उमा विक
पोखरा, ताण्डव न्यूज ।
ग २ प ५८६८ नम्बरको थोत्रो मोटरबाइक । मोटरबाइकको दाहिने र देब्रे पट्टि विभिन्न देशका मैला र थोत्रा झण्डाहरु । मोटरबाइक हेर्दै रमिते । बाइकमा थोत्रो जेब्रा ब्याग अन्य साना साना पोकापोकी भुन्ड्याइएको ।
बिहान सबेरै पोखरा मियाँपाटन चोकबाट ७५ वर्षीय वृद्धा सवार हुन्छन् यो बाइकमा । बाइक मियापाटन, अमरसिंहचोक, बुद्धचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, रानीपौवा, शीतलादेवी, भद्रकाली हुँदै पुनः मियाँपाटन पुगेर थन्किन्छ । दिनदिनै पोखराका नयाँ–नयाँ रुटमा कुदिरहन्छ यो बाइक ।

यो झण्डै बाइकमा सवार हुने वृद्ध हुन् ब्रिटिस आर्मीका ल्याप्टेन सोलाल गुरुङ । सोलालको मियाँपाटन स्थित घरमा पुग्दा जोकोही छक्क पर्छ । ब्रिटिस लाहुरेको घर, घरजस्तो छैन । उनी आफै भन्छन्, ‘यो राउटेको घर हो ’ ।
एक तले घर, घरमा खुइँलिएको रङ, घरका भित्तामा लेउ लागेर उम्रिएका झारपात । हेर्दा लाग्छ, वर्षौदेखि घरमा कोही मानिस बसेका छैनन् । घरका झ्यालमा पुराना कपडा झुन्ड्याएको, विभिन्न मेला महोत्सवका ब्यानरहरु टाँगिएको । यस्तो लाग्छ कतै एड्भटाइजका लागि बनाइएको घर त होइन यो ।
घर भित्र मूल्यवान् सामानहरु तर छरपस्ट । एउटा कोठा पूरै फ्रेममा राखिएका फोटाहरुले भरिएको छ तर अव्यवस्थित । उनको बालापनदेखि ब्रिटिस लाहुरेको पेन्सन आएपछि सम्मका थुप्रै फोटोहरु, श्रीमतीहरु,छोराहरुको फोटो असरल्ल भुइँभरि ।
दे वान्ट मनि वन्ली
सोलाल एक्लै बस्छन् । घरमा कोही छैन । उनको दैनिकी त्यही थोत्रो बाइकमा कछुवा गतिमा पोखरा डुल्दै बित्छ ।
‘३/४ वटा बुढी थिए, सबैले छोडे ’ सोलालले सुनाए । सोलालले जत्ति बिहे गरेपनि सबै श्रीमतीले उनलाई होइन उनको पैसालाई माया गरे ।
उनले पीडा पोख्दै अंगे्रजीमा भने, ‘आइ वान्ट टु हेल्प देम, वट दे अल लार्ई टु मि दे आर लायर , दे वान्ट अल इज मनी वन्ली, आई डन्ट लाइक इट । दे वन्ली लुकिङ फर मनी ।’
सोलालको जेठी श्रीमतीले १० वर्ष उनको पेन्सन खाइन् र अर्कैसँग बिहे गरिन् । त्यसपछि साथका लागि उनले दुःख पाएका आइमाईलाई सर्पोट पनि मिलोस् भनेर अर्को श्रीमती ल्याए । उनले पनि पैसा खाएपछि साथ छोडिन् । त्यसरी नै ४ वटासम्म बिहे गरे । उनीहरुले आवश्यकताको समयमा पैसा कै लागि सोलाललाई अपनाए । सोलाललाई साहारा चाहिँदा साथ छोडे ।
उनलाई श्रीमतीहरुले मात्र होइन ती श्रीमतीबाट जन्मेका सन्तानले पनि धोका दिए । ‘२ छोरा थिए,मरे ’, उनले भने । छोराहरु माथि आक्रोश पोख्दै थिए सोलाल ।
उनको सम्पत्ति सबै दुई छोराले कब्जा गरे । अब बाँकी मिँयापाटनमा रहेको त्यही उनको भाषाको राउटे घर मात्र छ । तर उनले यसको पनि आवश्यक ठान्दैनन् । भन्छन् , ‘म एक्लो मान्छे हो अब म कति नै बाँच्छु र म मरे पछि यो घरको के काम ।’ मनमा पीडा छ तर हाँसेर हिँड्न छोडेका छैनन् सोलाल ।
ब्रिटिस यात्रा
सोलालका बुवा ब्रिटिस लाहुरे थिए । १४ वर्षको उमेरमा सन् १९५५मा सोलाल बुवासँग युके गए । १९५७ मा सोलाल पनि ब्रिटिस आर्मीमा भर्ती भए । उनले मलेसिया, सिगांपुर, इङ्गल्यान्ड, हङकङ, यु.के, ब्रुनाईमा रहेर विदेशी जनताको सुरक्षाका लागि ज्यानको बाजी लगाए ।
तर ब्रिटिश सरकारले गोर्खालीलाई विभेद ग¥यो । गोराहरुले पाउने सेवासुविधा सामान रुपले गोर्खालीलाई दिएन । उनी आक्रोश पोख्दै भन्छन्, ‘के का लागि हामीले आफ्नो ज्यानको बाजी लगायौँ आफ्नो देश छोडेर । ’
ब्रिटिस सरकारले पेन्सनमा पनि गोर्खालीलाई विभेद गरेको छ । फरेनर आर्मीलाई २३ वर्षमा पेन्सन दिने गरेको छ भने गोर्खालीलाई १५ वर्षमै । पेन्सन रकममा पनि विभेद हुने गरेको सोलाल बताउँछन् ।
बाइकमा झण्डा किन ?
सोलाल जुन–जुन देशमा पुगेका छन् त्यही देशहरुको झण्डा आफ्नो बाइकमा झुन्ड्याएका छन् ।
‘नेपाली जनताको नाम राख्नको लागि मैले यो गरेको हँु । नेपालीले कस्ता–कस्ता देशमा गएर बहादुरी देखाए भनेर चिनाउन चाहन्छु । नेपाली के हुन् भनेर चिनाउन चाहन्छु, ’ उनले भने ।
उनी त्यही थोत्रो झण्डे बाइक चढेर, पर्वत, बागलुङ, तनहँुँ, स्याङ्जा, पाल्पा, बुटवल, नारायणगढ, तौलिहवा लगायतका जिल्ला पुगेका छन् ।
सोलालको नेपालभरि नै यही बाइक चढेर झण्डा झुन्ड्याएर हिँड्ने मन छ । ‘म वृद्ध भइसके अब बाहिरी जिल्ला जान अल्लि सक्दिँन’ उनले भने, ‘जोश त छ मनमा तर शरीरले साथ दिँदैन ।’
उनले हङकङमा हुँदा अफिसरमा प्रमोटेड हुँदाको कार्ड, पेन्सन पाएपछिको कार्ड ,जेष्ठ नागरिकको भत्ताको प्रमाण–पत्र लगायतका उनको परिचय खुल्ने कार्ड सबै कार्ड घाँटीमा भिरेर हिडेका छन् ।
‘मेरो कोही छैन, म जा मरेपनि मलाई अरुले चिनोस् यही चाहन्छु । किनकि म मरे भने मेरो खोजी गर्ने कोही छैन । आफ्ना भन्नेहरु आफ्ना रहेनन्’ उनले भने । उनी विभिन्न मेला महोत्सवमा चिलको जस्तो पखेटा लगाएर पनि प्रस्तुत हुन्छन् । सोलाल चिल बाजे र गिद्ध बाजे भनेर पनि चिनिन्छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.