजिकै एउटा स्कुल थियो । त्यही स्कुलमा मेरो भर्ना भयो, जुन श्री ताल बाराही स्कुल हो । जहाँ खुल्ला चौर, बर, पिपलको दुईवटा चौतारा थियो । कृष्णा कुमारी पाहारी, लोक राज पाहारी, दुर्गा पाहारी सर म्याडमले मलाई पढाउनु हुन्थ्यो । स्कुलको पाले दाई जसले हामीलाई बोकेर नै पानी खुलाउनु हुन्थ्यो ।

स्कुल सामान्य थियो । अहिलेको जस्तो टेबल कुर्ची केहि थिएन् । थर्कटिमा बसेर पढिन्थ्यो । घरबाट थर्कटि लगेर पढ्नुपथ्यो । त्यस विद्यालयमा मैले कक्षा ५ सम्म पढेको थिएँ ।

त्यसपछि मालेपाटनमा रहेको बाराही स्कुलमा भर्ना भए । त्यस स्कुलमा विद्यार्थीहरुको संख्या पनि निकै राम्रो थियो । त्यो समयमा बाराही स्कुल भनेपछि एकदमै नाम चलेको स्कुल भएकाले पनि म त्यो स्कुलमा भर्ना भए । २०३४ सालको मेरो एसएलसी हो । मेरो पढाई सामान्य थियो । त्यो बेलामा अहिलेको जस्तो ट्युसन पढ्ने चलन हुन्थेन् । स्कुल र घरमा गरेको मिहेनतले एसएलसीमा मैले दोस्रो श्रेणीमा उत्तिर्ण गरे ।

स्कुलमा अतिरिक्त क्रियाकलापहरु खुबै हुने गर्थे । प्रायः जयंन्तीहरुमा हुने प्रतियोगिताहरुमा म सहभागी हुन्थे । मैले त्यो समयमबाटै कविता, गायन दुवै क्षेत्रमा आफूलाई पोख्त बनाउँदै गए । यो समयमा मेरो मनमा एउटै कुरा जहिले पनि खड्किन्थ्यो, पोखरामा नै म भए भने त मेरा गीतहरु मैले सुनाउन पाउँथ्यो, तर विवाह गरेर टाढा जानु प¥यो भने कस्ले सुन्छ ? भनेर सधै पिर पथ्यो । तर मेरो विवाह पोखरामा नै भयो । (लामो हाँसो )

प्रस्तुति : विनिता सुनार

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.