www.tandavnews.com
Fact ~ In search of truth

दुलेगौँडा–कोत्रे सडकखण्ड मर्मत हुने

दमौली ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगौँडा–कोत्रे सडकखण्डको मर्मत हुने भएको छ ।

स्थानीयवासीको दबाबपछि शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित जीर्ण सडकको मर्मत हुने भएको हो । राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै आइतबार स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए ।स्थानीयवासीको आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको सरोकारवालाको बैठकले तत्कालै उक्त सडकको मर्मत थाल्ने सहमति भएको हो ।

Batas

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, सडक डिभिजन कार्यालय दमौलीका प्रमुख विष्णुप्रसाद काफ्ले र शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ सहितका जनप्रतिनिधि र स्थानीयवासीबीच भएको छलफलमा सडक मर्मत गर्ने सहमति भएको हो । आफूहरुको माग बमोजिम सडक मर्मत थाल्ने निर्णय भएको स्थानीयवासी हरिलाल रिमालले जानकारी दिए ।

उनले भने, ‘सम्बन्धित निकायको वेवास्ताको कारण सडक मर्मतमा ढिलाई भएपछि बाध्य भएर सडक अवरुद्ध गर्र्यौ, तत्कालै सम्बन्धित निकायको बैठक बसेर मर्मत थाल्ने सहमति भएको छ ।’ जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले तत्कालै उक्त सडकखण्डको मर्मत गर्न निर्देशन दिइएको जानकारी दिए ।

सडक डिभिजन कार्यालय तनहुँका प्रमुख विष्णु काफ्लेले निर्माण कम्पनीको लापरवाहीका कारण सडक मर्मतमा ढिलाई भएको जानकारी दिए । उनका अनुसार सडक मर्मतको जिम्मा पाएको रोशन कन्स्ट्रक्सन प्रालिलाई पटक–पटक ताकेदा गर्दा समेत सडक मर्मतको काम अगाडि बढ्न नसकेको हो ।

कार्यालयले निर्माण कम्पनीलाई तुरुन्त निर्माण कार्य थाल्न सूचना जारी गरेको छ । अन्यथा ठेक्का सम्झौता तोडी कार्यसम्पादन जमानत जफत गर्ने, कालोसूचीमा राख्न सिफारिस गर्ने, हर्जना असुल गर्ने लगायतका कारवाही हुने कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

कार्यालयले निर्माण कम्पनीलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई कम्पनीलाई कारवाही नगर्नुको कारण पेश गर्न सूचना जारी गरेको छ । रासस

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.