www.tandavnews.com
Fact ~ In search of truth

एक गाग्री पानीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता

गलेश्वर ।

म्याग्दीको बेनी नगरपालिका–६ बाँस्बोटका जनता वर्षौदेखि काकाकुलको नियति भोगेर बाँच्न बाध्य भएका छन् ।

पशुचौपाया र करेसाबारीलाई मात्रै होइन, तिर्खा लागेको बेला स्थानीयवासीले धित मरुञ्जेलसम्म पानी पिउनसमेत पाउँदैनन् । जिल्ला सदरमुकाम बेनी बजारदेखि करीब एक घण्टाको दूरीमा रहेको बाँस्बोट गाउँमा पानीको स्रोत नहुँदा मोटरसाइकलबाट पानी बोकेर खान स्थानीयवासी बाध्य भएका छन् ।

Batas

बेनपा–६ का एकपाते, बाँस्बोट, पिपलबोट र खेताघर बस्तीका ४० घरधुरीले वर्षौदेखि पानीको समस्या झेल्दै आएका हुन् । बाँस्बोटका दुर्गाप्रसाद पौडेलले नियमित मोटरसाइकलमा पानी बोकेर पानीको गर्जो टार्ने गरेका छन् । दुग्ध व्यवसायीसमेत रहेका पौडेलले बिहान र बेलुका गरी दैनिक दुईपटक मोटरसाइकलमा अग्निखेत र बेनीबाट नै पानी बोकेर समस्या समाधान गर्ने गरेको बताए ।

मोटरसाइकललगायतका सवारीसाधन भएका व्यक्तिले ती साधनमार्फत पानी बोकेर गुजारा चलाउने भए पनि साधन नभएका व्यक्ति राति अबेरसम्म लाइन लागेर पानी भर्न बाध्य छन् । गाउँमा रहेको एउटा सानो धारोमा सिङ्गो बस्तीका बासिन्दा निर्भर रहनुपर्दा ठूलो समस्या भएको एकपाटेकी मनरुपा पौडेलले बताए ।

एक गाग्री पानीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताले गर्दा स्थानीय आजित भएका छन् भने कतिपय त बसाइँसराइ गरेर अन्यत्र जाने सुरसारसमेत गरिरहेका छन् ।

गाउँ आसपासमा पानीका कुनै स्रोत नभेटिएपछि बेनी नगरपालिका– ५ को चिप्लेटी र पुलाचौरमा पानीको स्रोत भएको खेत नै किनेर खानेपानीको समस्या समाधान गर्ने योजनामा रहेको बेनपा–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताए । रासस

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.