पोखरा ।
स्थानीयस्तरका विवाद स्थानीयस्तरमा नै समाधान गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकामा मेलमिलाप प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको व्यवस्थापनमा आठ दिनसम्म चल्ने प्रशिक्षणमा गाउँपालिकाका वडा नं ४ देखि ११ सम्मका ३० प्रशिक्षार्थी सहभागी छन् ।
गाउँमा सर्वसुलभ र सबैको न्यायिक पहुँचका लागि मेलमिलाप केन्द्र स्थापनाको माध्यमबाट न्याय र शान्तिपूर्ण समाज निर्माण गर्ने लक्ष्यका साथ तालीम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सगुन गुरुङले स्थानीयस्तरका विवाद समाधान गर्न गाउँमा स्थापित मेलमिलाप केन्द्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै केन्द्रबाट निष्पक्षरुपमा विवाद छिनोफानो हुने विश्वास व्यक्त गरे ।
प्रमुख प्रशिक्षक अधिवक्ता हरिप्रसाद पण्डितले केन्द्रको महत्व सम्बन्धमा प्रकाश पार्दै तालीममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सुझाव दिए । गाउँमा देखिने विवादको समाधानमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राख्दै उनले निष्पक्ष ढङ्गबाट विवाद समाधान गर्न मेलमिलापकर्ता सहभागीलाई सुझाव दिए।
आइतबारदेखि जारी प्रशिक्षणमा प्रमुख प्रशिक्षक अधिवक्ता पण्डित, अधिवक्ता गीता आचार्य, अधिवक्ता हरिप्रसाद भट्टराई र पत्रकार टङ्कराज अधिकारीले विवाद÷द्वन्द्वको अवधारणा र विस्तार, विवाद समाधानका उपाय, अन्तर्राष्ट्रिय सन्दर्भमा मेलमिलाप पद्धतिको प्रयोग, मेलमिलापसम्बन्धी नेपालमा प्रचलित कानूनी व्यवस्था, वार्ताका आधारभूत नियम र तिनको सान्दर्भिकता, मेलमिलापमा सुनुवाइ सीप र प्रश्न गर्ने कलाको प्रयोग, मेलमिलापमा सञ्चार र सहजीकरण सीपको प्रयोगलगायतका विषयमा प्रशिक्षण दिएका छन् । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.