www.tandavnews.com
Fact ~ In search of truth

विप्लवका १७ कार्यकर्ता पक्राउ,कानूनी कारबाही जारी

काठमाडौँ ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ । घोषणअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ जनामाथि कारवाही जारी छ ।

पक्राउ पर्नेमा उक्त समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित रहेका छन् । मुलुकभर नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमाथि सुक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षा सबल र सुदृढ पारिएको सुवेदीले जानकारी दिए ।

सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ । विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारको निष्कर्ष छ ।

गृहमन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ ।

विगतमा चन्दा आतङ्कदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारवाहीका घटनामा उक्त समूह संलग्न रहेको प्रहरीले जनाएको छ । विप्लव समूहले यसअघि विभिन्न क्षेत्रमा बम विष्फोट गराउनेदेखि आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएको थियो ।

गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery