www.tandavnews.com
Fact ~ In search of truth

डेढ महीनादेखि ठप्प बाटो स्थानीयको श्रमदानले खुल्यो

गलेश्वर ।

हिमपातका कारण डेढ महीनादेखि ठप्प रहेको गुर्जा जाने बाटो स्थानीयले हिउँ पन्छाएर खुलाएका छन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ, देउराली, लट्बाङ हुँदै गुर्जा पुग्ने पैदलमार्गमा करीब दुई फिट जमेको हिउँलाई पन्छाएर बाटो खुला गरिएको धौलागिरि गाउँपालिकाका प्रवक्ता तथा गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

Batas

“करीब डेढ महीनादेखि पटकपटक हिउँ परेपछि बाटो अवरुद्ध भएको थियो ।”, छन्त्यालले भने, “पैदलयात्री, खाद्यान्न ढुवानी र खच्चड आवतजावत गर्न समस्या भएपछि स्थानीयले दुई दिनसम्म श्रमदान गरेर बाटो खुलाएका हौँ ।”

हिउँ पन्छाएर बाटो खुलाएपछि पैदलमार्गमा अब कुनै समस्या नरहेको उनले बताए । लुलाङ र गुर्जाको सिमानामा पर्ने देउरालीमा करीब चार फिट हिउँ जमेर हिँड्न नसक्ने भएपछि स्थानीयले वैकल्पिक मार्ग बनाएका थिए तर, त्यो मार्ग पनि जोखिमयुक्त भएपछि बन्द गरिएको थियो ।

चट्टानजस्तै हिउँ नपग्लिँदा गुर्जाबाट गाउँपालिकाको केन्द्र हुँदै सदरमुकाम बेनी आउने स्थानीयले गुर्जाबाट मुदीको अर्चे हुँदै मुनातर्फ जाने गरे पनि सो बाटा पनि अत्यन्त जोखिमपूर्ण रहेकाले समस्या भएको थियो । गुर्जामा एउटै बस्तीमा करीब ३०० घरधुरीको बसोबास रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.