www.tandavnews.com
Fact ~ In search of truth

प्राविधिक शिक्षाबाट हुन्छ दक्ष जनशक्ति उत्पादन :योजनामन्त्री गुरुङ

दमौली ।
प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने सरकारको घोषणाबमोजिम तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा स्थापना भएको कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) मार्फत् मङ्सिर २ गतेबाट नै पढाइ शुरु भइसकेको उक्त शिक्षालयको शनिबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन्।

सो अवसरमा मन्त्री गुरुङले दक्ष जनशक्ति भए मात्रै समृद्ध नेपाल निर्माण सम्भव रहेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादन प्राविधिक शिक्षाबाट हुने बताए । उनले परम्परागत शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन गर्ने भएकाले अहिलेको प्रमुख आवश्यकता व्यावसायिक शिक्षा भएकामा जोड दिए ।

गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षालाई महत्व दिएर बजेटसमेत विनियोजन गरेको भन्दै मन्त्री गुरुङले प्रदेश सरकारले आफ्नै प्राविधिक विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी दिए।कार्यक्रममा पूर्वसचिव शान्तबहादुर श्रेष्ठले ‘एक घर, एक प्राविधिक’ उत्पादन गर्न सकिए कोही पनि बेरोजगार बन्नुनपर्ने बताए । उनले वन विज्ञानमा जनशक्तिको देशमा ठूलो माग रहेको भन्दै त्यो मागलाई पूरा गर्न कालीगण्डकी प्राविधिक शिक्षालयले सहयोग पुर्याउने बताए ।

Lama collectio News Middle

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले प्राविधिक शिक्षा सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)का गण्डकी प्रमुख भुवनेश्वर ढुङ्गानाले औचित्य र मागका आधारमा सीपमूलक पढाइ सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कालीगण्डकी प्राविधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार शिक्षालयमा वन विज्ञानको पढाइ मङ्सिर २ गतेबाट शुरु भइसकेको छ । चालीस कोटा रहेको शिक्षालयमा ३७ विद्यार्थी अध्ययनरत छन् । उनका अनुसार शिक्षालयमा जुम्ला, रुकुमु, दार्चुला, बाजुरा, जाजरकोट, सल्यान, हुम्लालगायतबाट विद्यार्थी अध्ययनका लागि आएका छन् ।

शिक्षालयको हालसम्म आफ्नै भवन नभएकाले सोही वडामा रहेको कृष्ण माध्यमिक विद्यालयको कक्षाकोठामा वन विज्ञानको पढाइ हुँदै आएको छ । छिट्टै नै शिक्षालयको आफ्नै भवन निर्माण गर्ने तयारी गरिएको उनले जानकारी दिए । उनले भने, “अहिलेसम्म शिक्षालयको आफ्नै भवन छैन, वैकल्पिक व्यवस्था गरी पठनपाठन सञ्चालन गरिरहेका छौँ ।”

सिटीइभिटीमार्फत भवन निर्माणका लागि चालू आर्थिक वर्षमा ५० लाख प्राप्त भइसकेको र आगामी दशैँअगावै चारकोठे भवन निर्माण गरिने उनले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery