www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा नामका युवराजको अवैध साम्राज्य भत्किँदा

पोखरा
ताण्डव न्यूज । |

हामी त्यहाँ पुग्दा जात्रा लागेजस्तै देखिन्थ्यो । २ सय हाराहारी मान्छेका हुल जम्मा भएको थियो । मान्छे पिच्छेका तर्क थिएँ त्यहाँ । पोखरा ५ बाँसबारी सिमाना मार्गमा सोमबार देखिएको त्यो दृश्यले सबैको ध्यान तान्यो । धादिङका युवराज खतिवडाले सार्वजनिक जग्गा मिचेर बनाएको घर पोखरा महानगरले भत्काउने तयारी गर्दै गर्दा देखिएको दृश्य हाँसो लाग्दो थियो ।

घर भत्काउन प्रहरी सहित महानगरको टोली डोजर बोकेर आउँदै छ भन्ने सूचना पाएपछि युवराजले आफ्नो घर अगाडि एउटा ट्याक्टर, प्राइभेट कार र २ वटा स्कुटर तेस्र्याएका थिए । त्यति मात्रै हैन काममा अवरोध पु¥याउन युवराज खतिवडाको पक्षमा छातीमा गोली हान तर, घर नभत्का भन्दै केही महिलाहरुले बबाल मच्चाउँदै थिएँ । ‘युवराजको मात्रै हैन अरुको पनि भत्काउन पर्छ,’ भन्दै ४÷५ जना महिला डोजरको मुखमा सुत्नसमेत भ्याए । पूर्व तयारी कमजोर भएकाले जनप्रतिनिधि, प्रहरी र नागरिकको टोलीले अवरोध पु¥याउने महिलाहरुलाई सजिलै तर्काउन सकेनन् ।

Batas

मान्छेको हुल बढ्दै गएपछि जनप्रतिनिधि थप प्रहरी बल गुहार्न बाध्य भएको थियो । महागर प्रहरी बाहेक सईको कमाण्डमा आएका प्रहरीले आँट्न नसकेपछि दोस्रो चरणमा २ गाडी प्रहरी सहित बैदामका डिएसपी कोमल शाह नै त्यहाँ आइपुगे । डिएसपीले जनप्रतिनिधि र युवराजलाई एकातिर बोलाएर छलफल गरे । छलफलमा युवराजले ३ दिनको समय माग गरे । तर, पटक पटक आफैँ भत्काउँछु भन्दै सहमति गरेर समय मात्रै थप्ने काम गरेको पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले सुनाए ।

युवराजले आफ्नो मुद्दा अदालतमा विचाराधिन रहेको भन्दै भत्काउन आलटाल गर्दै थिए । त्यत्तिकैमा नागरिक समाजका अभियान्ता रामबहादुर पौडेलले सार्वजनिक जग्गा नै कब्जा गरेर बनाइएको घर भत्काउन अरु कुनै प्रमाण नचाहिने भन्दै थिए । यता युवराजको पक्षमा उभिएका महिलाहरुले फेरि ३ दिनको समय दिनुपर्छ भन्दै नाराबाजी लगाउनसमेत भ्याए ।

त्यत्तिकैमा दाहिने पट्टी बसेको समूहबाट १ जना कालो चस्मा र कोट लगायतका व्यक्तिले आफ्नो साथीसँग यसै विषयमा कुरा गर्दै थिए । ‘जो चोर उसैको ठूलो स्वर,’ उनले भन्दै थिए, ‘यत्रो मापदण्ड मिचेर घर बनाएको छ । जनप्रतिनिधि र प्रहरीको अगाडि उहि नै कानुनको कुरा गर्छ । मान्छेका फेला नपरेर हो । कहाँ धादिङको मान्छे आएर अहिले यस ठाउँमा समाजलाई टुक्राउने काम गर्दैछ ।’
‘उसले मात्रै सार्वजनिक जग्गा मिचेको होर ? १ सय २० घरले यहाँ सार्वजनिक जग्गा मिचेर घर बनाएका छन्,’ फेरि युवराजको पक्षका एक व्यक्तिले बोले ।

‘त्यो त होला । तर, घरको २ तिहाई नै सार्वजनिक जग्गा ओगटेर युवराजले घर बनाएको छ’ १ व्यक्तिले भन्दै थिए ।
कुरा हुँदाहुँदै प्रहरीले युवराजको घर अगाडि रहेको मान्छेको हुल तर्काउन थाल्यो । त्यसपछि डोजरको मुखमा सुतेका ४÷५ जना महिलाहरुलाई नियन्त्रणमा लिएर प्रहरीकै भ्यानमा हाल्यो । हुल तर्किएपछि महानगरको डोजर लगाएर युवराजको घर भत्काउने काम सुरु भयो । युवराजले घर भत्काउने सुइँको पहिले नै पाएपछि सामानहरु पन्छाइसकेका थिए । त्यहाँका स्थानीयका अनुसार युवराजको पक्षमा आएका महिलामध्ये केहिका घर पनि मापदण्ड विपरीत छन् । भने, केही जनप्रतिनिधिसँग रुष्ट भएका कारणले आएका हुन् ।

हेर्नुस भिडियाे 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.