www.tandavnews.com
Fact ~ In search of truth

पर्यटनमा पोखराको गति सुस्त

– सन्तोष पोखरेल

पोखरामा विदेशी पर्यटकको आगमन हुन थालेको झन्डै पाँचदशक बितेको छ । हातको औंलामा गन्न सकिने सिमित विदेशी पाहुना सुरुमा आउँथे । पाँचदशक अवधिमा त्यो संख्या बढेर वार्षिक झन्डै चारलाख पुगेको अनुमान छ ।

नेपालमै सन् २०१८ को तथ्यांक हेर्दा ११ लाख विदेशी पाहुना भित्रिएका छन् । हवाइजहाजबाट नेपाल भित्रिएका ती विदेशी पाहुनामध्ये झन्डै ४० प्रतिशत पोखरा आउने अनुमान छ ।

Batas

संख्यात्मक रुपमा हेर्दा वर्षमा चारलाख पर्यटक धेरै देखिन सक्छ, तर, पाँचदशक अवधिमा भित्रिएको यो संख्या व्यवसायिका लागि उत्तिसारो हौसाउने आकारको भने पक्कै पनि छैन । किनकी पाँचदशक अवधिमा अन्य मुलुकले पर्यटनमा निकै नै फड्को मारिसकेका छन् ।

छिमेकी मुलुक भारतको उदाहरण हेर्ने हो भने पर्यटनमा भारतले निकै नै फड्को मारेको छ । भारतको उत्तरप्रदेशमा मात्र अघिल्लो वर्ष ३५ लाख भन्दा बढी विदेशी पाहुना आएका थिए ।

पश्चिम बंगालमा झन्डै १६ लाख र विहारमा झन्डै ११ लाख विदेशी पाहुना भित्रिएका छन् । नेपालको आकारलाई तुलना गर्दा अहिले हाम्रो मुलुकमा भित्रिएका विदेशी पाहुना जति त भारतको विहारमा मात्र वर्षेनी भित्रिएको देखिन्छ ।

अर्काे मुलुक चीनसँगको नेपालको सामिप्यता हेर्ने हो भने पनि अनौठो छ । वर्षमा १३ करोड भन्दा बढी चिनियाँ पर्यटक विभिन्न देशमा घुम्न निस्कन्छन । ती मध्ये झन्डै डेढलाख चिनियाँ मात्र नेपाल भित्रएको तथ्यांक छ ।

त्यत्ति धेरै चिनियाँ घुम्न निस्कने भएपनि छिमेकी मुलुकको नाताले नेपालले पाएको हिस्सा निकै नै सानो आकारको छ । अब यसबारेमा पनि सरकार र पर्यटन क्षेत्रले सोच्ने बेला भएको छ ।

पोखराका व्यावसायी पर्यटक भित्रयाउने भनेर बेलाबेला छिमेकी मुलुक भारतमा प्रवद्र्धनका कार्यक्रम लिएर जान्छन । त्यही प्रवद्र्धनको प्रभावले पछिल्लो समय भारतीयको नेपाल आगमन बढेको व्यावसायी दावी समेत गर्दै आएका छन् । तर कति संख्यामा भारतीय पर्यटक नेपाल आउँछन भन्ने यकिन तथ्यांक कतै छैन ।

अनुमानका भरमा मात्र वर्षमा झन्डै १० लाख भारतीय नेपाल आउने अनुमान छ । खुला सिमाका कारण आउजाउमा कुनै रोकावट नहुँदा नेपाल भित्रिएका भारतीय नागरिकमध्ये वास्तविक पर्यटक कति हुन भनेर खुटयाउने आधार कतै छैन । किनकी नेपालका पर्यटकीय गन्तव्यमा आउजाउ गर्ने भारतीयको तथ्यांक छैन । अहिलेसम्म बताउने गरिएको तथ्यांक भारतीयका लागि अनुमानमा मात्र आधारित रहेको छ ।

नेपालसँग प्राकृतिक, धार्मिक, सांस्कृतिक, भौगोलिक सम्पन्नता छ । त्यससँगै नेपाली नागरिकसँग मिठो आतित्यथा पनि छ । नेपाल आएका जो कोही विदेशी पर्यटक नेपालीको आतिथ्यतासँग लोभिन्छन । प्राकृतिक रुपमा साहसिक, सुन्दर गन्तव्यको पहिचान पनि नेपालले बनाएको छ । अनि मिठो स्वागत सत्कारले पनि विदेशीलाई लोभ्याएको छ । यति हुँदाहुँदै पनि नेपालमा विदेशी पाहुना किन कम आउँछन् त?

नेपालमा विदेशी पाहुना कम आउनुको मुल कारण हामीसँग प्रयाप्त पुर्वाधार छैन । अहिलेसम्म विदेशी नागरिक भित्रिने एकमात्र मुल नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । विमानस्थलको व्यथा आफैसँग छ । घन्टौ उडेर आएका पाहुनाको नेपालको आकाशमा भित्रिएपछि बेलैमा अवतरण गर्न पाउँदैनन ।

नेपालको आकाशमा हवाई ट्राफिक जामले विदेशीलाई दिक्क बनाउँछ । जसोतसो जहाजबाट ओर्लेपछि आफ्नो सामान समेत सहज लिन सकिन्न । यत्तिमात्र होईन, सहजै नेपाल भित्रिने गरि काठमाडौंलाई अन्तर्राष्ट्रिय सहर जोड्ने सिधा हवाई सञ्जाल पनि निकै नै कमजोर छ । अधिक विदेशी भारत हुँदै नेपाल भित्रिनुपर्छ ।

नेपाललाई सिधै अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउने गरि राष्ट्रिय ध्वजाबाहकको उपस्थिति निकै नै कमजोर छ । पहुँच र दुख त छँदैछ, नेपालसम्मको हवाई यात्रा पनि निकै नै महंगो रहेकोले पनि आगमनमा असर पारिरहेको व्यावसायी बताउँछन्

जसोतसो कठिनाइका बाबजुत भित्रिएका पर्यटकलाई पनि हाम्रो मुलुकमा हिँडडुलमा समस्या छ । काठमाडौंबाट बाहिरिएपछि पोखरासम्मको गन्तव्य पनि उत्ति सहज छैन । काठमाडौंको खाडलबाट उम्किनै सकस छ । जसोतसो खाडलबाट उम्किन सकियो भने पनि गन्तव्यसम्म पुग्न सडकमा समस्या छ ।

पोखराका लागि मात्र नभई अन्य पर्यटकीय सहर, चितवन, लुम्बिनीसम्म पुग्न पनि उस्तै सास्ती छ । सुविधासम्पन्न सवारीको अभाव छ । बाटोमा खाने र बस्ने ठाउँको पनि उस्तै अभाव छ । जसोतसो गन्तव्यमा पुगेका पाहुनाका लागि पर्यटकीय सहरमा खासै आकर्षक गतिविधि छैनन् ।

हालैमात्र हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पोखरालाई इंगित गर्दै केहीसमय अघि यो पंक्तिकारसँग भनेका थिए, ‘पोखरा अहिले बसीबसी खाएको सहर हो । अब पनि पोखराले सुधार नगर्ने हो भने आगामि २० वर्षपछि अरु सहरले पोखरालाई उछिन्नेछन् ।

मुलुकको मुख्य पर्यटकीय गन्तव्यको रुपमा चिनिएको पोखराले त्यो बेला पछुतो मान्नुपर्ने अवस्था आउने उनले बताएका थिए । अधिकारीको चिन्तालाई गहन रुपमा अध्ययन गर्ने हो भने मुख्य पर्यटकीय सहर पोखराले पुर्वाधारमा निकै नै कमजोर गति लिएको छ । निजी क्षेत्रले पर्यटनमै भविश्य देखेर पूर्वाधारमा ठूलो लगानी गरेका छन । तर, त्यो लगानी सुरक्षित गर्नेगरि पर्यटक भित्रयाउने उपायबारे पोखरा आफैमा पनि मौन छ ।

अबको एकवर्षमा लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ । त्यसपछि लुम्बिनीले सिधै पाहुनालाई त्यहाँ भित्रयाउने छ । विमानस्थल चलेपछि लुम्बिनीले त फाइदा पाउने छ नै त्यसको नजिक बढीमा तीनघण्टामा पुगिने चितवनले पनि विमानस्थलबाट फाइदा लिनेछ । तर, पोखरा ? पोखरालाई न त सडकले सहज रुपमा लुम्बिनी जोड्न न त हवाई सेवा पनि प्रयाप्त छ ।

दैनिक जसोतसो भइरहेको पोखरा–भैरहवा रुटको एकमात्र उडानले पर्यटनमा उतारचढाव ल्याउन सक्दैन । त्यसैले सुविधासम्पन्न सवारी संचालन गरेर पोखरा र लुम्बिनीलाई पर्यटनमा जोड्न सक्नुपर्छ । त्यसका लागि अहिले निकै नै कमजोर अभ्यास भइरहेको छ । यो गतिमा निर्भर रहने हे भने पोखरा र लुम्बिनी जोडिन सहज हुनेछैन ।

योपटक दशैंताका दैनिक झन्डै ४ हजार आन्तरिक पाहुना मुस्ताङ पुगे । केहीवर्षअघिसम्म अधिक नेपाली पाहुना पोखरामा अडिन्थे । तर यो पटक ती पाहुना गन्तव्य बदलेर हिमाली जिल्ला मुस्ताङ उक्लिए । अहिले पोखरालाई जोमसोम जोड्ने सडक स्तरोन्नतीका काम भईरहेको छ । अबको दुईवर्षभित्र सडक पूरा भएर मुस्ताङले अझ बढी पाहुनालाई सहजै जोमसोमसम्म उकाल्नेछ ।

त्यतिबेला पनि पोखराले पाहुनाको अभाव खेप्नेछ । त्यत्तिमात्र होईन, अहिले विभिन्न पर्यटकीय क्षेत्रसम्म सिधा मोटर चल्न थालेको छ । मोटर चल्न थालेपछि कुनै माध्यमबाट पोखरा आइपुगेका पाहुना त्यही दिन वा भोलिपल्ट मोटर चढेर ती गाउँसम्म पुग्छन र धित मरुन्जेल घुमेर फर्किन्छन ।

त्यसको स्वतःघाटा पोखरालाई पर्नेछ किनकी पाहुना सिधै गन्तव्यसम्म पुग्ने र सिधै राजधानी फर्किनेछन वा पोखराले एकरात पाहुना पाउनेछ । यस अर्थमा पोखराले पाहुना अड्याउन सकेको छैन ।

अबको विकल्प के त ? पोखराले पर्यटन पुर्वाधारमा पटक्कै प्रगति गर्न सकेन । विदेशी पाहुना यहाँँका अग्ला भवनमा बास बस्न आउने पक्कै होईनन । किनकी हाम्रा भन्दा अग्ला र सुविधासम्पन्न भवन उनीहरुकै मुलुकमा छन् । तर, यहाँको जस्तो हिमाली श्रृंखलाको मज्जा, यहाँका जस्ता साहिसक र आकर्षक पर्यटकीय पदमार्ग उनीहरुका मुलुकमा छैनन ।

त्यही भएर त नेपाल आएका मध्ये करिब ७० प्रतिशत पाहुना पदयात्राका लागि आउने गरेको अनुभव छ । यत्तिधेरै विदेशी पाहुनाले मन पराएको पदमार्ग पछिल्लो समय मोटरबाटोले ध्वस्त हुँदै गएको छ ।

पर्यटनका लागि बचाउन सकिने आधारको रुपमा रहेको पदमार्गको आयु दिनदिनै घटिरहेको छ । हिजो खुला र स्वच्छ हावा पाइने पदयात्रा क्षेत्र अहिले प्रदुषणयुक्त बनिसकेका छन । त्यत्ति मात्र होइन, पदयात्राकोे अवधि पनि घटेको छ ।

सबैभन्दा ठूलो कमजोरी त यहाँका व्यवसायीले विदेशी पाहुनालाई नेपाल र पोखरा किन आउने भनेर भन्न सकेका छैनन् । पोखरामा हामीले दिने आतिथ्यता बाहेक अरु केही छैन । पोखरा र आसपासका गन्तव्य एकदिनमा घुमेर सकिन्छ । पाहुना भुलाउने अहिले जे जति गन्तव्य छन्, यिनै गन्तव्यका भरमा लाखौं पाहुनाको आशा गर्ने हो हामी सपनामा मात्र हुनेछौ ।

त्यसैले पर्यटकलाई घुम्ने र घुमाउने, अनि भुलाउने र खर्च गराउने आधार हामीले बनाइदिने हो । अहिले पोखरा आएका विदेशी पाहुनाले दैनिक करिब ५३ अमेरिकी डलर खर्च गर्ने अनुमान छ । खर्च गर्ने ठाउँ नहुँदा पाहुनाले ल्याएको पैसा आफै फर्काएर लैजान बाध्य छन् ।

अबको विकल्प भनेको जसरी हुन्छ नेपाल भित्रयाउन पहल गर्नुपर्छ । भित्रिएका पाहुनाको बसाई अवधि बढाउन सक्ने गतिविधि दिलाउनुपर्छ । विकास निर्माण गर्दा पनि पर्यटनलाई सन्तुलनमा राखिदिनु राम्रो हुन्छ । त्यस्तै अहिलेसम्म सबैभन्दा बढी कन्जुस्याँइ प्रचारप्रसारमा भएको छ ।

अब सरकारको मात्र मुख नताकि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि पोखराले प्रचार गर्न सक्छ । त्यसबाहेक नेपालबारे फैलिएका नकारात्मक सन्देशलाईे चिर्नेगरि पोखराले सन्देश दिलाउन सक्ने र आकर्षक प्याकेज प्र्रस्तुत गर्न सक्ने हो भने पोखराले पक्कै पर्यटक पाउनेछ ।

नत्र पाँचदशक अवधिको अहिलेको आगमनलाई बढाउन उत्ति सहज हुने छैन् ।

(पोखरेल नागरिक दैनिकको गण्डकी प्रदेश ब्युरोचिफ हुन् ।)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.