
विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।
मिस नेपाल वल्र्ड २०१८ की श्रृंखला खतिवडा अहिले सबै नेपालीहरुको ढुकढुकी बनेकी छिन् । नेपालको मान सम्मान साथै गरिमालाई विश्व सामु चिनाउने सफल नारी हुन् श्रृंखला । उनीमा भएको आत्मविश्वास, सुन्दरता र बौद्धिकताले पनि श्रृंखला सबैको मनमा बस्न सफल भएकी छिन् ।
पछिल्लो समयमा मिस नेपालमा धेरै प्रतिस्पर्धीहरु आएपनि श्रृंखलाले जस्तो माया र सपोर्ट भने कमैले पाएका थिए । मिस नेपाल देखि मिस वल्र्ड सम्मको यात्रामा सम्पूर्ण नेपालीहरुले गरेको माया र सपोर्टलाई श्रृखला सधै सम्झन चाहन्छिन् ।

मिस नेपाल भन्दा पनि मिस वल्र्डमा गएर नेपालको नाम राख्ने आत्मविश्वास बढाएकी श्रृंखलाले सम्पूर्ण नेपालीको मायाले त्यो स्थान सम्म पुग्ने हौसला बढेको अनुभव गरिन् । उनले जितेको ब्युटि अफ प्रपोज तथा मल्टी मिडिया अवार्डले आज अन्तर्राष्ट्रियस्तर सम्म नेपाललाई चिनाएको छ ।
मिस नेपाल वल्र्डको यात्रा
हेटौंडामा जन्मिएकी श्रृंखलाले पुलचोक इन्जिनियर कलेजबाट इन्जिनियर बिषयमा अध्ययनरत गरिन् । इन्जिनियरमा उत्कृष्ट विद्यार्थी समेत रहेकी श्रृखलाले मिस नेपाल वल्र्ड २०१८ को ताज हात पारिन् । मिस नेपाल देखि मिस वल्र्डसम्ममा यात्रामा श्रृखलाको उपस्थितिले माहोल मात्र तताएन केही हुन्छ की भन्ने संकेत पनि देखायो ।
सुन्दरता र बौद्धिक क्षमता भएकी श्रृंखलाले कयांै प्रतिस्पर्धीहरुलाई अचम्मित बनाएकी थिइन् । उनको लक्ष्य र मिस वल्र्ड प्रतिको आत्मविश्वासले श्रृंखलाले सारा नेपालीको मन जित्न सफल भइन् । त्यसकारण पनि अन्य प्रतिस्पर्धीको तुलनामा उनले राम्रो भोट ल्याउन पनि सफल भएकी थिइन् ।
मिस नेपाल सँगै मिस वल्र्डको यात्रा तय गरेसकेकी श्रृंखलाले मिस नेपाल र मिस वल्र्डमा यति धेरै फरक नभएको बताउँछिन् । ‘मिस नेपाल भनेपछि नेपाल बीच रहेको कम्पिटिसन हो, मिस वल्र्डमा नेपालको रिप्रिजनटेसन भएर नेपालको चेली भएर गएकी थिए,’ उनले भनिन् ।
मिस वल्र्डको कम्पिटिसनलाई कतिको टफ भनेर मुल्यांकन गर्दा आफूलाई धेरै फरक नलागेको उनले सुनाइन् । ‘मिस वल्र्डमा जाँदा सम्म मिस नेपालको अनुभवले सजिलो भयो,’ उनले भनिन्, ‘तर दुवै प्रतियोगिताको आफ्नै–आफ्नै मौलिकता रहेको छ ।’
मिस नेपाल मात्र नभई सबै मानिसहरुमा आत्मविश्वास, सहनशिल र सबैलाई माया गर्ने खुबी हुनुपर्ने श्रृंखला सुझाउँछिन् । ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको इच्छा शक्ति हुनुपर्छ, भीडबाट अलग हुने खालको पर्सनालिटि डेभलभ गर्नुपर्छ,’ उनले भनिन् ।
मिस नेपालमा व्युटि र ब्रेनमा ‘ब्रेन’ आवश्यक रहने श्रृखलाले सुनाइन् । ‘ब्युटि भनेको कसैको क्याट्रब्युस हो, ग्रुमिङ पछि सबै जना फिजिकल्लि पनि आकर्षक देखिन सकिन्छ, आात्मविश्वास भएपछि ओठमा हासो बाकेर हिँडेपनि सबैलाई राम्रो देखिन्छ,’ उनले भनिन् ।
पोलिटिकल ट्याग
खुट्टा तान्ने प्रवृति अझै पनि हाम्रो समाजबाट हटेको छैन । मिस नेपाल वल्र्डको उपाधिलाई पनि त्यसको प्रभाव परेको थियो । मिस नेपाल वल्र्ड २०१८ को ताज जितेकी श्रृंखला खतिवडालाई पोलिटिकल सपोर्टको ट्याग लागको थियो ।
प्रदेश नं ३ का सांसद विरोध खतिवडा र मुनु खतिवडाको छोरी भएकाले उनलाई यस्तो आरेप लागेको हो । पोलिटिकल पारिवारिक श्रृंखला मिस नेपाल जित्नुमा कतै पोलिटिकल सपोर्ट त थिएन भनी थुप्रै चर्चाको पात्र बनेकी थिइन् ।
परिवार राजनितिमा सक्रिय भएपनि मिस नेपालको टाइटल हात पार्नुमा राजनीतिको कुनै सपोर्ट नरहेको श्रृंखला बताउँछिन् । ‘मिस नेपाल जित्दा सम्म मेरो परिवारको ब्यागग्राउड कसैलाई थाहा थिएन,’ उनले भनिन्, ‘जब टाइटल हात प¥यो परिवारको बारेमा खोतल्दै जाँदा सबैले थाहा पाउनुभयो ।’
श्रृंखला अहिले सम्म कुनै पोलिटिकल पार्टिमा नलागे पनि यस्तै चर्चाको पात्र बन्न पुगेको बताउँछिन् । ‘आफ्नो खुबीले टाइटल जितिरहँदा पोलिटिकल नाम जोडिनु मिहेनतको कदर नभएको जस्तो फिल हुन्छ । नेपाली चेली भएर सपोर्ट गर्नुभयो पछि पोलिटिक्स घुसाउँदा नराम्रो लागेको थियो,’ उनले भनिन् ।
प्रधानमन्त्री बन्ने हुटहुटी
नेपाललाई विश्व सामु चिनाउँने श्रृंखलाको सपना छ । सुन्दर र बौद्धिक विचार भएकी उनलाई चेन्ज मेकर हुने ठुलो रहर छ । सपना पूरा होस् या नहोस तर नेपालको प्रतिनिधि भएर काम गर्ने विचार उनमा छ ।
भन्छिन्, ‘नेपालमा अहिले सम्म महिला प्रधानमन्त्री हुनु भएको छैन् त्यसैले पनि प्रथम महिला प्रधानमन्त्री हुन्छु भनेको हुँ, प्रधानमन्त्री नै हुनुपर्छ भन्ने छैन तर नेपालको प्रतिनिधि भएर काम गर्छु ।’ कुनै पनि लेवलमा चेन्ज मेकेर भएर काम गर्न सकेमा प्रधानमन्त्री भएर काम गरे सरह हुने उनको भनाई छ ।
भविष्य योजना
श्रृंखला हाल मिस नेपाल २०१९ का लागि पोखरा अडिसनमा व्यस्त छिन् । विभिन्न सामाजिक कार्यसंगै अन्य गतिविधिमा समेत उनी व्यस्त रहेकी छिन् । ‘म के गर्ने भन्ने बारे आफै रिसर्च गर्दैछु,’ उनले भनिन्, ‘आफ्नै आर्किटेक्चर फार्म खोल्नु, किताव लेख्न, ट्राभल साथै सामाजिक कार्यमा सम्लग्न भई धेरै काम गर्न मन लागेको छ ।’
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.