www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका ११ मासु पसल मापदण्डविपरीत

पर्वत ।

छिमेकी जिल्लामा बर्डफ्लुको सङ्क्रमण भेटिएसँगै प्रायगरी बन्द जस्तै भएका मादी गाउँपालिकाका मासु पसलको अनुगमन गरिएको छ । गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा स्थानीय पातीचौर बजार र डिमुवाबजारका मासु पसल अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा कुनै पनि पसल मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । बाह्र पसल अनुगमन गरिएकामा धौलागिरि फ्रेस हाउसबाहेक अन्य ११ वटा पसल मापदण्ड नै नपुर्याइ सञ्चालन गरेको पाइएको पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए ।

उनले मापदण्ड नपुर्याइकन सञ्चालन भएका पसल सञ्चालकलाई सुधार गर्न एक साताको समय दिइएको बताए । एक साताभित्र पनि मापदण्डअनुसारको पूर्वाधार निर्माण नगरे स्वतः पसल बन्द गरिने छन् । त्यस्तै स्थानीय सञ्जीवनी सहकारीले सञ्चालन गरेको दाना पसलमा ७० बोरा कुखुराको दाना म्याद नाघेको पाइएको छ । म्याद नाघेको दाना पनि कम्पनीमै फिर्ता गर्न एक साताका लागि समय दिइएको र उक्त समयसम्म पनि फिर्ता नगरिए नष्ट गरिने सापकोटाले जानकारी दिए ।

अनुगमनमा पशु सेवा शाखाका प्रमुख सापकोटा सँगै गाउँपालिकाका कर्मचारी प्रकाशचन्द्र सुवेदी, स्थानीय प्रहरी चौकीका यामबहादुर खड्का, कमल विक, निशान केसी लगायतको टोली सहभागी भएको थियो । मोदीका डिमुवा र पातीचौरका पसललाई लामो समयदेखि मापदण्ड सुधारका लागि चेतावनी दिँदै आए पनि अटेर गरेको पाइएको छ । उनीहरुले मापदण्डअनुसार निर्माण नगरी नागरिकको स्वास्थ्यमा खेलबाड गर्दै आएको पाइएकाले अहिले अन्तिमपटक निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ ।

पूर्वाधारको कमीसँगै बिनादर्ता सञ्चालनमा आएका पसललाई पनि तत्काल सम्बन्धित ठाउँमा दर्ता हुन आग्रह गरिएको छ । धौलागिरिको प्रवेशद्वारका रुपमा रहेका डिमुवा क्षेत्रमा छिमेकी जिल्लाबाट बर्डफ्लु छिटो भित्रिन सक्ने भन्दै पछिल्लो समय निगरानी बढाइएको स्थानीय पत्रकार समीर मल्लले जानकारी दिए । यस क्षेत्रमा विगत एक सातादेखि कुुखुरालगायत पक्षी आयातमा रोकसमेत लगाइएको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.