www.tandavnews.com
Fact ~ In search of truth

बेनीका एकै वडामा पाँच सिँचाइ आयोजना

म्याग्दी ।

बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना शुरु भएको छ ।

खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि शुरु गरिएको वडा कार्यालयले जनाएको छ । खेतीयोग्य जमीन बाँझो हुन नदिन र रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सिँचाइ पूर्वाधार तयार पार्न लागिएको वडाध्यक्ष गोविन्द पौडेलले बताए ।

सो कार्यका लागि सुर्केमेलामा १० लाख, सिंगाको कुना तालका लागि नौ लाख, ठूलोखोलाका लागि तीन लाख र तातोपानीका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । सुर्केमेलास्थित म्याग्दी नदी किनारमा पानी सङ्कलनका लागि इनार खन्ने र विद्युतीय उपकरण राख्ने घर पनि निर्माण गरिएको छ ।

कुनातालमा केही दिनमै इनार खन्न शुरु गरिने उपभोक्ता समितिले जनाएको छ । विद्युतीय उपकरणबाट उक्त नदीको पानीलाई तानेर खेतमा बाह्रै महीना सिँचाइ सुविधा उपलब्ध गराइने कुनाताल लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज पौडेलले बताए ।

बास्कुनामा पाँच वर्षदेखि अधुरो बनेको तीन हजार लिटर क्षमताको पोखरी निर्माणलाई पनि पूर्णता दिन लागिएको छ । सुन्तलाको पकेट क्षेत्र बास्कुनामा सिँचाइ सुविधाका लागि २०७१ मा पोखरी निर्माण शुरु भएको थियो ।

नगरपालिकाबाट पाँच लाख र सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिशमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु पाँच लाख विनियोजन भएपछि ती योजनालाई पूर्णता दिन लागिएको उपभोक्ता समितिका अध्यक्ष भीम थापाले बताए ।

पोखरी निर्माणमा स्थानीयवासी लालबहादुर केसीले पाँच लाख सहयोग गरेका छन् । पाँच वर्षअघि बेनी नगरपालिकाको पाँच लाख, वन कार्यालयको ४५ हजार, भू–संरक्षण कार्यालयको ५० हजार र थामडाँडा सामुदायिक वन उपभोक्ता समूहको ५० हजारसहित अन्य निकालयको १२ लाख रुपैयाँ सहयोगमा पोखरी खनिएको थियो ।

सत्र मिटर लम्बाइ, आठ मिटर चौडाइ र दुई मिटर गहिराइ भएको सो पोखरी निर्माणको अन्तिम चरणमा पुगेको छ । अबको एक महीनाभित्र प्रयोगमा ल्याउने तयारी गरिएको यो पोखरीबाट बास्कुनाका ४१ घरधुरी लाभान्वित हुने स्थानीयवासी शेरबहादुर केसीले बताए । “पाँच सय रोपनीभन्दा बढी सुन्तला बगैँचामा सिँचाइ सुविधा पुग्छ”, केसीले भने, “छहरेखोलाको पानी पोखरीमा सङ्कलन गरेर बगैँचामा सिँचाइ गर्न लागिएको हो ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.