www.tandavnews.com
Fact ~ In search of truth

‘जीवनमा जीवन जत्तिकै महत्व किताबको छ’

पाेखरा
ताण्डव न्यूज । 

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?

जसरी बेलाबेला जिब्रोको स्वाद फरक हुन्छ, त्यसैगरी मेरो अध्ययनको स्वाद पनि फरक छ । म हरेक विधा पढिरहेको हुन्छु । विशेषगरी मलाई पढ्न मन लाग्ने भनेको कविता, आख्यान, जीवनी, दर्शन आदि हुन् ।

Batas

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

केही समय यता म नेल्सन मण्डेलाको जीवनी ‘लङ वाक टु फ्रिडम’ पढिरहेको छु । दक्षिण अफ्रिकामा सदियौंदेखि चलिरहेको रंगभेद, जातीय पृथकीकरण र नस्लभेद विरुद्ध लड्दा उनले भोगेका दुर्नियती, काराबास र संघर्षको जीवनकथाले तरंगित भैरहेको छु ।

जीवनमा किताबको महत्व कत्तिको हुन्छ ?

मान्छेको सबैभन्दा नजिकको साथी भनेकै किताब हो । कहिलेकाहीँ किताब अभिभावक, पथप्रदर्शक र सल्लाहकार पनि भैदिन्छ । यसर्थ जीवनमा जीवन जत्तिकै महत्व किताबको छ । किताब ज्ञानको भण्डार मात्रै होइन, कैयौं रहस्यहरूको उद्घाटन पनि हो । यसले ज्ञानको श्रीवृद्धि त गर्छ गर्छ, अक्षरको जहाज चढेर निस्शुल्क देश विदेशको यात्रा पनि गराउँछ । विश्वका धनाढ्य एवम् चर्चित व्यक्तिहरू जस्तै बिल गेट्स, मार्क जुकरबर्ग, जेफ बेजोस, बाराक ओबामा आदि पनि आफ्नो व्यस्त समय कटौती गरेर किताबका लागि छुट्याउँछन् ।

यहाँनेर मलाई जर्ज मार्टिनको एउटा भनाइ याद आयो । उनी भन्छन् ‘A reader lives a thousand lives before he dies . The man who never reads lives only one’ अर्थात् एउटा किताब पढ्ने मान्छे (पाठक) मर्नुअघि हजारौं जीवन बाँच्छ । जो कहिल्यै पढ्दैन उसले एउटै मात्र जीवन बाँच्छ ।

तपाईंलाई मन परेको किताब ?

नाम लिनुपर्दा थुप्रै किताब छन् । लेखनाथ पौड्यालको– तरुण तपसी, भूपीको– घुम्ने मेचमाथि अन्धो मान्छे, परमहंस योगानन्दको–एन अटोबायोग्राफी अफ अ योगी, पर्ल एस बकको– द गुड अर्थ, अर्नेस्ट हेमिङ्वेको– वल्ड म्यान एन्ड द सी, हर्मन हेस्सेको– सिद्धार्थ आदि ।

उपहार दिँदा कस्ता पुस्तक छान्नुहुन्छ ?

एकदमै कम किताब उपहार दिएको छु मैले । तर दिनुपर्दा चाहिँ व्यक्तिको रुचि अनुसार छनौट गर्छु । सँधै रुचिकै पुस्तक भेटिन्छन् वा त्यसले तान्न सक्छ भन्ने पनि छैन । कहिलेकाहीँ आफूलाई एकदमै मन परेको कुनै पुस्तक अर्कोले पनि पढोस् भन्ने लाग्यो भने पनि उपहार दिन्छु ।

नेपालका उत्कृष्ट ५ लेखक कोको लाग्छन् तपाईंलाई ?

राम्रो लेख्ने सबै उत्कृष्ट लाग्छन् । कहिलेकाहीँ कस्तोसम्म भैदिन्छ भने कुनै सुन्दर कृति लेखिसकेको लेखकको अर्को कृति मन नपर्न सक्छ । त्यसैले समयानुसार लेखकको स्थान बदलिइरहन्छ । तर मलाई मनपर्ने, पढ्न मन लाग्ने लेखकहरू भनेका नारायण ढकाल, सरुभक्त, राजब, नयनराज पाण्डे, अमर न्यौपाने, रोशन शेरचन, भूपिन आदि हुन् ।

तपाईंको आयको कति खर्च किताबका लागि निम्ति गर्नुहुन्छ ?

नियमित आयको टुङ्गो नहुनाले किताबमा कति खर्च हुन्छ भन्ने ठ्याक्कै हिसाब छैन । तर पढ्न मन लागेका किताब म जसरी पनि पढ्छु । अधिकांश त म किनेरै पढ्छु । कहिलेकाहीँ कसैसँग किताब सापट मागेर पनि पढिरहेको हुन्छु ।

केटाकेटी हुँदा घरमा कस्ता पुस्तक थिए ?

म त्यो संस्कारबाट आइन, जहाँ पढ्न मन लागेका थुप्रै किताब घरमा होउन् । छाक टार्नै हम्मेहम्मे पर्ने परिवारमा जन्मेको मेरो संगत लामो समयसम्म पाठ्यपुस्तक बाहेक अरुसँग भएन । परिवारमा किताब पढ्ने कोही सदस्य पनि थिएन । मलाई सम्झना छ, वर्षमा एकपटक स्वस्थानी सुन्थें । त्यो पनि अर्कैको घर गएर । यत्ति नै । धेरै पछि कताबाट मुनामदन मेरो हातमा आइलाग्यो । त्यो मुनामदन मैले सयौं चोटि पढें हुँला । किताब नै कण्ठ थियो त्यतिबेला ।

नयाँ पुस्तालाई किताबतिर कसरी तान्ने ?

तान्ने भनेर डोरी नै लगाएर तान्न त सकिन्न । तर नयाँ पुस्तालाई उसको रुचिको विषय पढ्न सिफारिस गरेर, विभिन्न किताब सम्बन्धी कार्यक्रममा सहभागी गराएर वा उपहारमा किताब दिएर पठनतिर ल्याउन सकिन्छ । हामीले विदेशीहरूलाई देखेकै छौं, एकछिन बस कुरिरहेको समयमा पनि किताब समातेर पढिरहेका हुन्छन् । किताबले जे गर्न सक्छ, किताबबाहेक अरुले सक्दैन । यसबारे मैले माथि नै भनिसकेको छु । मलाई लाग्छ अहिले नयाँ पुस्ता धेरै नै सचेत छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.