www.tandavnews.com
Fact ~ In search of truth

खेलमैदानसहित पार्क बनाउन स्थानियले दिए जग्गादान

दमौली ।
तनहुँको भिमाद नगरपालिका–९ निवासी दिलबहादुर थापाले सोही वडाको पाथर्दी गाउँलाई तीन रोपनी ९ आना जग्गा दान गरेका छन् ।खेलमैदानसहित पार्क निर्माणका लागि थापाले करीब १० लाख रुपैयाँ बराबरको जग्गा खरीद गरी पाथर्दी गाउँलाई दान गरेका हुन्।

काठमाडौँमा अपार्टमेन्टको व्यवसाय गरेका उनले आफ्नो गाउँको विकासका लागि खेलमैदान बनाउन जग्गा सहयोग गरेको बताए । उनले भने, “पाथर्दी गाउँमा पर्यटक आकर्षित गर्ने उद्देश्यसहित खेलमैदान र पार्क निर्माण गर्ने लक्ष्य राखिएको रहेछ । सोही लक्ष्यलाई पूरा गर्न मैले जग्गा सहयोग गरेको हूँ ।”

पाथर्दी गाउँमा पर्यटक भित्र्याउने उद्देश्यसहित घरबाससमेत सञ्चालन भइसकेको छ । गाउँपालिकाको ९ नं वडा गण्डकी प्रदेश सरकारले छनोट गरेको मुख्यमन्त्री नमूना कृषिगाउँको रूपमा समेत छनोट भएको छ । पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले आफ्नो गाउँको विकासका लागि थापाले गरेको सहयोग उदाहरणीय रहेको बताए ।

उनका अनुसार उक्त जग्गामा टेबलटेनिस, भलिबल, फुटसललगायतका खेल खेल्न मिल्ने संरचना बनाउने लक्ष्य राखिएको छ । साथै गाउँमा आउने पर्यटकलाई भुलाइराख्न व्यवस्थित पार्क निर्माणको योजनासमेत बनाइएको छ । उनले भने, “यस गाउँमा आउने पर्यटकलाई लक्षित गरी पार्कसहितको खेलमैदानको योजना अगाडि सारेका छौँ ।”

वडाध्यक्ष इमान थापाले खेलमैदानसहितको पार्क निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिने बताए । उनले भने, “स्थानीयवासीको लगानीमा यति ठूलो योजना सम्पन्न गर्न सम्भव छैन, त्यसैले प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गर्ने तयारीमा छौँ ।” रासस

फाइल तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.