www.tandavnews.com
Fact ~ In search of truth

गण्डक जलविद्युत् केन्द्रमा विद्युत उत्पादन कम

नवलपरासी ।

पश्चिम नवलपरासीको सूर्यपूरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा वर्षौदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा अहिले ३ दशमलब ५ मेगावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।
केन्द्रमा जडित तीन वटा टरवाइनमध्ये त्यसमा जडित उपकरण र मेसीनरीका समान पुरानो हुँदै जानुका साथै हाल दुई वटा बिग्रिएर पूर्ण रुपमा थन्किएका छन् भने एउटा मात्रै २ नं टरवाइन सञ्चालनमा रहेको छ । करिब १० देखि १२ वर्ष अघिबाट थन्किएका टरवाइन नं। १ का मर्मत सम्भार नहुनु र टरवाइन न। ३ दुई महीनादेखि बिग्रेको केन्द्रका प्रमुख कपिलदेव मान्जनले बताए ।

बाँकी सञ्चालन रहेको एउटा टरवाइनसमेत जिर्ण अवस्थामा रहेको छ । भारतीय गण्डक नहरमा प्रयाप्त पानी नहँुदा सो टरवाइनले समेत लक्ष्यअनुसारले विद्युत् उत्पादन गर्न सकेको छैन । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग निहित छ । केन्द्रमा आवश्यक पर्ने पानी गण्डक नहरमा नहुनु र नहरमा भएको बालुवा सफाइ नहुँदा एउटा टरवाइनले पनि क्षमताअनुसार विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ ।

केन्द्रमा एउटा टरवाइनका लागि नहरमा चार हजार क्युसेक पानी आवश्यक भए पनि आवश्यकताअनुसार पानी नहुनु र नहरमा हेड मर्मत नहुदाँ अहिले सञ्चालनमा रहेको एउटा टरवाइनबाट समेत पूर्ण रुपमा उत्पादन हुन नसकेको केन्द्रका प्रमुख मान्जनले बताए ।

करीब ४० वर्षदेखि जडान भएका केन्द्रका अधिकाशं उपकरणहरु पुराना रहेका छन् । केन्द्रलाई पूर्ण क्षमताअनुसार सञ्चालनमा ल्याउन वृहत मर्मत सम्भार योजना आवश्यक रहेको बताइएको छ । पुरानो प्रविधिका मेसिनरीका स्थानमा नयाँ मेसिनरी उपकरण जडान गरी क्षमताअनुसार उत्पादन दिन सकिने अवस्था रहेको केन्द्रले जनाएको छ ।

दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन करीब एक अर्ब बराबरको आर्थिक लगानी हुन आवश्यक देखिएको केन्द्रका प्रमुख मान्जनले जानकारी दिए । सो केन्द्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेका बताइएको छ ।
केन्द्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीहरुले पटकपटक सरकारसँग माग गरेको भए पनि सरकारी निकाय पूर्ण सकारात्मक नदेखिएको तिवारीले जानकारी दिए । केन्द्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन लाग्ने सबै आर्थिक रकम दिन निजी क्षेत्र तयार रहेको उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए।

उक्त केन्द्रमा रहेको सवस्टेशनमार्फत विद्युत् भारतको रामनगरमा आयात निर्यात हुने तथा १३२ केभीमा बुटवल र ३३ एवं ११ केभीमा बिजुली परासी क्षेत्रमा वितरण गरिँदै आएको छ । उक्त विद्युत् गृह सन् १९७९ मा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको थियो ।

भारत र नेपालको सम्झौताअनुसार पावर हाउस सन् १९८१ मा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको उक्त विद्युत् केन्द्रका अधिकांश भवनहरु र संचरना तथा मेसिनरी उपकरण जिर्ण भइसकेका छन् । केन्द्रमा हाल ४४ जना कर्मचारी कार्यरत छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.