www.tandavnews.com
Fact ~ In search of truth

अलपत्र बसपार्क निर्माणमा आलटाल

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

पर्वत सदरमुकाम कुश्मा बजार साविकको धौलागिरीका ४ जिल्लाहरु पर्वत, बागलुङ, मुस्ताङ र म्याग्दी प्रवेश गर्ने सबैभन्दा बढी चलेको नाका हो । यी जिल्लाहरुमा आउजाउ गर्ने सयौँका संख्याका सवारी साधनहरु पर्वत आउँदा सडककै छेउमा पार्किङ गर्छन् ।

१ करोड ५९ लाख रुपैयाँ बजेट बिनियोजन गरेर निर्माणको काम प्रारम्भ गरिएको भए पनि यो काम अलपत्र अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले बसपार्क निर्माणका लागि पहल गरे पनि बजेट अभाव भएकै कारण पर्वत जिल्लाले व्यवस्थित बसपार्क पाउन सकेको छैन ।

Batas

बसपार्क निर्माणका लागि तयार पारिएको गुरुयोजना हालसम्म पनि पूरा हुन सकेको छैन । बसपार्क निर्माणका लागि करिब १२ रोपनी जग्गा प्रस्ताव गरिएको छ । तत्कालीन जिल्ला विकास समितिमार्पmत काम सुरु गरिएकोमा १८ लाख रुपैयाँ बजेट त विनियोजन भयो तर बाँकी बजेट आउन नसक्दा जिल्लाको प्रतिक्षित मानिएको योजना नै तहसनहस अवस्थामा छ ।

२०६७ सालबाट निर्माण थालिएको बसपार्कको हालसम्म १५ प्रतिशत काम मात्र पूरा भएको बसपार्क निर्माण समितिका अध्यक्ष एकनारायण गिरी बताउँछन् । कुल ८ रोपनी क्षेत्रफलमा निर्माण सुरू गरिएको बसपार्क सम्पन्न भएपछि स्थानीयलाई आवतजावतमा सहज हुने अपेक्षा थियो ।

व्यवसायीको पीडा

बसपार्कको अभाव भएपछि सवारी धनीहरुले आ–आफ्नो घर अगाडि सवारी साधन राख्ने गरेका छन् । व्यवस्थित वसपार्क नहुँदा सवारी साधनका महत्वपूर्ण पार्टपूर्जा चोरी हुने गरेको बसधनीहरुको गुनासो छ ।

‘व्यवस्थित बसपार्कको अभावमा चोकमा जहाँ खाली देखिन्छ त्यहीँ सवारी राख्न बाध्य छन् । ‘बाहिर राख्दा रातिमा सवारीमा टुटफुट गरिदिएको पाइन्छ, कहिलेकाहीँ सवारीबाट सामानहरु नै हराउने गरेका छन्,’ यातायात व्यवसायी ख्याम लामिछाने भन्छन्, ‘सवारी साधनको सुरक्षा र तीनलाई राख्ने ठाउँ त सबैको चासोको विषय हो । तर निर्माण सुरु गरिएको बसपार्क अलपत्र नै छोडिएको छ । बसपार्क अभावको पीडा हामी व्यवसायीलाई परेको छ ।’

पार्किङको समस्यामा अधिकांश व्यवसायीले कुश्मा नगरपालिका ६ को शिवालय चोकको हाईवेमा नै सवारीहरु राख्न बाध्य भएका छन् । बाटोमै सवारी राख्दा ट्राफिक व्यवस्थापनमा नै चुनौति देखिएको ट्राफिक प्रहरीहरु बताउँछन् ।

कुश्मामा कै व्यवसायीहरुले त खाली ठाउँ जहाँ छ सवारीलाई त्यहीँ पार्किङ गराउँछन् तर नेपालकै अग्ला लामा झोलुंगे पुल, निर्माणाधीन बञ्जीजम्प, कुश्मा बलेवा यान्त्रिक पुल लगायतका क्षेत्रहरुको अवलोकनमा आउने भ्रमण टोलीलाई अझै बढी समस्या हुने गरेको छ । केही समय पहिला गोरखा जिल्लाबाट आमा समूहको भ्रमण टोली कुश्मा आयो ।

बसले पार्किङ खोज्दै बजारमा २ फन्को मा¥यो । बसका चालक अमृत क्षेत्रीले भनेका थिए, ‘बजारमा गाडी राख्ने बसपार्क त रहिन्छ । पर्यटक आउनुपर्छ भनेर किन प्रचार गर्नु ? हामी बाहिरबाट आउनेहरुलाई यहाँको बारेमा थाहा हुन्न नी । ठाउँ– ठाउँमा बोर्ड राखेर राम्रो बसपार्क बनाइदिए त सजिलो हुने थियो ।’

पानी परेको बेलामा टेक्नै मुस्किल

अलपत्र बसपार्कमा रहेको क्षेत्रलाई डोजर लगाएर सम्याइएको छ । छेउमा नै ढल बगिरहेको छ भने डिलको भागमा हेर्दै डर लाग्ने मोदी खोलाको भिर छ । अलपत्रै परेको भए पनि व्यवसायीहरुले यदाकदा सवारीहरु राख्ने पनि गरेका छन् ।

तर पानी परेको बेलामा उक्त पार्किङमा सवारी हाल्ने हो भने सवारी निकाल्नै मुस्किल पर्छ । पानी पर्दा सवारीहरु फस्ने गरेका कारण बसपार्कमा सवारी राख्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीहरु बताउँछन् ।

जमिनलाई भिरालो नपारिएको कारण बर्षाको पानी सबै चौरमा नै जम्मा हुन्छ । पानी दर्कने बित्तिकै चौरमा खुट्टा र गाडीका टायर गाडिने गरी हिलो निस्कन्छ । गत माघ महिनामा कुश्माको रेडियो दिदीबहिनीले सोही ठाउँमा ११ औँ महिला महोत्सव लगाएको थियो । बिहान बेलुका र दिउँसोमा समेत बर्षा भइरहेको अवस्थामा चौरभरी काठको सुख्खा धुलो हालेर हिलो ढाक्नु परेको थियो । यद्यपी महोत्सवको अवलोकन गर्न गएका दर्शकका खुट्टा बर्खामा खेत रोपेर फर्किएको कृषकका जस्ता देखिन्थे ।

यस्तो छ ट्राफिक चुनौति

बसपार्कको अभावले सवारीसाधन व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौली बताउँछन् । बसपार्कको अभावमा सवारीधनीहरुले ढुक्क भएर आफ्ना सवारीहरु राख्न नसकेको उनको भनाइ छ । बसपार्कको अभावका कारण ट्राफिक व्यवस्थापन र सवारी साधनको सुरक्षामा चुनौती बढेको गौली बताउँछन् । ‘व्यवस्थित बसपार्क नहुँदा व्यवसायीहरुले सडकमै सवारी राख्न बाध्य हुनुपर्ने अवस्था छ, कोहीले त्यहीँ अलपत्र परेको बसपार्कको छेउमा लगेर राखेका छन् । त्यहाँ राख्दा पनि गाडीहरुबाट पार्टस र अरु सामान नै हराउने गरेको भनेर गुनासो आउने गर्छ,’ उनले भने ।

पर्वतमा ट्राफिक प्रहरी भएर आउनेहरुले हरेक पटक बसपार्कको व्यवस्थापन सम्बन्धी कुरा उठाउने गर्छन् । सडकमा नै सवारी राख्ने र सोही कारण हाईवे साँघुरो हुँदा सडक दुर्घटनाको जोखिम बढेको भनेर सम्बन्धित पक्षहरुसँग कुरा राख्ने गरेका छन् ।

वडाबाट के भइरहेको छ ?

२०७१ सालमा कुश्मा नगरपालिका घोषणा भयो । नगरपालिकाले अहिलेसम्म बसपार्कका लागि आवश्यक बजेट विनियोजन गर्नतर्फ चासो देखाएको छैन । बसपार्कका लागि ठूलो बजेट चाहिने र थोरै बजेट ‘कनिका छरेजस्तो हुने’ हुँदो बसपार्कका लागि उचित बजेट छुट्याउन नसकिएको नगरपालिकाका कर्मचारीहरु बताउँछन् । जिल्लाकै एकमात्र बसपार्क समेत १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँनु सरोकारवालाहरुको गैर जिम्मेवारपन देखिन्छ ।

सोही क्षेत्रका वडाध्यक्ष रुद्र गिरीले अलपत्र परेको बसपार्कको काम सुरु हुने बताउँछन् । गिरीका अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समेत पटक पटक सार्वजनिक रुपमा बसपार्क व्यवस्थापनका लागि केन्द्रमा पहल गरिरहेका छन् । बसपार्क व्यवस्थित गर्नका लागि वडा र नगरपालिकाको बजेटले सम्भव नहुने भएका कारण नै काम पूरा गर्न समस्या भएको उनले जनाए । उनका अनुसार अब भने बसपार्क निर्माणको लागि डिपिआर तयार पार्ने काम भइरहेको छ ।

‘स्थानीय तहबाट यति ठूलो बजेटको काम गर्न सम्भव नै छैन, त्यसैले हामीले राष्ट्रिय सभाका अध्यक्ष गणेशजीसँग अनुरोध गरेका थियौँ । उहाँकै पहलमा अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ बिनियोजना भएको छ,’ वडाध्यक्ष गिरी भन्छन्, ‘अहिले डिपिआर तयार गर्ने काम भइरहेको छ । अर्थबाट आएको डेढ करोडबाट पैसा बच्यो भने बाँकी पैसाबाट नै बसपार्क निर्माणको काम सुरु हुन्छ, केन्द्रिय सरकारबाट बजेट बिनियोजन हुनेछ ।’

स्थानीयको सपना पनि अधुरै

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरुले व्यवस्थित बसपार्क बनाउन चासो देलान की भन्ने आसामा बसेका यातायात व्यवसायी र सर्वसाधारणहरुको सपना तुहिएको छ ।

अलपत्र अवस्थामा रहेको बसपार्कको काम सुचारु गराई कुश्मा बजारलाई सफा र व्यवस्थित बनाउन पहल नभएको प्रति स्थानीय चिन्तित देखिन्छन् । बसपार्कमा सवारी साधानहरु राख्न नमिलेपछि कुश्मामा आयोजना हुने कतिपय मेला महोत्सवहरु सोही स्थानमा सञ्चालन हुन थालेका छन् ।

बसपार्क छेउमा व्यवसाय गर्दै आएको दीपक शर्माले बसपार्कको व्यवस्थापन हुन नसक्दा व्यवसायीहरुले सडकमै सवारी राख्न बाध्य हुनुपरेको बताउँछन् । वर्षौँअघिदेखि निर्माण सुरु गरिएको बसपार्क अहिलेसम्म पनि पूरा नहुनु र पर्वतको सदरमुकाम जस्तो ठाउँमा एउटा गतिलो बसपार्क नहुनु पर्वतबासीका लागि दुःखद् कुरा भएको उनको भनाई थियो ।

पर्वतको दक्षिणी गाविसको केन्द्रको रुपमा रहेको हुवास हातेमालो चोकमा बसपार्क नहुँदा सयौं यात्रुवाहक सवारी साधनहरु अलपत्र अवस्थामा पार्किङ गर्नुपर्ने समस्या छ । हुवासबाट विभिन्न स्थानमा छुट्ने बस, जीप तथा मालवहाक सवारी साधनहरु बसपार्क अभावमा जथाभावी रुपमा पार्किङ गर्नुपर्ने समस्याका कारण बजारसमेत अव्यवस्थित भएको छ ।

कुश्मामा मात्र होईन हुवासमा पनि उस्तै

सदरमुकाम कुश्मा मात्रै होइन पर्वतको सूदूर दक्षिणमा रहेको हुवासमा पनि बसपार्कको उचित व्यवस्थापन नहुँदा सवारी व्यवस्थापनमा समस्या भएको छ ।

हुवासको मर्दिखोलादेखि स्याङ्जाको वालिङका साथै पर्वतका दक्षिणी गाविसहरु जाने आउने जीप तथा काठमाडौं, पोखरा, बुटवल, नारायणगढ लगायतका शहरहरुमा जाने ठूला बसहरु बसपार्क अभावसँगै अव्यवस्थित ढंगले बजारमा पार्किङ गर्नुपर्ने अवस्था छ । हुवासका स्थानीय नागरिकहरु बजार क्षेत्रमा सवारी पार्किङ गर्दा दुर्घटनाको समेत सम्भावना बढेको बताउँछन् ।

जिल्लाको दोस्रो ठूलो बजारको रुपमा चिनिने हुवास क्षेत्रमा बजारको बिस्तारसँगै सवारी चाप पनि बढेको स्थानीयबासीहरु बताउँछन् । बजारलाई व्यवस्थित गराउन तथा सवारी सुरक्षाका लागि पनि बसपार्क निर्माण गरिहाल्नुपर्ने अवस्था छ ।

व्यवस्थित बसपार्क नहँुदा मर्दीखोला बजारका व्यवसायीहरुको व्यापारसमेत प्रभावित बनेको छ । पसल अगाडि ल्याएर सवारीका साधन रोक्दा ग्राहकलाई सहज रुपमा पसलमा आउन जान गाह्रो हने स्थानीय व्यवसायीहरुको भनाई छ । जथाभावी पार्किङले यातयात व्यवसायसँगै सर्वसाधारणलाई समेत सास्तीको विषय बनेको छ ।

यातयात व्यावसायीहरुले यत्रतत्र रुपमा यातयातका साधनहरु राखेर मानिस ओराल्ने र उकाल्ने गर्दा समस्या समेत हुने गरेको छ । कतिपय आलोपालो प्रणालीबाट चल्ने यातयात साधानका धनीहरुले आफ्नो घर आगनमा लगेर गाडी राखेको देखिन्छ ।

दैनिक रुपमा सयको हाराहारीमा सवारी आवतजावत गर्ने भएकाले सडकमै रोक्दा दुर्घटना हुने भएकाले बसपार्कको तुरुन्तै व्यवस्था गर्नुपर्ने प्रहरी निरीक्षक मित्रबहादुर आचार्य बताउँछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.