www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसमा विभाग गठनको सहमति जुटाउने प्रयास

काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गरेका छन् । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । गत शनिबारका लागि तय भएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकका कार्यसूचीमा शीर्ष नेताबीच सहमति नभएपछि बस्दै नबसी स्थगन गरिएको थियो । बैठकमा कार्य सम्पादन समिति गठन, संसदीय बोर्ड गठन, केन्द्रीय विभाग गठनलगायत कार्यसूची थियो ।

विधानतहः विभाग गठनको अधिकार सभापति देउवालाई भए पनि सबै पक्षको सहमति जुटाउन छलफल गरिएको पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । विभागका संयोजक तोक्न केन्द्रीय समिति बैठक बस्न पनि आवश्यक नभएको बताउँदै उनले केन्द्रीय समितिको आगामी बैठकअघि नै विभागका संयोजक तोक्ने तयारी भइरहेको जानकारी गराए ।

त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा शीर्ष नेताबीच सङ्ख्यामा सहमति भए पनि नामका बारेमा समेत आजको बैठकमा छलफल भएको थियो । काँग्रेसको नयाँ विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारीबाहेक ३१ सदस्य चयन हुने प्रावधान छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र निधि, महामन्त्री डा शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत उपस्थित थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.