www.tandavnews.com
Fact ~ In search of truth

सरकारले पोखराबाट भ्रमणवर्ष २०२०को सफ्ट लञ्चिङ’ गर्ने

काठमाडौँ ।

सरकारले पोखराबाट नेपाल भ्रमण २०२० को पूर्व शुरुवात ‘सफ्ट लञ्चिङ’ गर्ने भएको छ ।

नयाँ वर्षको पूर्व सन्ध्यामामा आगामी चैत ३० गते भ्रमण वर्षको शुरुआत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो । भ्रमणवर्षको तयारीका सम्बन्धमा यही चैत २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमणवर्ष मूलआयोजक समितिको बैठक बस्ने र पोखराबाट पहिलो चरणको शुरुआती कार्यक्रम घोषण गरिने मन्त्रालयका प्रवक्ता धनश्याम उपाध्यायले जानकारी दिए ।

भ्रमण वर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको आवश्यक तयारीपछि भ्रमण वर्षको औपचारिक शुरुआत गरिने पनि उनले उल्लेख गरे । भ्रमण वर्ष मनाउन पर्यटनमन्त्री अध्यक्ष रहनेगरी मूलआयोजक समिति र कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्य नियुक्त भएका थिए।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङ्मा भएको हेलिकप्टर दुर्घटनामा परी दुःखद् निधन भएको थियो । अहिले पर्यटनमन्त्रीको जिम्मेवारीसमेत प्रधानमन्त्रीले लिएका छन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । चालु अब २०७५÷७६ को बजेटमा भ्रमण वर्ष मनाउने उल्लेख गरिएको थियो । यसअघि सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल–९८’ र सन् २०११ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर ‘नेपाल टुरिजम इयर’ मनाइएको थियो । उक्त कार्यक्रमको प्रभावस्वरुप पर्यटकको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको थियो ।

नेपाल पर्यटन बोर्डको विवरण अनुसार सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को पहिलो दुई महीना जनवरी र फेब्रुअरीमा दुई लाख १६ हजार विदेशी पर्यटक नेपाल आएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.