www.tandavnews.com
Fact ~ In search of truth

यस कारण मिडिया होइन जसुधा चिप्लिइन्

आफू भागेको स्वीकारेर मिडिया नचुकेको पुष्टि उनी आफैंले गरिदिएकी छन्

अर्जुन गिरी
पाेखरा, ताण्डव न्यूज ।

कसैलाई तिर्नुपर्ने रकम ऋणै हो चाहे त्यो १ रुपैयाँ होस् या अर्ब । लेनदेनको व्यवहार एकातिर पन्छाएर बेखबर बन्दै कोही सम्पर्कविहीन हुन्छ भने ऋण दिएकाहरु आत्तिनु स्वाभाविक हो । पैसा माग्दा घन्टैपिच्छे फोन गर्ने मान्छे तिर्ने बेला ४-५ दिन नै गायब हुने र फोनै अफ गर्दिएपछि के भन्ने ? भागेको नभन्ने ? यो प्रश्न पोखरामा यतिबेला चर्चित बनेको जसुधा पौडेल प्रकरणको प्रसंगमा सान्दर्भिक बनेर देखापरेको छ ।

व्यक्ति र संघसंस्थालाई करोडौं रुपैयाँ तिर्न भएकी पोखरा गणेशटोल बस्ने जसुधा पौडेल एकाएक सम्पर्कविहीन भएपछि उनी भागेको भनेर समाचार आयो ।

Batas

यस्तै एउटा घटना ५ वर्षअघिको पनि छ । पोखराका एक व्यवसायीले धेरैको रकम खाएर सम्पर्कविहीन भए भन्दै मकहाँ आए । त्यो बेला म समाधान दैनिकमा ‘अपराध बिट’ हेर्थें । ति व्यवसायीले विभिन्न व्यक्ति र संघसस्थासँग गरी २ करोड रुपैयाँभन्दा धेरै रकम लिएर सम्पर्कविहीन भए । पीडितसँग मेरो सम्पर्क भयो । मैले ‘….ले रकम खाएर भागे’ भनी शीर्षक राखेर समाचार लेखेँ ।

ऋण लिएका व्यक्तिसँग सम्पर्क नभएका ती व्यवसायी समाचार आएपछि प्रहरी सम्पर्कमा आए । समाचार प्रकाशित भएको दोस्रो दिनमा उनी प्रहरीकहाँ बहाना बनाएर प्रकट भए ।

प्रहरी शरणमा आएर उनले आफूलाई कसैले अपहरण गरेको बताए । धेरैजना पीडित समाचार आएपछि रकम डुब्छ भनेर डराए, खुलेनन् । त्यो बेला पनि ढुकुटी र सापटीको नाममा धेरैलाई उनले मुर्गा बनाएका थिए । प्रहरीकहाँ अपहरणमा परेको भन्दै आएका ती व्यवसायीको नाटकले काम गरेन ।

ती व्यवसायीका कथित शुभचिन्तकले मलाई भेटेर यस्तो समाचार पनि हुन्छ ? उहाँ यही हुनुहुन्छ, तपाईलाई मुद्दा हाल्छांै, ठीक पार्छौं भन्दै नारी ठेले । त्यसपछि ती व्यवसायीले सबै ऋणदातालाई फोन गरेर रकम दिन्छु म यहींको मान्छे हो, म ठूलो व्यवसायीहरु हुँ भन्दै तर्काउन थाले । त्यसपछि पनि झुलाउने काम भयो ।

प्रहरीकहाँ उजुरी परेकै हुनाले ती व्यवसायीले जग्गा बेचेर ३ करोडभन्दा धेरै रकम तिरे । ती व्यवसायी पनि सकेसम्म कसैको पैसा तिर्न नपरोस् भनेर भागेका थिए । भाग्नु भन्नुको अर्थ पोखरा नै छाडेर जानु होइन, ऋणीको फोन नउठाउनु र फोन अफ गरेर बस्नु पनि हो । जब मिडियामा ती व्यवसायीको नाम आयो अनि तिनका आसेपासेले अपहरणको योजना दिएका थिए ।

अहिले शंकाको घेरामा जसुधा परेकी छन् । अब कुरा समाचारकै गरौं । पोखराका एक दर्जनभन्दा धेरै मिडियाले ‘जसुधा रकम खाएर भागिन्’ भनेर लेखेका छन् । तीमध्ये ४–५ वटा मिडियाले स्रोत (पीडित)लाई फोन गरेरै समाचार तयार पारेका हुन् । ती मिडियामा ताण्डव न्यूज पनि पर्छ । यही साताको १६ र १७ गते नै समाचार प्रकाशन भए ।

एउटा पत्रकार अन्तरयामी हुँदैन । उसलाई पनि कसैले जानकारी दिएरै त्यसको आधारमा समाचार तयार पार्ने हो । पीडितले नाम नहाल्ने सर्तमा जसुधाको बारेमा जानकारी दियो । जसुधा रकम खाएर भागेको हो या होइन भनेर सबैभन्दा पहिले उनैसँग सोध्नु पर्ने थियो । तर जसुधाको फोन अफ थियो ।

त्यसपछि पत्रकारले त्यो कुरा भेरिफाई गर्न जसुधाको आफन्त र निकटका मान्छेलाई फोन गर्नुप¥यो । श्रीमान जतिको निकट अरु कोनै होला भनेर सुरेन्द्रमणि पौडेलाई फोन गरियो । उनले आफ्नो केही महिनाअघि डिभोर्स भएको भनेपछि उनलाई धेरै प्रश्न सोध्ने अधिकार पत्रकारसँग रहेन ।

त्यही पनि सोधिहालें— जसुधाले रकम खाए भाग्नु भएको हो ? उनले यो विषयमा आफूलाई केही थाहा नभएको बताए । त्यसपछि अर्को प्रश्न गरेँ । उनले रकम लिएर नतेरेको भन्ने त्यस्तो कुनै फोन आएको छ ? सुरेन्द्रले धेरै व्यक्तिको फोन आएको बताए । पूर्व श्रीमतीको कारणले ठूलो तनाव व्यहार्नुपरेको उनले सुनाए ।

यता पीडितले भनेको कुरा अनि पूर्व श्रीमानले भनेपछि कुरा प्रष्ट थियो । ताण्डवले ती पीडितसँग गरेको कुराकानी (प्रमाण) सुरक्षित राखेको छ । कति दिन कुन ऋणीसँग सम्पर्कमा नआएको भन्ने सबै जसो मिडिया र जसुधाकै आफन्तलाई पनि थाहा छ । तर, अहिले आएर समाचारै गलत भनेर जसुधाले एक अन्तर्वार्तामा बोलिन् ।

आफू भागेको कुरा उनले स्वीकारेकी छन् अनि कसरी मिडिया गलत भयो ? आफू केही दिन सम्पर्कविहीन हुन पाउनु अधिकार रहेको जसुधाको दाबी छ । ‘म भाग्न त भागेको हो, ज्यान बचाउन भागेको हो,’ उनले भनेकी छन्, ‘म सुरक्षित हुन भागेकी हुँ ।’ भाग्ने अधिकार देख्नेले बेलैमा ऋण तिर्नुपर्छ भन्ने कर्तव्य भुल्नु कहाँसम्मको जायज हो ? अर्काे कुरा उनी ४-५ दिन सम्पर्कविहीन भएपछि ऋणदाताले शंका गर्नुबाटै पनि उनको व्यवहार विश्वसनीय रहेनछ भन्ने देखियो । यसै पनि उनले आफू भागेको स्वीकारेर मिडिया नचुकेको पुष्टि आफैंले गरिदिएकी छन् । त्यस कारण उनी भागेको होइन मिडिया चुकेको हो भन्ने आरोप असत्य सावित भइदिएको छ ।

जसुधाले दिएको अन्तर्वार्ताले अर्को थप कुरा बाहिरिएको छ । अन्तर्वार्तामा पूर्व श्रीमानले केही हेर्दिनु पर्ने तर्क उनले गरेकी छन् । ‘२ महिनाअघि डिभोर्स हुनु भन्दा पछि म र उहाँ मिलेर जोडेको सम्पतिबाट मेरो व्यवहारहरु हेर्नुपर्छ,’ उनले भनेकी छन, ‘त्यो तिरेर रहेको सम्पति भाग पनि मैले पाउनु प¥यो ।’

अर्कोतर्फ उनले आफूसँग २५-३० करोड सम्पति रहेको भनेकी छन् । श्रीमानसँग बाहेक उनीसँग यत्रो सम्पति कहाँबाट आयो र उनले यसको स्रोत खुलाउन सक्छिन् ? लाखौंको ढुकुटीको कुरा आएको छ । ढुकुटी खेलाउनु अवैध काम हो । पैसाको स्रोत ढुकुटी हो भने उनको सम्पत्ति अवैध हो । ढुकुटीबाहेक ऋणी सापटीमा चर्काे ब्याजदरको कुरा पनि आएको छ ।

जसुधाले पैसा फिर्ता गरेरमात्रै पनि नहुने अवस्था छ । उनले पैसा फिर्ता गर्नुपर्ने कारण ढुकुटी हो होइन भन्ने अनुसन्धान प्रहरीले गर्नुपर्छ । हो भने त्यसै अनुसार कानुनी कठघरामा उनलाई उभ्याउनुपर्छ । चर्काे ब्याजको आम्दानी हो होइन भन्ने पनि अनुसन्धान हुनुपर्छ ।

८-१० वर्षको बीचमै करोडौं रुपैयाँको मालिक बन्ने कुन त्यस्तो उद्योग धन्दा र व्यापार व्यवसायबाट हो भनेर सम्पत्तिको स्रोत खोज्नु राज्यको दायित्व हो ।

याे पनि

जसुधाले १० करोड बढि रकम खाएर भागिन्

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.