www.tandavnews.com
Fact ~ In search of truth

ग्रामीण भेगमा फिजियोथेरापीको सुविधा

बागलुङ ।
काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवा शुरु भएको छ । सो सेवाको शुक्रबार गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले शुभारम्भ गरे ।

स्थानीय ७३ वर्षीय लिलबहादुर कुँवरलाई फिजियोथेरापिष्ट सुजन कार्कीले पहिलो सेवा प्रदान गरेका थिए । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र हाडजोर्नी तथा नशाका बिरामीलाई लक्षित गरी सेवा शुरु गरिएको हो । सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय नेपाल फेलोशिप (आइएनएफ) को समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सिबिआर) ले उपकरण उपलब्ध गराएको हो । फिजियोथेरापीमा प्रयोग हुने अल्ट्रासाउण्ड, टेन्स, हिटिङ प्याड, सोल्जर ह्विललगायत गरी १२ प्रकारका उपकरण पनि शुक्रबारनै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो ।

सर्वसाधारणलाई गाउँमै फिजियोथेरापी सेवा मिलोस् भन्ने उद्देश्यले निःशुल्क रुपमा सामग्री प्रदान गरिएको सिबिआरका अधिकृत सूर्यबहादुर कुँवरले बताए । “अपाङ्गता भएकासँगै अन्य बिरामीले पनि यसबाट सेवा लिन सक्नहुनेछ”, उनले भने ।

कूल ५९ हजार ४०० मूल्य बराबरका उपकरण स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको हो । फिजियोथेरापी सेवा सञ्चालनका लागि ९सिबिआर० का फिजियोथेरापिष्ट कार्कीले स्वास्थ्य चौकीका स्वास्थ्य सहायक ललिता घिसिङलाई एक महीने तालीम प्रदान गरेका थिए ।

मांसपेशी, हाडजोर्नी, नशा र स्नायुसम्बन्धी बिरामीलाई सेवा उपयोगी हुने फिजियोथेरापिष्ट कार्कीले बताए। “अपाङ्गतका कारण अशक्त भएका व्यक्तिलाई पनि यो प्रभावकारी उपचार विधि हो”, उनले भने । शरीरको दुखाइ कम गर्न, जोर्नीको चाल बढाउन र मांसपेशीलाई आराम दिलाउन फिजियोथेरापी गर्ने गरिन्छ । ज्येष्ठ नागरिक, अशक्त र बिरामीका लागि चाहिने व्यायामका रुपमा समेत फिजियोथेरापीलाई लिइन्छ ।

सेवाको निरन्तरताका लागि जनशक्ति व्यवस्थापनको खाँचो रहेको स्वास्थ्य चौकी इञ्चार्ज रामचन्द्र लामाले बताए । “फिजियोथेरापी गर्न महँगो खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ”, उनले भने, “सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न थप जनशक्ति आवश्यक छ ।”

गाउँपालिकाका अध्यक्ष थापाले ग्रामीण भेगको स्वास्थ्य सेवामा फिजियोथेरापीको सुविधाले नयाँ आयाम थपेको उल्लेख गरे । “गाउँपालिकाका अन्य स्वास्थ्य चौकीमा पनि यो सेवा शुरु गर्न प्रयास गर्छौ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवाका लागि लगानी बढाउन गाउँपालिका पनि तयार छ ।”

वडाध्यक्ष तथा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेम लामिछानेले पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापनमा मुख्य जोड दिइने बताए । “सेवा शुरु भएसँगै यसको दिगोपना र प्रभावकारिताको चुनौती हाम्रा सामु छ”, उनले भने, “नागरिकस्तरीय स्वास्थ्य सेवा दिन हामी प्रतिबद्ध छौँ ।” उनले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.