www.tandavnews.com
Fact ~ In search of truth

होमस्टे सञ्चालनमा दरै समुदाय

दमौली ।
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा अझैसम्म पनि विद्युत्को सुविधा नपुगेका कारण स्थानीयवासी वर्षौदेखि सोलार र टुकीका भरमा बस्न बाध्य छन् । खानेपानी, बिजुली र खानेपानीको अभावकै बीचमा पनि दरै समुदाय भने घरबास सञ्चालनका लागि जुटिरहेको छ । यामकुमारी दरैको अध्यक्षतामा समिति गठन गरी बोटे समुदायको ४५ घरधुरी रहेको यस ठाउँमा ११ घरमा घरबास सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३०० घरबासलाई प्रर्वद्धन गर्ने घोषणा गरेबमोजिम दरै समुदाय घरबास सञ्चालनका लागि कस्सिएको समितिका अध्यक्ष दरैले बताए । उनले भने, “घरबास सञ्चालनका लागि दरै समुदायमा उत्साह जागेको छ ।”

उनका अनुसार गाउँमा बिजुली नभए पनि घरबास सञ्चालन भएका प्रत्येक घरमा सौर्यबत्ती जडान र खानेपानीको धाराका लागि मूलबाट पानीको जोहो गरिएको छ । खानेपानीका लागि दैनिक २०÷२५ मिनेट हिँड्नुपर्ने हुन्छ । उनले भने, “घरबास सञ्चालन गरिसकेपछि अझ धेरै खानेपानी चाहिन्छ, त्यसका लागि पनि व्यवस्था मिलाएका छौँ ।”

Batas

समितिका कोषाध्यक्ष वसन्ती दरैका अनुसार प्रत्येक घरमा तीन जना बस्न मिल्ने गरी कोठा व्यवस्थापन गरिएको छ । घरबासमा बास बस्न आउने पर्यटकलाई साँझ स्वागत गरेपछि खाजाका रुपमा बटुक, साकरुङ (कोदोको रक्सी), गुन्द्रुकको आचारलगायत दिइने र राति खाना खाइसकेपछि दरै जातिको सांस्कृतिक नृत्य प्रस्तुत गरिने उनले बताए । घरबास व्यवस्थापन समितिका सदस्य नारायण दरैका अनुसार बास बसेको ३५०, सादा खानाको १०० तथा कुखुरा र खसीसहितको मासुको २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यो घरबास गण्डकी प्रदेश सरकारको अनुदान पाउने घरबासका रुपमा छनोट भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट सात किमी भीमाद र भीमादबाट ३४ किमी कच्ची यात्रा तय गरेपछि दरै घरबासमा पुगिन्छ ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घरबासलाई पर्यटनसँग जोड्नुपर्ने बताउँदै पर्यटक आकर्षित गर्न घरबासमा खाना र बासको राम्रो प्रबन्ध हुनुपर्नेमा जोड दिए। उनले भने, “ग्रामीण भेगमा होटल खोल्न तत्कालका लागि असम्भव रहेकाले घरबास सञ्चालन गरी गाउँमा पर्यटक भित्र्याउनुपर्छ ।”

कालीगण्डकीमा जलविहारका लागि आउने पर्यटकलाई घरबासमा आकर्षित गर्नुपर्ने सुझाव पनि मन्त्री गुरुङले दिए । मन्त्री गुरुङले दुई वर्षभित्र प्रदेशका सबै गाउँमा बिजुली र खानेपानीको सुविधा पुर्याइने बताए । मन्त्री गुरुङले घरबास व्यवस्थापन समितिका अध्यक्ष दरैलाई घरबास प्रर्वद्धनवापतको १० लाखमध्ये पहिलो किस्ताको तीन लाखको चेक हस्तान्तरण गरे । सो रकमले सांस्कृतिक भवन निर्माण गरिने जनाइएको छ ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालका अनुसार तनहुँका ३३ घरबासले दश लाखको दरले अनुदान पाउनेछन् । सोमध्ये २२ घरबास समितिलाई पहिलो किस्तावापतको तीन लाख प्रदान गरिसकिएको छ । रासस

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.