www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकी करिडोरमा बजेट अभाव हुन नदिन स्थानीयको माग

पर्वत ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा बजेट अभाव हुन नदिन र समयमै काम सम्पन्न पहल गर्न जनप्रतिनिधिसँग स्थानीयवासीले माग गरेका छन् ।

पर्वतको बिहादी गाउँपालिकाले प्रतिनिधिसभा सदस्य पदम गिरीसँंग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विनियोजन भएको बजेट समयमा नै खर्च गर्ने वातावरण बनाउन र थप निर्माणकार्यका लागि बजेट अभाव हुन नदिन स्थानीयवासीले आग्रह गरेका हुन् । पर्वतको सेतीवेणीदेखि कुश्मासम्मको सडक पहिलो चरणमा कालोपत्र गर्न सके दक्षिणका बासिन्दाका लागि मात्रै नभई समग्र जिल्लाकै आर्थिक र भौतिक विकासमा ठूलो परिर्वतन आउन सक्ने भएकाले करिडोरको कामलाई प्राथमिकता दिन उनीहरुको माग थियो ।

Batas

कुश्मादेखि स्याङ्जाको मिर्मीसम्मको भागमा नियमित यातायात सञ्चालन हुन सके पोखरा हुँदै धवलागिरि पुग्ने सवारीसाधन छोटो बाटोबाटै हिँड्न सक्ने र भारत र चीन जोड्न सबैभन्दा छिटो र छरितो मार्ग बन्ने भनाइ उनीहरुको छ ।

करिडोरको पर्वतखण्ड कालोपत्र गर्न ठूलो प्रयास सफल भएको उल्लेख गर्दै विहादी गाउँपालिका–२ का वडाध्यक्ष ओम कुँवरले भने, “लोकमार्गको बीच भागबाट कालोपत्र शुरु भएको छ, यसमा पर्वतका जनप्रतिनिधिले गरेको भूमिका सबैले सम्मान गर्न लायक छ, यो सडक कालोपत्र भएपछि दक्षिण पर्वतको मात्रै होइन, पर्वतकै भाग्य र भविष्य बदलिन्छ ।”

कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी खण्ड पर्छ । यसले पर्वतको उत्तरदेखि दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको ‘लाइफलाइन’को रूपमा हेरिँदै आइएको छ । लामो समयसम्म पर्वत खण्डलाई ओझेलमा पार्ने काम भएको थियो ।

करिडोर भनेर बागलुङतर्फ मात्रै बजेट विनियोजन भइरहेको अवस्थामा विगत चार÷पाँच वर्षदेखि यो सडकको पर्वत खण्डले निर्माणको काममा फेरि गति लिन थालेपछि स्थानीयवासी उत्साहित छन् । पछिल्लो समय सेतीवेणीदेखि रानीपानीसम्म कालोपत्र गर्न अर्थ मन्त्रालयले बजेट सहमति दिएको छ भने रानीपानीदेखि फलेबाससम्म स्तरोन्नतिको काम ७० प्रतिशत पूरा भएको छ ।

फलेबासदेखि अर्मादीसम्मको खण्डमा ट्र्याक खोल्ने काम पनि भइरहेको छ । करिडोरको पर्वत खण्डमा पर्ने मोदीखोला, लमायखोला, सेतीखोला र आँधीखोलामा पुल निर्माणको काम पनि भइरहेको छ ।

बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले केही वर्षमै दक्षिणी क्षेत्रमा देखिने गरी विकास हुने जिकिर गर्दै सङ्घीय सरकार र प्रदेश सरकारले विकासका सबै गतिविधिमा सहयोग गरिरहेको बताए । “पर्वतको कालापानी भनेर बस्ने दिन अब सकिन्छ”, उनले भने, “पर्वत जिल्लाको विकासका लागि अबको चार÷पाँच वर्ष स्वर्णयुगको रूपमा चित्रित हुने विश्वास हामीमा छ ।”

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चिसापानी–हुवास–बर्राचौर सडक, सेतीवेणी शालिग्राम शिला, निर्माणाधीन सेतीखोलामा मोटरेवल पुल तथा कालीगण्डकी लोकमार्गको अवलोकन गर्दै सांसद गिरीले योजनाका कामलाई तीव्रताका साथ अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

केही साताभित्रै चिसापानीदेखि वहाकीभर्याङ सडकको कालोपत्रको प्रक्रिया पनि शुरु हुने जानकारी गराउँदै सांसद गिरीले सेतीवेणीमा रहेको शालिग्राम शिलाको संरक्षणका लागि ठोस योजना निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.