www.tandavnews.com
Fact ~ In search of truth

भानुभक्तको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

दमौली ।

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाँचौँ क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो ।

मञ्चका अध्यक्ष आकाश अधिकारीका अनुसार कवि सम्मेलनमा देश तथा विदेशबाट गरी ६० भन्दा बढी साहित्यकार सहभागी हुनेछन् । सम्मेलनमा नेपालका साथै भारत, बङ्गलादेश, भूटानबाट साहित्यकार आउने निश्चित भइसकेको छ भने चीन, जापान लगायतका देशहरुका साहित्यकारसँग समन्वय भइरहेका अधिकारीले जानकारी दिए।

Batas

भानुभक्त आचार्यको व्यक्तित्व विश्वसामु परिचित गराउने, चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र भाषिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले कवि सम्मेलन आयोजना गरिएको उनले बताए ।

सोही अवसरमा रात्रिकालीन साहित्यिक कार्यक्रम, भानु जन्मघरका बारेमा साहित्यकारहरुको अभिव्यक्ति र हस्ताक्षर सङ्कलन गरिनेछ भने क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार, गीतल प्रभात युवा राष्ट्रिय पुरस्कार र गीतल प्रभात प्रतिभा पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । यस वर्षको क्षेत्रप्रताप स्मृति पुरस्कार काभ्रेका स्रष्टा मोहन दुलाल, गीतल प्रभात युवा पुरस्कार पुरु लम्साल र गीतल प्रभात प्रतिभा पुरस्कार दुर्गाकिरण तिवारीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

कार्यक्रमकै अवसरमा तनहुँका साहित्यकारका लेखरचना प्रकाशित गीतल गुञ्जन नामक पुस्तक विमोचनसमेत गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । यही चैत २९ गते ग्रामीण पर्यटन तथा घरवास प्रर्वद्धनका लागि अतिथिहरुलाई रानागाउँ सामुदायिक घरवासमा राखिनेछ भने चैत ३० गते भानुभक्तको जन्मघर शिखर कटेरीसम्म साहित्यिक पदयात्राको कार्यक्रम हुनेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.